बिना विकल्प बस्ती नहटाउन भन्दै बुटवलका भूमिहीनद्वारा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रुपन्देहीको बुटवलमा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन् । बिना विकल्प बस्ती खाली गराउन खोजिएको आरोप लगाउँदै नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिको आयोजनामा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारासहित विरोध जनाएका थिए । “डोजर आतंक बन्द गर”, “नागरिकलाई विस्थापित होइन स्थापित गर”, “हाम्रो कर र मत वैध, हामी बसेको जमिन कसरी अवैध ?”, “मानव अधिकारको सम्मान गर”, “बस्ती उजाड होइन व्यवस्थापन गर” जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेर उनीहरूले सरकारको कदमको विरोध गरेका हुन् ।

प्रदर्शनकारीहरूले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरी विगतमा भूमि आयोगमार्फत गरिएको व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

संघर्ष समितिका अनुसार प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको थियो । जिल्लाका विभिन्न स्थानबाट आएका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूको जुलुस अस्पताललाइन हुँदै ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो ।

रुपन्देहीमा भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी गरी ८० हजारभन्दा बढी व्यक्तिले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए ।

विघटित आयोगका रुपन्देही अध्यक्ष कुमार थापा मगरका अनुसार जिल्लामा करिब एक लाख भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको अनुमान गरिएको छ।

सिफारिस