फेसबुकमार्फत प्रधानमन्त्रीको संवोधनः भूमिहीनका बारेमा फैलाइएका भ्रमपूर्ण हल्लाबाट सचेत रहौँ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई विस्थापित गरिने भन्ने हल्ला फैलाउने प्रयासप्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्ता भ्रामक सूचना र त्रास फैलाउने गतिविधिबाट सचेत रहन सबैलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शाहले सरकार भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी पारदर्शी, व्यवस्थित र दीगो समाधानतर्फ अघि बढिरहेको स्पष्ट पारे। जोखिमयुक्त र असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए।

उनका अनुसार अन्य भूमिहीन नागरिकहरूको व्यवस्थापन सम्बन्धित आयोगको सिफारिस र संकलित तथ्यांकका आधारमा गरिनेछ। काठमाडौँ उपत्यकाभित्र नदीकिनार तथा सरकारी जग्गामा भएका अतिक्रमण हटाउने कार्य कानुनअनुसार अघि बढाइएको र यसबारे आएका विभिन्न प्रतिक्रिया प्रति सरकार सजग रहेको पनि उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहले भूमिसम्बन्धी ऐन, २०२१ का केही प्रावधानहरूलाई वर्तमान आवश्यकता अनुसार अध्यादेशमार्फत संशोधन गरिएको र त्यसपछि वास्तविक भूमिहीनहरूको डिजिटल अभिलेख संकलन तथा प्रमाणीकरण सुरु गरिएको बताए।

उनले सरकारका सबै कदम नागरिकलाई विस्थापित गर्ने नभई उनीहरूको आवास अधिकार सुनिश्चित गर्दै दीर्घकालीन समाधान खोज्ने उद्देश्यले चालिएको स्पष्ट पारे। साथै, अपुष्ट सूचना नफैलाउन र भ्रममा नपर्न नागरिकहरूलाई अनुरोध गर्दै प्रत्येक भूमिहीन नागरिकका लागि सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याए।

सिफारिस