मोबाइल चार्जर, कण्डमदेखि मेन्सुरेशनल कपसम्म: के हाम्रा नाति-पनातिले हामीलाई यस्तै ‘टेक्नोफोसिल’बाट चिन्नेछन्?

- केइटी केलेहेर  

एजेन्सी– दुई डलरभन्दा कममा तपाईँ संसारको सबैभन्दा धेरै बिक्ने कलमको १० थान प्याकेट किन्न सक्नुहुन्छ। सन् १९५० को दशकमा सुरु भएदेखि अहिलेसम्म लगभग १५० अर्ब ‘बिक क्रिस्टल’ कलमहरू बनाइएका छन्। यो कलम धेरै साधारण वस्तु हो जुन विश्वभरका धेरैजसो विद्यालय र कार्यस्थलहरूमा पाइन्छ। तर यसले एउटा सानो रहस्य लुकाएको छ। यसको टुप्पो भित्र टंगस्टन कार्बाइडबाट बनेको एक मिलिमिटर व्यासको पूर्ण गोलाकार वस्तु हुन्छ। यही सानो बलले कलमलाई यसको नाम दिन्छ र कागजको पानामा सहज रूपमा कोर्न अनुमति दिन्छ।

टंगस्टन कार्बाइड यौगिक प्रकृतिमा पाइँदैन। यो हीरा जत्तिकै कडा हुनको लागि इन्जिनियरिङ गरिएको हो र सम्भवतः उत्तिकै लामो समयसम्म टिक्छ। घर्षण, तातो, प्रभाव र खियाको उच्च प्रतिरोध गर्ने टंगस्टन कार्बाइड कलममा मात्र पाइँदैन। ट्रेकिङ पोल, गितार बजाउने स्लाइड, हतियार छेड्ने गोला र माछा मार्ने तौलहरूमा पनि यसको प्रयोग गरिन्छ। अबको लाखौँ वर्षपछि पनि यी वस्तुका टुक्राहरू पृथ्वीको गहिराइमा रहनेछन्। तिनीहरू कहिल्यै नष्ट हुने छैनन् र यस ग्रहमा मानवताको उपस्थितिलाई चिन्ह लगाउन भौगोलिक समय छापको रूपमा काम गर्नेछन्।

एउटा बलपोइन्ट कलम एउटा ‘टेक्नोफोसिल’ (प्रविधि अवशेष) हो। यो मोबाइल फोन, यसको चार्जर, छालाको जुत्ता र प्लास्टिक मिसिएको चियाको थैली जस्तै हो। जीवाश्मविद् सारा ग्याबोटका अनुसार टेक्नोफोसिल मानिसले बनाएका सबै नयाँ सामग्रीहरू सहितका कुनै पनि वस्तु हुन्। युनिभर्सिटी अफ लेस्टरका सहकर्मीहरू ग्याबोट र भूगर्भविद् जान जालासिएभिचले उनीहरूको भर्खरैको पुस्तक ‘डिस्कार्ड: हाउ टेक्नोफोसिल्स विल बी आवर अल्टिमेट लिगेसी’ मा टेक्नोफोसिल र पृथ्वीमा तिनीहरूको प्रभावबारे जाँच गर्छन्। टेक्नोफोसिलहरू परीक्षण स्थलबाट हावाले उडाएर ल्याएको एउटा रेडियोधर्मी कण जत्तिकै साना हुन सक्छन्। अथवा दशकौँको जलवायु परिवर्तनपछि समुद्रमा डुबेको एउटा पूरै सहर जत्तिकै ठूला हुन सक्छन्। टेक्नोफोसिललाई परिभाषित गर्ने कुरा तिनको मानवीय तत्व हो। तिनीहरू हाम्रो प्रजातिका लागि अनुपम छन् र हाम्रो वर्तमान समयका लागि निकै विशिष्ट छन्।

हाम्रो मानव निर्मित वस्तुहरूको अभूतपूर्व युगमा ग्याबोट र जालासिएभिच एउटा उत्तेजक प्रश्न सोध्छन् कि यी सबै कहाँ जानेछन्? जालासिएभिच भन्छन् कि यस पुस्तकको मुख्य भागमा हामीले बनाइरहेको संसारको वर्णन, यो कति लामो समयसम्म टिक्नेछ र कति समयसम्म खतरनाक हुनेछ भन्ने कुरा उल्लेख छ।

‘डिस्कार्ड’ पुस्तक आंशिक रूपमा जीवाश्म अध्ययन र आंशिक रूपमा चेतावनीको सन्देश हो। पछिल्लो ७० वर्षमा मानवताले यति धेरै वस्तुहरू उत्पादन गरेको छ कि हाम्रो मानव निर्मित उत्पादनले अहिले जीवित संसारको वजनलाई उछिनेको छ। केही मापदण्डहरूका अनुसार यो विविधताको हिसाबले पनि धेरै अगाडि छ। यद्यपि हाम्रा केही वस्तुहरू जस्तै प्राकृतिक फाइबरका कपडाहरू भविष्यमा लाखौँ वर्षसम्म जीवित रहने सम्भावना धेरै कम छ। तर हामीले किनेका धेरै चीजहरू नष्ट हुने छैनन् र तिनीहरू भविष्यको जीवाश्म अभिलेखमा प्रवेश गर्नेछन्।

हाम्रा घरहरू शताब्दीयौंसम्म खडा रहन सक्छन् र हाम्रा मेट्रो सुरुङका अवशेषहरू हजार वर्षसम्म टिक्न सक्छन्। प्लास्टिकका खानेकुरा लैजाने भाँडाहरू (कन्टेनर) ब्याक्टेरियाले खाएर स्वस्थ माटोमा परिणत हुने छैनन्। हाम्रा रासायनिक रूपमा जटिल विद्युतीय फोहोरका थुप्राहरूले सिसा र आर्सेनिक फाल्दै विश्वभर घुमिरहनेछन्। नटाँसिने (नन-स्टिक) प्यानहरूले लाखौँ वर्षसम्म जीवित प्राणीहरूलाई विषालु बनाइरहन सक्छन्। ती वस्तुहरू किन्ने र बनाउनेहरू बितेको लाखौँ वर्षपछि पनि जीवाश्म अभिलेखको गहिराइमा गाडिएका हाम्रा आम उपभोगका शताब्दीका अवशेषहरू यिनै हुनेछन्। जालासिएभिच भन्छन्, “यो एक धेरै गम्भीर महसुस हो।”

मानवताको सबैभन्दा टिकाउ सिर्जना

भौगोलिक समयको हिसाबले प्लास्टिक एकदमै नयाँ कुरा हो। सन् १९५० को दशकदेखि मानिसहरूले करिब नौ अर्ब टनसम्म यसको उत्पादन गरिसकेका छन् र यो कसरी नष्ट हुन्छ भन्ने हामीलाई थाहा छैन। तर हामी पूर्ण रूपमा अन्धकारमा भने छैनौँ। ग्याबोट भन्छिन्, “प्लास्टिक एउटा अर्को जैविक पदार्थ मात्र हो, तर यो मानव निर्मित जैविक पदार्थ हो।” जीवित वस्तुका अवशेषहरू (कुहिएका प्रागैतिहासिक जीवहरू) बाट बनेको प्लास्टिक पनि पृथ्वीका अन्य जीवन जस्तै मुख्य रूपमा कार्बनबाट बनेको हुन्छ।

आधुनिक प्लास्टिक कसरी क्षय हुन सक्छ भनेर पत्ता लगाउन ग्याबोट र जालासिएभिचले यसको पुरानो रासायनिक नातेदार ‘केरोजन’ लाई हेरे। केरोजन पत्रे चट्टानहरूमा पाइने एक जटिल जैविक अणु हो ,जुन सम्भवतः जैविक पदार्थको दबाबबाट बनेको हो। यो ठ्याक्कै केही आधुनिक प्लास्टिक जस्तै देखिन्छ। केही केरोजनको उमेर अनुमानित ५ करोड वर्ष छ। यसको अर्थ सही परिस्थितिमा (जस्तै: समुद्रको फेदमा) मानव निर्मित प्लास्टिक पनि कम्तिमा त्यति नै समयसम्म टिक्न सक्छ।

समुद्रको गहिरो सतह झोला, ब्वाय (पानीमा तैरने सङ्केत) र बोतल जस्ता प्लास्टिकले भरिएको छ। यसमध्ये धेरैजसो फुटेर ‘माइक्रोप्लास्टिक’का कणहरूमा परिणत भएका छन्। यी कणहरू विभिन्न अप्रत्याशित स्रोतहरूबाट आउँछन्। उदाहरणका लागि, समुद्रमा हुने आधाभन्दा बढी माइक्रोप्लास्टिक ‘लेटेक्स पेन्ट’का टुक्राहरूले बनेका हुन्छन्। यी मध्ये केही प्लास्टिक पानीको सतहमा रहेर फोहोरको ठूलो टापु बन्छन् भने धेरैजसो समुद्रको गहिराइमा पुग्छन् जहाँ तिनीहरू हाम्रो ग्रहलाई घेर्ने विशाल प्लास्टिकको तहको हिस्सा बन्छन्।

समुद्रको फेदमा प्लास्टिकहरू ‘प्लास्टिग्लोमेरेट’मा परिणत हुन्छन्। यो प्लास्टिकसँग साना ढुङ्गा र बालुवा मिसिएर बनेको नयाँ प्रकारको चट्टान हो वा यो थिचिएर गेग्रानको कालो र अपारदर्शी तह बन्छ।

सबै प्लास्टिकहरू समयसँगै परिवर्तन हुने छैनन्। केही भविष्यका जीवाश्मविद्हरूले फेला पार्ने गरी आफ्नो वर्तमान आकारमै जीवित रहन सक्छन्। धेरैजसो फोहोर विसर्जन गर्ने ठाउँ (ल्यान्डफिल) को खाँदिएको र सुख्खा अवस्थाले गर्दा त्यहाँका धेरै वस्तुहरू नष्ट हुँदैनन्। निर्माण कार्यका भग्नावशेष, फुटेका सिसाका बोतल, उपचार गरिएका टिकाउ कागजका थुप्राहरू र एक पटक मात्र प्रयोग हुने प्लास्टिकको बीचमा थिचिएका खानाका फोहोर र घाँसका टुक्राहरू पनि सामान्य अवस्थामा भन्दा धेरै ढिलो कुहिन्छन्।

विश्वभरका ल्यान्डफिलहरूमा हाम्रा फ्याँकिएका लुगाहरू जीवाश्म अभिलेखमा अमर रहने सम्भावना छ। जालासिएभिच भन्छन्, “हामी अहिले एक वर्षमा १०० अर्ब थान लुगा बनाउँछौँ, जुन अचम्मलाग्दो छ। ती मध्ये ६० प्रतिशत प्लास्टिक हुन् र तिनीहरू बाँचिरहनेछन्।”

कङ्क्रिटको लामो आयु

प्लास्टिकको तह बनाउनुको साथै मानिसहरूले अर्को भौगोलिक घटनाको विकास गरेका छन्। यो पृथ्वीलाई दुई मिलिमिटर बाक्लो खोलले घेर्न सक्ने गरी ठूलो छ र त्यो हो- कङ्क्रिट। हाम्रा फुटपाथ र पार्किङ स्थलहरू बनाउन तथा घरहरू निर्माण गर्न प्रयोग गरिने सिमेन्ट र बालुवाको मिश्रण प्लास्टिक जत्तिकै टिकाउ साबित हुन सक्छ।

जालासिएभिचका अनुसार कङ्क्रिट ‘आधुनिकताको शास्त्रीय चट्टान’ हो। यसका प्राकृतिक खनिज नातेदारहरू जस्तै कङ्क्रिट पनि निष्क्रिय हुन्छ। यो टुक्रिँदा पनि यसले वरपरको वातावरणलाई रासायनिक रूपमा परिवर्तन गर्दैन। विषाक्तताको कुरा गर्दा जालासिएभिचले कङ्क्रिटलाई प्लास्टिक, विषालु पदार्थ र रेडियोधर्मी वस्तुहरू भन्दा ‘सानो समस्या’ मान्छन्। (उनले यो पनि उल्लेख गर्छन् कि कङ्क्रिट बनाउन धेरै ऊर्जा चाहिन्छ, त्यसैले वातावरणीय जोखिम यसको निर्माणमा बढी हुन्छ, विनाशमा होइन।)

प्रयोग गरेको कङ्क्रिटको विशाल परिमाणले गर्दा यसको केही अंश बाँकी रहने कुरा निश्चित छ। फुटपाथदेखि गगनचुम्बी भवनसम्म, धेरैजसो सहरका मुख्य सामग्री कङ्क्रिट नै हुन्। प्रयोगविहीन भएको केही दशकभित्रै भवनहरू भत्किन थाल्नेछन्, तर तिनका साना गिर्खा (रोडा) हरू पनि कतै न कतै त जानैपर्छ। केही गिर्खाहरू खोलाको बहाबसँगै बिस्तारै समुद्रसम्म पुग्नेछन्। केही सम्भवतः एकै ठाउँमा थिग्रिएर भौगोलिक रूपमा विशिष्ट र बाक्लो तह बन्नेछन्। त्यहाँ तिनीहरू लाखौँ वर्षसम्म भारी खरानी रङ्गको बालुवाको थुप्रोका रूपमा रहिरहनेछन्।

सबै सहरहरूको भाग्य यस्तै हुने छैन। जालासिएभिचका अनुसार हाम्रा केही सांस्कृतिक केन्द्रहरू ‘भविष्यका महा-जीवाश्म’ (मेगा फोसिल) बन्ने जोखिममा छन्। उनी भन्छन्, “न्यु अर्लिन्स र एम्स्टर्डम जस्ता ठाउँहरू निरन्तर डुबिरहनेछन्।” ग्याबोट थप्छिन्, “डेल्टामा रहेका सहरहरू पहिले नै तल भासिइरहेका छन्। त्यहाँ धेरै गेग्रानहरू थिग्रिने हुनाले ती सहरहरू टुक्रा-टुक्रा भएर नष्ट हुनुको सट्टा जीवाश्म बन्ने राम्रो सम्भावना छ।”

अबको हजार वर्षपछि कुनै दिन न्यु अर्लिन्स सहर केवल सडक र भवनहरूको अस्तव्यस्त थुप्रोको रूपमा मात्र अस्तित्वमा हुन सक्छ। यो खाँदिएको पाँगो माटोको तहमुनि गहिरो गरी गाडिएर पुरातत्वविद्हरूले फेला पार्ने पर्खाइमा रहनेछ।

विद्युतीय फोहोरको विरासत

भविष्यका जीवाश्मविद्हरूका लागि शुद्ध सिलिकनको अचानक विष्फोट एउटा सम्भावित अलमलको विषय हुन सक्छ। यद्यपि यो तत्वले पृथ्वीको माथिल्लो तहको २७ प्रतिशत हिस्सा ओगट्छ, तर सिलिकन आफैँमा पाउनु एकदमै दुर्लभ छ। यो सामान्यतया अक्सिजनसँग मिलेर सिलिकेट खनिजहरू जस्तै क्वार्ट्ज, फेल्डस्पार वा ग्रेनाइटको रूपमा रहेको हुन्छ। तर २० औँ शताब्दीको मध्यतिर धातुविद्हरूले उच्च गुणस्तरको मसिनो गरी पिँधिएको क्वार्ट्ज बालुवाबाट सिलिकन निकाल्ने तरिका फेला पारे, जसले हाम्रो डिजिटल युगको बाटो खोल्यो।

सिलिकन चिप्सहरू साना तर शक्तिशाली हुन्छन्। तिनीहरूले स्मार्टफोन, ल्यापटप, डाटा सेन्टर, स्वचालित कार, उपग्रह र अन्तरिक्ष यानहरू सञ्चालन गर्छन्। अन्य मानव निर्मित सामग्रीहरूको तुलनामा यिनको प्रभाव निकै सानो हुनेछ। प्रत्येक वर्ष करिब ३०,००० टन सिलिकन मात्र उत्खनन गरिन्छ, जुन उत्पादन हुने ४.२ अर्ब टन कङ्क्रिटको तुलनामा धेरै कम हो। तर सिलिकन चिप्सहरू विश्वभर अर्बौँ मानिसहरूले प्रयोग गर्ने हुनाले यी पृथ्वीको सतहमा व्यापक रूपमा छरिएका छन्। धातु र प्लास्टिकभित्र सुरक्षित गरिएका सिलिकनका पाताहरू टाढाको भविष्यसम्म जीवित रहने सम्भावना छ।

तिनीहरूको सिलिकन मुटु बिना पनि कम्प्युटिङ उपकरणहरू भविष्यका जीवाश्मविद्हरूले अद्वितीय वस्तुको रूपमा चिन्न सक्नेछन्। तिनीहरू हाम्रो ‘विद्युतीय फोहोर’ (ई-वेस्ट) को विरासतको हिस्सा हुनेछन्; जुन फोहोरको द्रुत रूपमा बढ्दै गएको श्रेणी हो। सन् २०२२ मा मानवताले ६ करोड २० लाख टनभन्दा बढी विद्युतीय फोहोर उत्पादन गर्‍यो। यी वस्तुहरू सिसा, कोबाल्टदेखि सुनसम्मका बहुमूल्य र विषालु दुवै सामग्रीले भरिएका हुन्छन्। केही विद्युतीय फोहोर पुन: प्रयोग गर्न सकिने भए पनि यसको करिब ८० प्रतिशत हिस्सा ल्यान्डफिलमा पुग्छ जहाँ यो सम्भवतः हजारौँ वर्षसम्म रहिरहनेछ।

हजारौँ वर्षपछिको भविष्यमा हाम्रा विद्युतीय फोहोरहरूलाई कसरी व्याख्या गरिएला भनेर सोच्दा, ग्याबोट र जालासिएभिच एउटा यस्तो उपकरणमा पुगे जुन जीवाश्म अभिलेखमा बारम्बार देखा पर्नेछ: किबोर्ड (किपाटी)। उनीहरूले कल्पना गरे कि हाम्रा टाढाका उत्तराधिकारीहरूले उस्तै आकारका, नियमित बनावट भएका र चिन्हहरू छापिएका सयौँ वस्तुहरू जमिनमुनिबाट निकाल्नेछन्। यदि ती जीवाश्मविद्हरूले हामीले जस्तै काम गरे भने, उनीहरूले सुरुमा ती जीवाश्महरूमा ढाँचाहरू खोज्नेछन् र एउटा वस्तुको उप-प्रजाति कसरी आफ्नो पूर्वजबाट विकसित भयो भनेर पत्ता लगाउने प्रयास गर्नेछन्।

ग्याबोट भन्छिन्, “यदि तपाईंले केही स्मार्टफोनहरू मात्रै अलग रूपमा भेटाउनुभयो भने, ती के हुन् भनेर भन्न लगभग असम्भव हुनेछ। तर यदि तपाईंले पहिले टाइपराइटर भेटाउनुभयो भने, तपाईंले त्यसमा भएका बटनहरू (किज) र ढाँचाहरू देख्नुहुनेछ। ल्यापटप पनि त्यस्तै हुनेछ तर त्यसको आधा भाग एउटा ठूलो स्क्रिनले ओगटेको हुनेछ।” त्यहाँबाट, स्मार्टफोन प्रविधिको थप विकास र विचारको परिष्कृत रूप थियो भनेर अनुमान लगाउन असम्भव हुनेछैन।

जालासिएभिच थप्छन्, “अवश्य पनि, ती सबैको व्याख्या हाम्रा सन्तानहरूले आफ्नै प्रविधि विकास गरे कि गरेनन् भन्ने कुरामा भर पर्नेछ।”

कहिल्यै नष्ट नहुने रसायनहरूको निरन्तरता

हाम्रा सबै टेक्नोफोसिलहरू (प्रविधि अवशेष) सजिलै बुझ्न सकिने खालका हुने छैनन्। हाम्रा केही खतरनाक आविष्कारहरू नाङ्गो आँखाले देख्न सकिँदैन। औद्योगिक प्रयोगका लागि ३,५०,००० भन्दा बढी रसायनहरू दर्ता गरिएका छन्, जसमध्ये धेरै अहिले माटोमा बसिरहेका छन् वा जमिनमुनिको पानीमा मिसिरहेका छन्। कतिपय रसायनहरू निकै विषालु छन्। कीटनाशकहरू सजिलै गेग्रानका साना कणहरूसँग जोडिन्छन्, जुन पछि वायुमण्डलमा पुग्छन्। वर्षाले यी रसायनहरूलाई पृथ्वीमा ल्याउँछ र सफा देखिने जलाशयहरूलाई प्रदूषित बनाउँछ। विश्वभरका तालहरूको पिँध अहिले यी टेक्नोफोसिलका तहहरूले बिग्रिएका छन्। यदि माटोका तहहरू चलाइयो भने, ती फेरि पानीमा मिसिन सक्छन् र खाद्य चक्रमा फर्कन सक्छन्। अबको लाखौँ वर्षपछि पनि यी ‘सधैँ रहने’ (फरएभर) रसायनहरू पुन: प्रकट भएर भविष्यका प्राणीहरूलाई विषालु बनाउन सक्छन्।

PFAS (पर- एन्ड पोलिफ्लोरोअल्काइल पदार्थ) अहिलेको र भविष्यको दुवै समस्या हो, किनभने यी मानव निर्मित रसायनहरू निकै स्थिर हुन्छन् र अत्यधिक तापक्रममा मात्र नष्ट हुन्छन्। टेफ्लोन, जुन सामान्यतया नटाँसिने (नन-स्टिक) प्यानहरूमा प्रयोग गरिन्छ, सम्भवतः PFAS को सबैभन्दा प्रसिद्ध प्रकार हो। यो सामग्री रासायनिक रूपमा यति मजबुत छ कि यसले आफूलाई अड्याउने धातुलाई पनि उछिनेर अनिश्चित कालसम्म पातलो, लचिलो र गोलो फिल्मको तहको रूपमा अस्तित्वमा रहन सक्छ। यो कुहिने वा नष्ट हुने छैन, यद्यपि यसले आफ्नो स-साना टुक्राहरू वरपरको वातावरणमा लगभग असीमित रूपमा छोड्न सक्छ।

जालासिएभिच भन्छन्, “म पहिले सोच्ने गर्थेँ कि यी स्थिर जैविक प्रदूषकहरू केही सय वा हजार वर्षसम्म जमिनमा रहनेछन् र त्यसपछि नष्ट हुनेछन्। तर स्पष्ट रूपमा त्यस्तो हुँदैन।” बरु, तिनीहरू माटो, पानी र हाम्रा बोसोका तहहरूमा जम्मा भइरहेका छन्।

उनी भन्छन्, “यो निकै गम्भीर कुरा हो, तपाईंलाई थाहा छ, यो चिन्ताजनक छ।”

वस्तुहरूको यो निरन्तरता अकाट्य छ। यो जानाजानी गरिएको थियो— सुरुमा हामीले वस्तुहरूलाई लामो समयसम्म टिक्ने गरी बनायौँ ताकि तिनलाई छिट्टै फेर्नु नपरोस्। हामीले हाम्रा सामानहरूलाई बलियो बनायौँ ताकि हामी तिनलाई लामो समयसम्म जोगाएर राख्न सकौँ। ‘डिस्कार्ड’ पुस्तकको मुख्य तर्क सायद यही हो: ‘सामान फ्याँक्न मिल्छ’ भन्ने कुरा एउटा भ्रम मात्र हो। हाम्रो जीवनबाट बाहिरिने प्रत्येक वस्तु एउटा यात्रामा निस्कन्छ। यी चीजहरू सजिलै हराउँदैनन्। तिनीहरूले यस ग्रहमा मेट्न नसकिने छाप छोडिसकेका छन्, तर अब के हुन्छ भन्ने कुरा अझै निश्चित छैन।

जालासिएभिच भन्छन्, “म आफ्नो बाल्यकालका दूधका बोतलहरू सम्झन्छु।” उनले सम्झन्छन् कि कसरी प्रत्येक हप्ता उनको ढोकाबाट खाली बोतलहरू संकलन गरिन्थ्यो र फेरि प्रयोग गरिन्थ्यो। ती बोतलहरू फ्याँकिँदैनथे; जबसम्म ती सग्ला हुन्थे, तबसम्म तिनको उपयोग हुन्थ्यो। उनी भन्छन्, “हामीले त्यो संसार गुमाएका छौँ।” हाम्रा उपभोगका शैलीहरू प्राचीन वा अपरिवर्तनीय छैनन्। जे कुरा एक पटक परिवर्तन भयो, त्यो फेरि परिवर्तन हुन सक्छ।

– यो लेख नेशनल जियोग्राफीबाट राजु झल्लु प्रसादले नेपालीमा अनुवाद गरेका हुन्।

सिफारिस