सरकारी विद्यालयमा ‘सुरक्षित खानेपानी’को अभाव, बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर

- अजय निरौला  

काठमाडौँ । नेपालमा शिक्षा सुधार, डिजिटल प्रविधि र आधुनिक विद्यालयको चर्चा चलिरहेका बेला सरकारी विद्यालय तथा क्याम्पसका धेरै विद्यार्थी अझै पनि सुरक्षित खानेपानीबाट वञ्चित रहेको तथ्य सार्वजनिक भएको छ। विद्यालयमा प्रयोग भइरहेको धारा तथा हातेपम्पको पानी कतिपय स्थानमा आर्सेनिक, आइरन, चुन तथा ब्याक्टेरियाले प्रदूषित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

विभिन्न अध्ययनअनुसार विशेषगरी तराई क्षेत्रमा भूमिगत पानीमा आर्सेनिक र आइरनको मात्रा उच्च रहेको पाइएको छ। यस्तै पहाडी तथा शहरी क्षेत्रमा समेत हार्डनेस, दूषित पाइपलाइन तथा ब्याक्टेरियाका कारण खानेपानीको गुणस्तरमा समस्या देखिएको बताइएको छ । यस्तो पानी नियमित सेवन गर्दा बालबालिकामा पेट तथा पाचनसम्बन्धी रोग, छालासम्बन्धी समस्या, मिर्गौला र कलेजोमा असर पर्ने जोखिम रहने स्वास्थ्यकर्मीहरू बताउँछन्।

धेरै विद्यालयमा अहिले पनि पानी उमालेर पिउने व्यवस्था नभएको, कतै फिल्टर नभएको तथा भएका फिल्टरसमेत प्रयोगविहीन अवस्थामा रहेको गुनासो छ। कतिपय विद्यार्थी घरबाटै पानी बोकेर विद्यालय जान बाध्य छन् भने धेरै स्थानमा विद्यार्थीहरू सिधै धारा वा पम्पको पानी पिउन बाध्य भइरहेका छन्।

सरकारले विद्यालयमा भवन निर्माण, कम्प्युटर, स्मार्ट क्लास तथा डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि सुरक्षित खानेपानीको विषयले पर्याप्त प्राथमिकता नपाएको शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको भनाइ छ। उनीहरूका अनुसार स्वस्थ विद्यार्थी बिना गुणस्तरीय शिक्षा सम्भव हुँदैन।

यसैबीच विद्यालय तथा कलेजहरूमा आधुनिक आरओ (रिभर्स अस्मोसिस) वाटर प्लान्ट जडान गर्नुपर्ने माग पनि बढ्न थालेको छ। आरओ प्रणालीले पानीमा रहेका आर्सेनिक, आइरन, चुन, ब्याक्टेरिया तथा अन्य हानिकारक तत्व हटाएर सुरक्षित खानेपानी उपलब्ध गराउने बताइएको छ।

विद्यालय, अस्पताल तथा ठूला संस्थाहरूमा प्रयोग भइरहेका यस्ता प्रणाली सरकारी विद्यालयमा विस्तार हुन नसकेको भन्दै स्थानीय तह र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। स्थानीय सरकारहरूले भौतिक संरचनामा बजेट खर्च गरे पनि विद्यालयमा खानेपानीको गुणस्तर सुधारतर्फ पर्याप्त ध्यान नदिएको आरोप छ।

शिक्षा क्षेत्रका जानकारहरूले शिक्षा मन्त्रालय, स्थानीय तह, स्वास्थ्य निकाय तथा विद्यालय व्यवस्थापन समितिहरूले विद्यालयहरूको पानी परीक्षण अभियान सञ्चालन गरी दूषित क्षेत्रमा प्राथमिकताका आधारमा आरओ वाटर प्लान्ट जडान गर्नुपर्ने बताएका छन्।

उनीहरूका अनुसार ‘स्वस्थ विद्यार्थी नै समृद्ध राष्ट्रको आधार हुन्’ भन्ने नारालाई व्यवहारमा उतार्न विद्यालयस्तरबाटै सुरक्षित खानेपानी सुनिश्चित गर्न ढिलाइ गर्न नहुने आवश्यकता देखिएको छ।

सिफारिस