काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गरेका नेपाली एमएमए खेलाडी युकी आङदेम्बे लाई ब्रदर्स देयर फर वि ९बीटीएफडब्लु० ले सम्मान गरेको छ। बीटीएफडब्लुले बिहीबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा युकीलाई सम्मानपत्रसहित नगद ५० हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरेको हो।
युकीले हालै भारतमा सम्पन्न मेट्रिक्स फाइट नाइट (एमएफएन) १८ मा भारतीय खेलाडी मन्दिप प्रजापतीलाई पराजित गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका थिए। आयोजक संस्थाका अनुसार युकीको जित मात्र नभई उनको संघर्ष, अनुशासन, समर्पण तथा नेपाली युवामाझ पुर्याएको प्रेरणादायी योगदानको कदर गर्दै सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ परामर्शदाता तथा प्रोफेसर अर्थोट्रमा सर्जन डा। बुलन्द थापा, बीटीएफडब्लुका अध्यक्ष कुशल भण्डारी तथा सह–संस्थापक अनिता ठकुरी लगायतले युकीलाई सम्मान गरेका थिए।
उक्त कार्यक्रममा नेपाल एडभेन्चर रनिङ फेडेरेशनका अध्यक्ष एकेन्द्र बहादुर कुँवर, नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक तथा अल्पाइन स्पोर्ट्स फेडेरेशनका अध्यक्ष गोविन्द भट्टराई, नासा नेपाल फाइनान्स एण्ड कर्पोरेट कमिसनका सजिब भट्टराई तथा समाजसेवी मच्छिन्द्र राज शर्मा लगायतको उपस्थिति रहेको थियो।
सम्मानपछि युकीले बीटीएफडब्लुले सुरुदेखि नै आफूलाई साथ दिँदै आएको उल्लेख गर्दै सम्मानित हुन पाउँदा खुशी लागेको बताए। उनले एमएमए खेल नेपाली युवाका लागि उत्कृष्ट व्यावसायिक सम्भावना बन्दै गएको धारणा राख्दै नयाँ खेलाडीलाई आफ्नो लक्ष्य र प्यासन पछ्याउन आग्रह गरे।
कार्यक्रममा प्रमुख अतिथि डा। बुलन्द थापाले एमएमएलाई चुनौतीपूर्ण र सम्मानित खेलको रूपमा व्याख्या गर्दै युकीले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा बधाई दिए। उनले बीटीएफडब्लुले सञ्चालन गरिरहेका सामाजिक अभियानहरूको पनि प्रशंसा गरे।
हाल अष्ट्रेलियामा रहेका बीटीएफडब्लुका संस्थापक बिपिन कार्कीले भिडियो सन्देशमार्फत संस्थालाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताएका थिए। उनले मानसिक स्वास्थ्य सचेतना, राष्ट्रिय खेलाडी सहयोग तथा पशु उद्धार अभियानमा संस्थाले अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
सह-संस्थापक अनिता ठकुरीले संस्थाले युवाशक्ति सशक्तिकरण, मानसिक स्वास्थ्य सचेतना, राष्ट्रिय खेलाडीहरूको सहयोग तथा पशु उद्धार अभियानमा दीर्घकालीन रूपमा काम गर्दै आएको जानकारी दिइन्।
कार्यक्रममा युकी आङदेम्बेले एमएफएन प्रतियोगितामा भारतीय खेलाडी मन्दिप प्रजापतीलाई पहिलो राउण्डमै सबमिसनमार्फत पराजित गरेको भिडिओसमेत प्रदर्शन गरिएको थियो।