अनियमितता उजागर गर्दा स्वास्थ्य बीमा शाखाकी दर्ता सहयोगी निलम्वनमा, केन्द्रीय कार्यालयमा उजुरी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क शाखा कार्यालय चितवनमा कार्यरत एक दर्ता सहयोगीले आफूविरुद्ध आधारहीन आरोप लगाएर हटाउने प्रयास गरिएको भन्दै छानबिनको माग गरेकी छन्। उनले कार्यकारी निर्देशकसमक्ष निवेदन दिँदै सम्बन्धित पदाधिकारी र कर्मचारीमाथि आवश्यक कारबाही गर्न आग्रह गरेका हुन्।

निवेदन अनुसार, खैरहनी नगरपालिकाको वडा नं.४ मा दर्ता सहयोगीका रूपमा कार्यरत उनले २०७९ साल असारदेखि निरन्तर रूपमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नागरिकलाई आबद्ध गराउने काम गर्दै आएकी थिइन् । उनले स्वास्थ्य बीमा ऐन, नियम तथा कार्यविधि अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको दाबी गरेका छन्।

तर, जिल्ला सम्पर्क शाखा कार्यालय चितवनका केही कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूले बिना कारण, बिना प्रमाण र तथ्यहीन आरोप लगाउँदै आफूलाई हटाउने निर्णय गरेको उनले बताएका छन्। निवेदनमा उल्लेख भए अनुसार, सो निर्णय राजनीतिक पूर्वाग्रह तथा व्यक्तिगत स्वार्थबाट प्रेरित रहेको आरोप पनि लगाइएको छ।

दर्ता सहयोगीले आफूलाई कुनै जानकारी नदिई पदबाट हटाउने प्रयास गरिएको, साथै स्वास्थ्य शाखा, वडा अध्यक्ष तथा अन्य पदाधिकारीको संलग्नतामा आर्थिक र राजनीतिक प्रभाव प्रयोग भएको आशंका व्यक्त गरेका छन्। उनले यस्तो गतिविधिले स्वास्थ्य बीमा प्रणाली नै कमजोर पार्ने चेतावनी दिएका छन्।

निवेदनमा, यदि कसैले ऐन, कानुन वा कार्यविधि विपरीत काम गरेको भए निष्पक्ष छानबिन गरी कारबाही गर्न आफूलाई कुनै आपत्ति नभएको उल्लेख गरिएको छ। तर, बिना स्पष्टीकरण तथा प्रमाण आफूमाथि कारबाही गर्न खोजिएकोप्रति उनले आपत्ति जनाएका छन्।

यसैबीच, आफूलाई दिइएको भनिएको करार सम्झौता भंगसम्बन्धी पत्रमा उल्लेखित कुराहरू झुटा तथा कपोलकल्पित रहेको दाबी गर्दै उनले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

उक्त घटनाले स्वास्थ्य बीमा बोर्डको स्थानीय कार्यप्रणालीमा पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएको छ। सम्बन्धित निकायले छानबिन गरी सत्य बाहिर ल्याउनुपर्ने माग स्थानीय तहमा समेत उठ्न थालेको छ।