झुट्टा कागजात तयार गरी आयात अनुमति लिन खोजेको आरोपमा व्यवसायी नवीन कुमार अग्रवाल पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । झुट्टा कागजात तयार गरी अवैध रूपमा आयात अनुमति लिन प्रयास गरेको आरोपमा व्यवसायी नवीन कुमार अग्रवाल पक्राउ परेका छन्। निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार नेपाल सरकारले छोका आयातमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा उक्त प्रतिबन्ध उल्लंघन गर्न नक्कली कागजात तयार पारिएको आरोप लागेको हो।

प्रहरीका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलको आधिकारिक लेटरहेड, छाप तथा पूर्वमहानिर्देशकको नाम र हस्ताक्षर दुरुपयोग गर्दै १०० टन छोका आयातका लागि नक्कली अनुमति पत्र बनाइएको थियो। सो कागजात विराटनगर भन्सार कार्यालयमा पेश गर्ने क्रममा कालिकास्थानस्थित सिमविन इन्टरनेशनल इम्पेक्सका सञ्चालक अग्रवालको संलग्नता भेटिएको बताइएको छ।

विराटनगर महानगरपालिका-६, आदर्शनगरमा बसोबास गर्दै आएका ५५ वर्षीय अग्रवाललाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ अन्तर्गत लिखत सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ।