केपी ओलीकै आर्थिक सल्लाहकार दिपक भट्टको पार्टनर : ५ सय करोड ठगीको कम्पनिमा दुगड

दियोपोस्ट संवाददाता  

 

काठमाडौँ । करिब ५ सय करोड हाराहारी घोटाला भएको दिपक भट्ट र शेखर गोल्छाहरु मुछिएको हिमालयन रि इन्स्योरेन्समा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकारको नाममा सेयर राखेको पाइएको छ ।

२०७७ सालमा ओली प्रधानमन्त्री हुँदा उनको आर्थिक सल्लाहकार तथा पूर्वराज्यमन्त्री मातीलाल दुगडले हिमालयन रि इन्स्योरेन्समा ५ लाख कित्ता सेयर लिएको पाइएको हो । त्यस्तै दुगडकै आफ्ना नोतदार शुभम दुगड र सरोज दुगडको नाममा ८ लाख कित्ता सेयर रहेको लगतमा उल्लेख छ ।

नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल रि इन्स्योरेन्स कम्पनिलाई कमजोर बनाउनका लागि भट्ट र शेखर गोल्छाको समुहले हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स लिएका थिए । मिडिया माफियादेखि सम्पत्ति सुद्धिकरणका महानिर्देशकले समेत यो कम्पनिमा गोल्डेन सेयर पाएका थिए । भट्ट र गोल्छा यतिबेला पक्राउ परि प्रहरीको हिरासतमा छन् । गोल्छामाथि हिमालयन रिबाट भृकुटि स्टक ब्रोकरिङ कम्पनिमा ५२ करोडभन्दा बढी रकम रकमानान्तर गरि सेयर कारोबारमा कृत्रिम प्रभाव पारेको अभियोगमा पक्राउ गरिएको छ । उनलाई धितोपत्र ऐन अनुसार कारबाही जारी छ । त्यस्तै यो कारोबारमा एक रुपैयाँ पनि लगानी नगरी २ सय ५० करोड रुपैयाँ आफ्नो खातामा ल्याएका दिपक भट्टमाथि सम्पत्ति सुद्धिकरण मुद्दामा पक्राउ गरि अनुसन्धान जारी छ । उनी यतिबेला ललितपुर प्रहरीको हिरासतमा छन् भने गोल्छा सीआईबीको हिरासतमा रहेका छन् । स्रोतका अनुसार गोल्छा शक्ति केन्द्रको प्रभावको आधारमा निजि अस्पतालमा उपचार गराइरहेका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई प्रभावमा पारेर भट्ट समुहले हत्याएको हिमालयन रि इन्स्योरेन्सको सेयर लगतमा ओलीकै सल्लाहकार समेत संस्थापक सेयरधनी रहनुले ओलीको संलग्नता पुष्टि हुने देखिन्छ । ओलीलाई प्रभावमा पारेर हिमालयन रिको लाइसेन्स लिएको भनि त्यसबेला नै विभिन्न संचार माध्यमहरुमा खबर आएको थियो ।
सेयर लगतमा संस्थापक सेयरधनी भएको तथ्य देखिँदा पनि ओलीका सल्लाहकार दुगड पक्राउ भने परेका छैनन् । यो कम्पनिमा कान्तिपुर मिडियाका मालिक कैलाश सिरियोहिया, शेखर गोल्छा दिपक भट्ट लगायतको सेयर रहेको छ ।