सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, आज हर्क साम्पाङसँग ‘पार्टी एकता’ घोषणा हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मा प्रवेश गरेका छन्। दुवै पक्षबीच पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको र यसको औपचारिक घोषणा आज पत्रकार सम्मेलनमार्फत गरिने तयारी भएको छ।

काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ। कार्यक्रममा सुदन किराँती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संयुक्त रूपमा पार्टी एकताको घोषणा गर्ने जनाइएको छ।

सुदन किराँतीले हालै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका थिए। जनार्दन शर्मा निकट उक्त पार्टीमा उनी अध्यक्ष परिषद्का सदस्य थिए। तर पछिल्लो निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि प्रलोपा कमजोर बनेको थियो। यसैबीच किराँती श्रम संस्कृति पार्टीसँग नजिकिँदै गएको बताइन्छ।

श्रम संस्कृति पार्टीले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ। धरानका पूर्वमेयर हर्क साम्पाङले स्थापना गरेको उक्त पार्टी हाल संसदको पाँचौँ ठूलो दलको रूपमा उदाएको छ।

स्रोतका अनुसार सुदन किराँतीलाई पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरिएको छ। उनलाई पार्टीको दोस्रो तहको नेतृत्वमा राख्ने सम्भावना रहेको स्रोतको भनाई छ ।

यसअघि नै हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ‘सुदन किराँती श्रम संस्कृतिको खम्बा बनिसक्नुभएको’ भन्दै उनीसँग सहकार्य लगभग टुंगिएको संकेत दिएका थिए।

सिफारिस