आफ्नै घरमा डोजर चलेपछि थापाथली सुकुमबासी बस्तीकी एक महिला बेहोस

दियोपोस्ट संवाददाता  

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासीहरूको बस्ती डोजर प्रयोग गरी भत्काउने क्रममा एक महिला बेहास भएकी छन्। आफ्नै घर भत्किएको दृश्य देख्न नसकेर रेखा कुँवर अचानक बेहास भएर ढलेकी हुन्।

उनलाई तत्कालै नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको बताइएको छ। डोजरले बस्ती भत्काउन सुरु गरेपछि स्थानीय बासिन्दाहरूमा तनाव सिर्जना भएको थियो।

स्थानीयहरूले वर्षौंदेखि बसोबास गर्दै आएको बस्ती एक्कासी हटाउन खोजिएको भन्दै विरोध जनाएका छन्। उनीहरूका अनुसार वैकल्पिक बसोबासको व्यवस्था नगरी बस्ती हटाउनु अन्यायपूर्ण भएको गुनासो गरेका छन्। ‘हामीलाई पहिले नै जानकारी, संवाद र विकल्प दिनुपर्ने थियो,’ एक स्थानीयले भने।

यसैबीच, सम्बन्धित निकायले भने नदी किनारमा अवैध रूपमा बनेका संरचना हटाउने अभियान अन्तर्गत बस्ती भत्काइएको जनाएको छ। यता सरकारले भने नदी किनारलाई अतिक्रमणमुक्त बनाउन यस्तो कदम चालिएको बताउँदै आएको छ।

घटनापछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीय र प्रशासनबीच संवादको आवश्यकता बढ्दै गएको देखिन्छ।

मानव अधिकारकर्मीहरूले भने सुकुमबासीको पुनर्स्थापना र उचित व्यवस्थापनबिना बस्ती हटाउने कार्यले मानवीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।