सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माको लेक लागेर निधन

दियोपोस्ट संवाददाता  

सोलुखुम्बु। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ।

सोलुदुधकुण्ड नगरपालिका ७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प १ क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए।

उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो। ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि सगरमाथाको चुचुरो चुमिसकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए।

सिफारिस