रोल्पा जीप दुर्घटनाः २० जनाको शव पोष्टमार्टमका लागि रुकुम पूर्व पठाइयो, आजै अन्त्येष्टि गरिने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव थवाङमा सनाखत गरी जिल्ला अस्पताल रुकुम पूर्वमा पोस्टमार्टम गरिने तयारी गरिएको छ। पोस्टमार्टम सम्पन्न भएपछि ९ जनाको शव दाङ पठाइने र बाँकी ११ जनाको अन्त्येष्टि रुकुम पूर्वमै गरिने जनाइएको छ।

जिल्ला प्रशासनका अनुसार आजै मृतकका आफन्तलाई शव जिम्मा लगाइनेछ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनास्थलमा आज बिहानैदेखि खोज तथा उद्धार कार्य पुनः सुरु गरिएको छ। हिजो साँझ वर्षा र अँध्यारोका कारण उद्धार कार्य रोकिएको थियो।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार रुकुमपूर्वबाट थवाङ गाउँपालिका-१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो दुर्घटनामा परेको थियो।

दुर्घटनामा घाइते भएका रुकुमपूर्व सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामीलाई राति नै जिल्ला अस्पतालबाट थप उपचारका लागि अन्यत्र पठाइएको छ।

विकट भौगोलिक अवस्थाका कारण शवहरू संकलन गरी दुर्घटनास्थल नजिकै राखिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन हेलिकप्टर प्रयोग गर्ने तयारीसमेत गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिएका छन्।