काठमाडौं । साना बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले सहकारी क्षेत्रमा कानुनी व्यवस्था कडा बनाउन सरकारले पेश गरेको सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार उक्त अध्यादेश जारी गरिएको हो।
हाल सहकारी क्षेत्रमा देखिएको समस्या विशेषगरी साना बचतकर्ताको रकम फिर्ता नहुने गुनासोलाई सम्बोधन गर्न यो अध्यादेश ल्याइएको बताइएको छ। सरकारले यसमार्फत सहकारी संस्थाको नियमनलाई थप प्रभावकारी बनाउने र बचतकर्ताको हित संरक्षण गर्ने लक्ष्य राखेको छ।
अध्यादेश कार्यान्वयनसँगै सहकारी संस्थाहरूको निगरानी, पारदर्शिता र उत्तरदायित्वमा सुधार आउने अपेक्षा गरिएको छ।
