इतिहासको ओझेलमा महिला र बालबालिका: शिकार जत्तिकै महत्त्वपूर्ण छ ‘खाद्य प्रशोधन’को इतिहास

- करेन एल. क्रेमर  

इतिहासको हरेक कालखण्डमा महिला र बालबालिकाले दैनिक रूपमा खाना प्रशोधन गर्ने काम गर्दै आएका छन्। मानिस बाँच्ने र विकसित हुने कथामा यो कामको भूमिका निकै महत्त्वपूर्ण छ।

एजेन्सी। दक्षिण-मध्य भेनेजुएलाको ‘यानोस’ (घाँसे मैदान) मा अहिले बर्खायाम छ। अग्लो जमिनका साना ढिस्काहरू बाहेक, साभानाहरू केही इन्चदेखि केही फिटसम्म पानीमुनि डुबेका छन्। जंगली जनावरहरू यस क्षेत्रबाट बसाइँ सरेका छन्, र माछाहरू छरिएका छन् र भेट्टाउन गाह्रो छ। तर जमिनमुनिका कन्दमूलहरू मोटा र रसिला छन्।

म र मेरो श्रीमान् विगत केही महिनादेखि दक्षिण अमेरिकी शिकारी-सङ्कलनकर्ता  ‘पुमे’  जातिसँग बसिरहेका छौँ। भोको बिहानमा, हामी महिला र बालबालिकाहरूको एक समूहसँगै एक पछि अर्को गर्दै ताँती लागेर हिँड्छौँ, जहाँ उनीहरूलाई थाहा छ कि भिजेको, उथले बालुवाबाट कन्दमूल खनेर निकाल्न सजिलो छ। ५ वर्ष मुनिका साना बालिकाहरूको पनि आफ्नै सानो टोकरी हुन्छ, जसमा उनीहरूले औँला आकारका कन्दमूलहरू भर्छन्, जुन वर्षको यस समयमा खानाको मुख्य स्रोत हो।

शिविरमा फर्किँदा, त्यस दिन शिकार र माछा मार्न गएका पुरुषहरूको भाग्यले साथ दिएको थिएन। महिला र बालबालिकाहरूले काम बाँडफाँड गर्छन्, जस्तै: जराहरू ताछ्ने, काट्ने र तिनीहरूको तितोपन हटाउन भिजाउने। पछि, कोइलामा पोलेर नरम बनाएपछि, मानिसहरूले अर्को दिनको भोक मेटाउन चुल्हो-चुल्होमा खाना बाँडेर खान्छन्।

म एक मानवशास्त्री हुँ, जसले विगत ३० वर्षदेखि शिकारी-सङ्कलनकर्ता र निर्वाहमुखी खेतीपाती गर्ने समाजहरूमा महिला र बालबालिकाहरूले कसरी आफ्नो समय बिताउँछन् भन्ने अध्ययन गरेकी छु। दशकौँदेखि, मलाई यो कुराले अचम्ममा पारेको छ कि किन मासुले मात्र मानव विकासको कथामा प्रभुत्व जमाएको छ, जसमा पुरुषहरूलाई हाम्रो जीवविज्ञान र व्यवहारलाई आकार दिने प्रमुख संवाहकका रूपमा चित्रण गरिन्छ। मेरो अनुसन्धानले, धेरै सहकर्मीहरूको कामसँगै, खाना जुटाउन—जुन सामान्यतया कुनै न कुनै रूपमा प्रशोधन गरिएको हुन्छ; महिला र बालबालिकाहरूले दिनहुँ खेल्ने केन्द्रीय भूमिकालाई प्रकट गर्दछ।

Throughout time, women and children have processed food on a daily basis, playing a central role in the story of human survival and evolution. Rodrigo Buendia / AFP via Getty Images

खाद्य प्रशोधनको छोटो इतिहास

यद्यपि मानव आहार संस्कृति अनुसार व्यापक रूपमा भिन्न हुन्छ, खाद्य प्रशोधन ती सबैमा साझा छ। केही फलफूल, ऐंसेलु-काफल र सागपात बाहेक, संसारभरका परम्परागत आहारहरूमा प्रायः सबै खानाहरू कुनै न कुनै रूपमा प्रशोधन गरिन्छ: फुटाइन्छ, पिँधिन्छ, कुटिन्छ, कोरिन्छ, चालिन्छ, निफनिन्छ, पेलिन्छ, ताछिन्छ, मिचिन्छ, पखालिन्छ, छोडाइन्छ, उखेलिन्छ, कत्ला निकालिन्छ, हड्डी निकालिन्छ, काटिन्छ, उमालिन्छ, पोलिन्छ वा अन्य तरिकाले पकाइन्छ।

यी थप कदमहरू चाल्नाले मौसम प्रतिकूल हुँदा पनि मानवलाई बाँच्नका लागि फाइदा दियो। मनपर्ने खानाहरू सकिन्थे, वा द्वन्द्व वा जनसंख्याको चापका कारण बस्ने ठाउँ साँघुरो हुन्थ्यो। खाद्य प्रशोधनले हाम्रो आहारलाई फराकिलो र विविध बनाउँछ, जसले गर्दा हामीलाई विभिन्न प्रकारका वातावरणमा फस्टाउन मद्दत पुग्छ। पछिल्लो ३० लाख वर्षको विकासको क्रममा, खानालाई साना सोस्न योग्य टुक्राहरूमा विभाजन गर्ने प्रक्रिया प्राथमिक रूपमा ग्यास्ट्रोइंटेस्टाइनल (आन्द्राभित्रको) प्रक्रियाबाट बाह्य प्रक्रियामा सर्‍यो। यो झन्झट उठाउनुका धेरै फाइदाहरू थिए।

मानिसले उपभोग गर्ने धेरै खानाहरू प्रशोधन नगरी अपच वा विषाक्त हुन्छन्। कसाभा (जसलाई म्यानियोक वा युका पनि भनिन्छ), जुन दक्षिण अमेरिका, दक्षिणपूर्वी एसिया, क्यारिबियन र अफ्रिकामा मुख्य खाना हो, यसमा साइनाइडको तत्व हुन्छ जुन काँचो खाएमा हानिकारक हुन्छ। अन्य सामान्य तरकारीहरू (भान्टा, आलु), सिमी/गेडागुडी (राज्मा, अरंडी, लिमा, कोको), नट्स (तितो बदाम, ताडको ओखर), र बीउहरू या त घातक, विषाक्त वा तितो स्वादका हुन्छन्। तर एक पटक कुटेपछि, भिजाएपछि, पिँधेपछि, पखालेपछि, अमिल्याएपछि वा पकाएपछि, ती खानयोग्य बन्छन्। गहुँ, जौ, जौं र मकै विरलै पूर्व-पाचन उपचार  बिना खाइन्छ।

प्रशोधनले खानाको आयु बढाउँछ। खेती नहुने मौसममा, शिकारी-सङ्कलनकर्ता र कृषक दुवै भण्डारण गरिएको खानामा भर पर्छन्। यदि मानिसले भण्डारणको कलामा निपुणता हासिल नगरेको भए संसारको धेरैजसो भाग बस्न अयोग्य हुने थियो। उच्च अक्षांश वा उचाइमा बस्ने मानिसहरूले खानालाई चिसो राखेर केही समय सुरक्षित गर्न सक्छन्। अन्यथा, यसलाई सुकाउनु पर्छ, नुन हाल्नु पर्छ वा सुकुटी बनाउनु पर्छ, र त्यसपछि सुरक्षित ठाउँमा लुकाउनु पर्छ ताकि किरा-फट्याङ्ग्रा वा मुसाले पहिले नखाऊन्।

खानालाई नरम बनाउने र टुक्रा पार्ने विकासवादी विरासतले मानव शरीरमा आफ्नो प्रमाण छोडेको छ। समयसँगै, हाम्रा प्रारम्भिक ‘होमो’ पुर्खाहरूका मोटा र विशाल दाँतहरूको सट्टा धेरै साना, परिष्कृत र पातलो इनामेल भएका दाँतहरू आए। चपाउने मांसपेशीहरूलाई जोड्ने हड्डीसहितका बलिया खप्परहरूको ठाउँमा अझ नाजुक अनुहार र बङ्गाराहरू आए। हाम्रो टाउकोले चपाउने प्रणालीलाई सहारा दिने काम कम गर्न थालेपछि, यसले मस्तिष्क विस्तारको लागि ठाउँ बनायो। आंशिक रूपमा पूर्व-पचाइएको (partially predigested) खाना खानाले ठूलो र मेटाबोलिक रूपमा खर्चिलो पाचन प्रणालीको आवश्यकतालाई पनि कम गरिदियो, जसको प्रमाण हाम्रो तुलनात्मक रूपमा सानो आन्द्रा  हो।

पूर्व-पचाइएको खाना खानाले चपाउनमा खर्च हुने समय पनि बचत हुन्छ। चिम्पान्जीहरूले दिनको उज्यालोको झन्डै आधा समय फाइबरयुक्त फलहरू चपाउनमा बिताउँछन्। आजका मानिसहरूले चपाउनमा धेरै कम समय खर्च गर्छन्दि: नको लगभग ५ प्रतिशत, वा करिब ३५ मिनेट। औद्योगिक रूपमा प्रशोधित र अत्यधिक परिष्कृत खाना, जसमा फाइबर कम वा हुँदै हुँदैन, त्यसले यो समयलाई अझ नाटकीय रूपमा घटाउँछ।

मानिसहरू आफ्नो अस्तित्वको अधिकांश समय शिकारी र सङ्कलनकर्ताका रूपमा बाँचे। आज थोरै संख्यामा रहेका समाजहरू अझै पनि यसैमा निर्भर छन्। तर यी समूहहरूले विभिन्न वातावरणमा कसरी अनुकूलन गर्छन् भन्ने कुराको अध्ययनले विकासवादी मानवशास्त्रीहरूलाई हाम्रो प्रजाति कसरी यति व्यापक र सफल भयो भन्ने कुरा बुझ्न मद्दत गर्दछ।

महिलाहरूको सहकारी कार्य

जब शिकारीहरूले ‘पुमे’ शिविरमा मासु ल्याउँछन्, तब उत्साह प्रष्ट देखिन्छ। भूमध्यरेखा नजिक बस्ने धेरै शिकारी-सङ्कलनकर्ताहरू जस्तै, पुमेहरू लगभग ७० जनाको सानो समूहमा बस्छन्, मौसमको माग अनुसार आफ्नो शिविर सार्छन् र आश्रयहरू निर्माण गर्छन्। सुख्खा मौसममा खाना प्रशस्त हुँदा समय राम्रो हुन्छ। तर बर्खायाममा जीवन नाटकीय रूपमा परिवर्तन हुन्छ।

हप्तामा एक पटक जसो, शिकारीहरू गोही (cayman), कमिला खाने जनावर (anteater), मृग वा ठूलो चरा लिएर शिविरमा फर्कन्छन्। मासुलाई यसको प्रोटिन र बोसोका लागि महत्त्व दिइए पनि, बर्खायाममा बिरुवाहरूले नै पुमेहरूलाई बचाउँछन्। वर्षको यो अभावको समयमा, महिला र बालबालिकाहरूले लगभग विशेष रूपमा कन्दमूल खोज्छन् र करिब ८५ प्रतिशत क्यालोरी भित्र्याउँछन्। यस्तै समशीतोष्ण र भूमध्यरेखीय वातावरणमा, जरा, कन्दमूल, बीउ, सिमी, नट्स र फलफूलहरू बाँच्नका लागि मुख्य आधार हुन्। पुमे महिला र बालबालिकाहरूले यी आधारभूत क्यालोरीहरू आपूर्ति गर्छन् र तिनीहरूलाई खानयोग्य खानामा प्रशोधन गर्छन्।

सरल शब्दमा भन्नुपर्दा, कुनै एक व्यक्तिका लागि बिरुवा र जनावर खोज्ने, तिनीहरूलाई प्रशोधन गर्ने, पानी ओसार्ने, दाउरा काट्ने, कच्चा पदार्थ खोज्ने र खाना जुटाउन र प्रशोधन गर्न आवश्यक उपकरणहरू बनाउने, साथै कपडा र आश्रय निर्माण गर्ने र बालबालिकाको हेरचाह गर्ने समय दिनको २४ घण्टामा पुग्दैन। यी आधारभूत आवश्यकताहरू पूरा गर्न सहयोग  आवश्यक हुन्छ। मानिसहरूले उमेर, क्षमता र लिङ्गका आधारमा काम विभाजन गरेर र आफ्नो श्रमको फल बाँडफाँड गरेर सबैभन्दा राम्रो गर्छन्।

पुमेहरू यस मामिलामा अद्वितीय छैनन्। शिकारी-सङ्कलनकर्ताहरूका लागि, खाद्य प्रशोधन प्रायः एक बहु-चरणीय, दैनिक कार्य हो जुन महिला र बालबालिकाहरू मिलेर गर्छन्। शिकारी-सङ्कलनकर्ताका छोराछोरीहरू उनीहरूका आमाहरू खाना सङ्कलन गर्न बाहिर जाँदा शिविरमै बस्न सक्छन्, तर तिनीहरू फुर्सदमा हुँदैनन्। सानै उमेरदेखिका केटाकेटीहरू सँगै बस्छन्, ओखर फुट्छन्, जराहरू पोल्छन्, खाना पकाउँछन्, शिविरमा पानी ओसार्छन्, दाउरा जम्मा गर्छन् र आफ्नै सरल उपकरणहरू बनाउँछन्।

यद्यपि संस्कृति अनुसार विवरणहरू व्यापक रूपमा भिन्न हुन्छन्, समकालीन शिकारी-सङ्कलनकर्ता समाजका महिलाहरूले सामान्यतया दिनको उज्यालोको करिब २० प्रतिशत समय, वा दिनको करिब तीन घण्टा खाना प्रशोधनमा बिताउँछन्। अधिकांश समाजमा, महिला र बालबालिकाहरूले पानी र दाउरा सङ्कलन गर्छन् जुन खाद्य प्रशोधनका लागि आवश्यक हुन्छ। महिलाहरूले आफ्नो काममा प्रयोग हुने धेरै उपकरणहरू बनाउने र मर्मत गर्ने पनि गर्छन्। उदाहरणका लागि, पुमे महिलाहरूले दिनको झन्डै दुई घण्टा ताडको रेसा  निकाल्ने, टोकरी र गुन्द्री बुन्ने, खन्ने लौरो तिखार्ने र लौकाको भाँडो बनाउने काममा बिताउँछन्। कालाहारी मरुभूमिका ‘कुङ’  महिलाहरूले उपकरण बनाउन र मर्मत गर्न दिनको करिब एक घण्टा खर्च गर्छन्।

खाद्य प्रशोधन क्रान्ति

खाद्य प्रशोधन सुदूर अतीतदेखि नै मानव अनुकूलनको एक हिस्सा रहँदै आएको छ। हाम्रो प्रत्यक्ष ‘होमिनिन’  वंशमा लगभग ३३ लाख वर्ष पहिलेका सबैभन्दा पुराना ज्ञात उपकरणहरू बाहेक, प्रविधिका अन्य रूपहरूले विशेष गरी महिला र बालबालिकाको महत्त्वपूर्ण भूमिकालाई औँल्याउँछन्।

उदाहरणका लागि, सबैभन्दा पुरानो पहिचान योग्य चुल्होहरू  लगभग ३ लाख देखि ४ लाख वर्ष पहिलेका हुन्। तिनीहरूसँग सम्बन्धित ढुङ्गाका औजारहरू र अवशेषहरू प्रायः पुरुषहरूको हो भनेर मानिन्छ। तर समकालीन शिकारी-सङ्कलनकर्ताहरूसँग बसिरहेका मानवशास्त्रीहरूले सङ्कलन गरेको अवलोकन तथ्याङ्कले फरक कथा बताउँछ: महिलाहरूले पुरुषको तुलनामा चुल्होको वरिपरि धेरै समय बिताउँछन्: खाना प्रशोधन गर्ने, पकाउने र त्यसो गर्नका लागि उपकरणहरू बनाउने। उदाहरणका लागि, पुमेहरूको बीचमा, चुल्हो वरिपरिका ८४ प्रतिशत गतिविधिहरू महिलाहरूले खाना प्रशोधन गर्ने कामसँग सम्बन्धित हुन्छन्।

यसले प्रश्न खडा गर्छ: के चुल्हो वरिपरि थुप्रिएका धेरै पुरातात्विक अवशेषहरू महिलाहरूको कामको उप-उत्पादन  हुन्? शिकारका कथाहरूले सङ्कलनकर्ता समाजका मानवशास्त्रीय विवरणहरूमा प्रभुत्व जमाए पनि, महिलाहरूले सामान्यतया खाद्य प्रशोधनमा प्रमुख भूमिका खेलेका छन्। उदाहरणका लागि, हजारौँ वर्षदेखि उत्तर अमेरिकी ‘ग्रेट प्लेन्स’मा बसोबास गर्ने शिकारी-सङ्कलनकर्ताहरूलाई लिनुहोस्। गर्मीको अन्त्यमा, यी समूहहरू बाइसन (bison) शिकारको तयारीका लागि भेला हुन्थे। यद्यपि यी शिविरहरूको प्रारम्भिक नृवंशविज्ञान विवरणहरूलाई नजिकबाट हेर्दा यो थाहा हुन्छ कि तिनीहरू ऐंसेलु-काफल टिप्ने र महिलाहरूको सामूहिक कामको आवश्यकता अनुसार समय मिलाइएको हुन्थ्यो।

‘पेमिकन’मा बेरीहरू एक मुख्य सामग्री हुन्, जुन बोसो, मासुका टुक्राहरू र सुकाइएका बेरीहरूबाट बनाइएको अत्यधिक प्रशोधित ‘पावर बार’ जस्तै हुन्छ, जुन ग्रेट प्लेन्सका मानिसहरूलाई जाडो महिनाहरू कटाउन महत्त्वपूर्ण थियो। बेरीहरू, जुन प्राकृतिक संरक्षक  हुन्, एक महत्त्वपूर्ण घटक हुन्। बेरीहरू पाकेपछि र चराचुरुङ्गी वा अन्य जनावरले खानु अघि छिट्टै फसल काट्न र प्रशोधन गर्न ठूलो महिला श्रम शक्तिको आवश्यकता पर्थ्यो। पेमिकन अझै पनि जाडोका लागि एक महत्त्वपूर्ण खाना हो, यद्यपि बजारमा बेरीहरू प्राप्त गर्न विकल्पहरू उपलब्ध छन्।

खाना बाँडफाँड, श्रम विभाजन, जोडी बाँध्ने  र संयुक्त अभिभावकत्व, मानवतालाई परिभाषित गर्ने सहकारी गुणहरू र जसले हामीलाई हाम्रा गैर-मानव प्राइमेट आफन्तहरू भन्दा धेरै फरक विकासवादी मार्गमा डोर्‍यायो, त्यसको उत्प्रेरकका रूपमा प्रायः शिकारलाई केन्द्रमा राखिन्छ। तर शिकारको प्रधानता गलत ठाउँमा राखिएको छ। मासु पनि (जबसम्म यसलाई कुटिदैन, पकाइँदैन वा अन्य तरिकाले टुक्रा पारिँदैन) हड्डीबाट छुटाउन, चपाउन र पचाउन गाह्रो हुन्छ।

अर्को पटक जब तपाईं खाना खान बस्नुहुन्छ, खाद्य प्रशोधन क्रान्तिको कदर गर्न एक क्षण निकाल्नुहोस्: त्यो महिलाहरूले गरेको कुटानी-पिसानी, पकाइ र मिचाइ; जसले मानवलाई विभिन्न प्रकारका खानाहरूको लागि बाटो खोलिदियो र हामीलाई संसारका सबै वातावरणमा फस्टाउन सक्षम बनायो।


लेखकको परिचय: करेन एल. क्रेमर एक मानवशास्त्री हुनुहुन्छ जसले सहयोगको विकास, मानव सामाजिकता, जीवन इतिहास र बाल्यकालको बारेमा अनुसन्धान गर्छिन्। उनी न्यु मेक्सिको विश्वविद्यालयबाट पीएचडी प्राप्त गर्नुभएको छ र उताह विश्वविद्यालयमा मानवशास्त्रको प्राध्यापक हुन्। उनले विगत ३० वर्षदेखि दक्षिण अमेरिकी शिकारी-सङ्कलनकर्ता समूह ‘साभाना पुमे’ र युकाटेक माया निर्वाहमुखी कृषकहरूसँग काम गरेकी छन्। उनको अनुसन्धानलाई नेशनल इन्स्टिच्युट अफ हेल्थ, नेशनल साइन्स फाउन्डेशन लगायतका संस्थाहरूले आर्थिक सहयोग गरेका छन्।

स्मिथसोनियन म्यागजिन बाट साभार गरिएको यस लेखलाई राजु झल्लु प्रसादले अनुवाद गरेका हुन्।