मौनतामा सत्ताः बालेन्द्र शाहको शैली कि जनताप्रति बेवास्ता?

दियोपोस्ट संवाददाता  

प्रधनमन्त्री बालेन्द्र शाह (बालेन) को मौनता पछिल्लो राजनीतिक बहसको केन्द्रबिन्दु बनेको छ । जनताले पुराना राजनीतिक अभ्यासबाट वाक्क दिक्क भएर नयाँ, जवाफदेही र पारदर्शी नेतृत्वको अपेक्षासहित उनलाई विकल्पको रूपमा रोजेका थिए । तर पद सम्हालेयता देखिएको उनको ‘कम बोल्ने’ शैलीले आम जनतामा प्रश्न उठ्न थालेको छ । के यो मौनता रणनीति हो? कमजोरी हो? या जनताप्रतिको उत्तरदायित्वबाट टाढा रहने सुविधाजनक तरिका ?

लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक पद धारण गर्ने व्यक्तिको पहिलो दायित्व नै जनतासँग संवाद गर्नु हो। निर्णय लिनु, नीति घोषणा गर्नु वा बैठक गर्नु मात्र पर्याप्त हुँदैन । ती निर्णयहरूको औचित्य, प्रभाव र लक्ष्यबारे जनतालाई स्पष्ट पार्नु पनि त्यत्तिकै जरुरी हुन्छ। तर बालेनको कार्यशैली हेर्दा, उनी काम गर्छन् तर त्यसबारे सार्वजनिक रूपमा बोल्न रुचाउँदैनन् भन्ने देखिन्छ। यस्तो शैली सुरुवाती दिनमा ‘कामले बोलोस्’ भन्ने सन्देशका रूपमा सकारात्मक देखिन सक्थ्यो, तर समय बित्दै जाँदा यही मौनता प्रश्नको विषय बनेको छ।

केही दिन अघि रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा २० जनाको ज्यान जाँदा पनि उनले सार्वजनिक रूपमा कुनै समवेदना व्यक्त नगर्नु आलोचनाको ठूलो कारण बन्यो। यस्तो दुःखद घटनामा नेतृत्वको एक शब्दले पनि पीडित परिवारलाई सान्त्वना दिन सक्छ। तर यहाँ त्यो न्यूनतम संवेदनशीलता समेत नदेखिनु गम्भीर विषय हो। के यो घटनालाई सामान्य ठानेर बेवास्ता गरिएको हो, वा नेतृत्वको संवेदनशीलता नै कमजोर भएको संकेत हो?

यस्तै, सुकुमबासी व्यवस्थापनको नाममा भइरहेको डोजर अभियानले पनि ठूलो विवाद निम्त्याएको छ। वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु केवल प्रशासनिक निर्णय मात्र होइन, मानवीय संकट सिर्जना गर्ने कार्य हो। स्कुल भत्किँदा बालबालिका शिक्षाबाट वञ्चित भएका छन्, बिरामी र वृद्धहरू असुरक्षित अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा नेतृत्वले केवल ‘नीति लागू भयो’ भनेर चुप लाग्नु पर्याप्त हुँदैन। यहाँ स्पष्ट जवाफ, संवेदनशीलता र समाधानको खाका आवश्यक हुन्छ।

बालेनमाथि लाग्ने मुख्य आरोप नै यही हो-उनी निर्णय गर्छन्, तर त्यसको सामाजिक असरबारे संवाद गर्दैनन्। उनले आफ्नो विचार सार्वजनिक रूपमा राखेका छैनन्, राष्ट्रका नाममा औपचारिक सम्बोधन समेत गरेका छैनन्, र आलोचनाको जवाफ दिन पनि खासै अग्रसर देखिएका छैनन्। यसले जनतामा अन्योल मात्र होइन, अविश्वास पनि बढाउन सक्छ।

यद्यपि, बालेनका समर्थकहरू भन्छन्- उनी ‘कम बोल्ने, बढी काम गर्ने’ नेता हुन्। उनीहरूका अनुसार, परम्परागत नेताहरूले धेरै बोले तर काम कम गरे, त्यसैले बालेनको शैली फरक हुनु स्वाभाविक हो। तर यहाँ प्रश्न उठ्छ-के मौनता नै समाधान ह? के जनताको प्रश्नबाट टाढा रहँदा नेतृत्व अझ बलियो हुन्छ?

लोकतन्त्रमा मौनता पनि एक प्रकारको सन्देश हो। जब नेतृत्व बोल्दैन, तब जनताले आफ्नै व्याख्या बनाउन थाल्छन्- र ती व्याख्या प्रायः नकारात्मक हुन्छन्। पारदर्शिता र संवादको अभावले अफवाह, असन्तुष्टि र अविश्वासलाई जन्म दिन्छ।

बालेनले अब बुझ्नुपर्ने कुरा के हो भने, नेतृत्व केवल निर्णय गर्ने क्षमताले मात्र मापन हुँदैन । त्यो निर्णयलाई जनतासमक्ष कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ। मौनता कहिलेकाहीँ शक्तिशाली हुन सक्छ, तर निरन्तर मौनता कमजोरी बन्ने जोखिम पनि उत्तिकै हुन्छ।

अन्ततः, बालेनको मौनताको भित्री रहस्य जे भए पनि, त्यसले अहिले जनतामा असन्तुष्टि बढाइरहेको छ। यदि उनले आफ्नो शैलीमा परिवर्तन नगरे, ‘वैकल्पिक नेतृत्व’ भन्ने आशामाथि नै प्रश्नचिन्ह खडा हुन सक्छ। अब समय आएको छ-मौनता तोड्ने, जनतासँग खुला संवाद गर्ने, र नेतृत्वको वास्तविक अर्थ देखाउने।

सिफारिस