काठमाडौं । दक्षिण एसियाली मुलुकहरूबीच व्यापार, उद्योग तथा सेवा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘साउथ एसिया ट्रेड फेयर २०२६’ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
वैशाख २४ देखि २८ गतेसम्म सञ्चालन हुने सार्कस्तरीय अन्तर्राष्ट्रिय व्यापार मेलामा दक्षिण एसियाका विभिन्न देशका उद्योगी, व्यवसायी तथा सेवा प्रदायकहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गरिएको मेलालाई आर्थिक गतिविधि चलायमान बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
मेलाको उद्घाटन नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटिया, बंगलादेशका राजदूत सफिक्वयर रहमान, नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष दिपक मल्होत्रा तथा मेला संयोजक सुमन महर्जनले संयुक्त रूपमा गरेका हुन्।
आयोजकका अनुसार देशमा केही समययता सुस्त बनेको व्यापारिक वातावरणबीच मेला निजी क्षेत्रलाई पुनः सक्रिय बनाउने प्रभावकारी प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। आर्थिक चुनौतीका कारण प्रभावित व्यवसायीहरूले समेत मेलामा उत्साहजनक सहभागिता जनाइरहेका छन्।
इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रालिले आयोजना तथा व्यवस्थापन गरेको मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो ९इपीबी० को सहकार्य रहेको छ। साथै, भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले कार्यक्रमलाई समर्थन गरेको आयोजकले जनाएको छ।
मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सलगायत देशका प्रदर्शकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार मेलामा करिब १५० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने करिब एक लाख स्थानीय अवलोकनकर्ता तथा पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भावनाको अध्ययन तथा क्रेता-बिक्रेताबीच व्यावसायिक सहकार्य विस्तार गर्नु रहेको बताइएको छ। साथै, दक्षिण एसियाली मुलुकहरूबीच व्यापारिक सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य पनि मेलाले लिएको छ।
प्रदर्शनीमा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरणलगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू प्रदर्शन गरिएका छन्।
आयोजकका अनुसार मेलामा व्यापारिक भेटघाट, फुड फेस्टिभल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिनेछ। यस कार्यक्रमले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।
