काठमाडौँ । आज मे १, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । दिवसको अवसरमा विश्वभर बिभिन्न कार्यक्रम गरि मनाइँदै छ । तर नेपालमा भने नेपालमा श्रमिकहरूले न्यूनतम पारिश्रमिक नपाएको गुनासो बढेको छ ।
बिभिन्न अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुले न्यूनतम पारिश्रमिक नपाएको भन्दै श्रम तथा रोजगार कार्यालय टेकुमा उजुरी गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा मात्रै मजदुरका ४५० वटा उजुरी दर्ता भएको रोजगार कार्यालय टेकुले जनाएको छ ।
सम्बन्धित कार्यालयका अनुसार दर्ता भएका उजुरीमध्ये आधाभन्दा बढी फस्र्योट भइसकेका छन्। कार्यालय प्रमुख उदयकुमार गुप्ताका अनुसार अधिकांश उजुरी औपचारिक क्षेत्रमा काम गर्ने प्रतिष्ठानविरुद्धका छन् भने अनौपचारिक क्षेत्रबाट आउने उजुरीको संख्या निकै कम छ।
नौ महिनाको अवधिमा उजुरीको सुनुवाइ गर्दै करिब पाँच करोड रुपैयाँ बराबरको रकम श्रमिकलाई दिलाउन सफल भएको प्रमुख गुप्ताले जानकारी दिए। उक्त रकम श्रमिक र रोजगारदाताबीच छलफल गराई सहमतिमार्फत वा सहमति हुन नसकेका अवस्थामा कार्यालयले न्यायोचित निर्णय गरेर उपलब्ध गराइएको उनले बताए ।
पछिल्लो समय श्रमिकहरूले रोजगारदातासँग भएको सम्झौताअनुसार पारिश्रमिक नपाएको, साप्ताहिक बिदा नदिएको तथा सामाजिक सुरक्षा कोषमा आबद्ध नगरिएको भन्दै उजुरी गर्ने क्रम बढ्दै गएको छ। श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका देशभरका श्रम तथा रोजगार कार्यालयहरूमा यस्ता उजुरी उल्लेख्य रूपमा बढेका छन्।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्म देशभर रहेका ११ वटा श्रम तथा रोजगार कार्यालयमा जम्मा ७५२ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै काठमाडौँको टेकुस्थित श्रम कार्यालयमा ४५० वटा उजुरी परेका छन्। अघिल्ला वर्षहरूमा भने आर्थिक वर्ष २०८१/८२ मा ७७३, २०८०/८१ मा ६६८ र २०७९/८० मा ६४७ वटा उजुरी दर्ता भएका थिए।
विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार पछिल्ला वर्षहरूमा विशेषगरी न्यूनतम पारिश्रमिक, साप्ताहिक बिदा र सामाजिक सुरक्षासम्बन्धी उजुरीहरू बढी पर्ने गरेका छन्। यद्यपि, बिनाकारण कामबाट निकाल्ने, विभेद गर्ने तथा जथाभावी सरुवा गर्ने जस्ता उजुरीहरू पनि आउने गरेका छन्।
सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ तोकेको छ। साथै, श्रम ऐन २०७४ अनुसार श्रमिकले साप्ताहिक बिदा र सामाजिक सुरक्षा पाउने व्यवस्था अनिवार्य गरिएको छ।