
काठमाडौँ । आन्तरिक हवाई सेवामा अग्रणी कम्पनी बुद्ध एयरले कम भिजिबिलिटीमा पनि उडान भर्न सक्ने आधुनिक जहाज भित्राएको छ । कम्पनीले जुलाई २५ मा फ्रान्सबाट एटीआर ७२-६०० सिरिजको आधुनिक जहाज भित्राएको हो ।
कम्पनीले गत साउन ९ गते अर्थात् जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल ल्याएको उक्त विमान नेपालकै आन्तरिक हवाई सेवाको सबैभन्दा सुरक्षित र आधुनिक रहेको कम्पनीले दाबी गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नाइन एन -एओएस कलसाइन दिएको उक्त एटीआर ७२-६०० सिरिजको जहाजको आवश्यक प्रक्रिया पूरा गरी आगामी अगस्ट महिनादेखि नियमित उडान सुरु गर्ने बुद्ध एयरले जनाएको छ ।
कम्पनीले नयाँ विमान ल्याएसँगै नेपालको आन्तरिक उड्डयनको क्षेत्रमा पहिलो पटक अत्याधुनिक ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स-अथोराइजेसन रिक्वायर्ड) एप्रोच प्रणाली भएको जहाज आइपुगेको हो । अब यो प्रणाली भएको जहाज भित्रिएसँगै अब ९०० मिटर मात्रै भिजिबिलिटी भएको अवस्थामा पनि निश्चित विमानस्थलहरूमा उडान र अवतरण गर्न सकिने भएको छ ।
पुरानोभन्दा नयाँ विमानमा के छ फरक सुविधा ?
कलसाइन ‘नाइन एन-एओएस’ प्राप्त गरेको यो एटीआर ७२-६०० सिरिजको विमान बुद्ध एयरसँग रहेका पुराना एटीआर ४२–३२० र एटीआर ७२-५०० सिरिजका विमानहरूभन्दा प्राविधिक रूपमा धेरै उन्नत रहेको छ । यो विमान पूर्णरुमा ‘ग्लास ककपिट’ प्रविधिमा आधारित छ । जसका कारण परम्परागत एनालग उपकरणको स्थानमा ककपिटभित्र पूर्ण डिजिटल डिस्प्लेमार्फत पाइलटलाई सम्पूर्ण सूचना प्रदान गर्न सक्नेछ । यसमा अत्याधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट प्रणाली र उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ । पुराना सिरिजको तुलनामा यस जहाजले कम इन्धन खपत गर्ने भएकाले यो जहाज वातावरणमैत्री समेत रहेको छ । साथै जहाजभित्रको सुधारिएको बनावटका कारण पहिलेको तुलनामा कम आवाज आउने भएकाले यात्रुलाई शान्त र आरामदायी यात्राको अनुभूति दिने कम्पनीले दाबी गरेको छ ।
अब ९०० मिटरको भिजिबिलिटीमा पनि उड्न र अवतरण गर्न सक्ने
यस विमानको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यसमा जडान गरिएको आरएनपी-एआर एप्रोच प्रणाली हो । यो भू-उपग्रह (स्याटलाइट) मा आधारित अत्याधुनिक प्रविधि हो । हाल प्रयोगमा रहेको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रक्रियाअनुसार काठमाडौं र भैरहवा विमानस्थलमा अवतरणका लागि न्यूनतम १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने गर्दथ्यो । तर नयाँ प्रविधि रहेको एटीआर ७२-६०० सिरिजको जहाज आएसँगै अब काठमाडौं र भैरहवा विमानस्थलमा केवल ९ सय मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षितरुपमा अवतरण गर्न सकिने भएको छ ।

त्यसै गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यो प्रणाली जडानका लागि कार्य गरिरहेको छ । हाल पोखरामा आईएलएस प्रक्रियाअनुसार ३१ सय मिटर भिजिबिलिटी चाहिन्छ, तर आरएनपी-एआर सिस्टम जडान भएमा २ हजार मिटर भिजिबिलिटीमा पनि सुरक्षित उडान र अवतरण सम्भव हुनेछ । यसले तुवाँलो र कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ तथा अवरोधलाई निकै कम गर्नेछ ।
पुरानोभन्दा बढी सुरक्षित विमान

प्राविधिक रूपमा हेर्दा यो विमान अघिल्ला सिरिजका जहाजभन्दा बढी सुरक्षित मानिएको छ । आधुनिक ग्लास ककपिट र डिजिटल प्रणालीले पाइलटलाई उडानका क्रममा आउने जोखिमको पूर्वानुमान गर्न र व्यवस्थापन गर्न सहज बनाउनेछ । विशेष गरी आरएनपी–एआर प्रविधिले पहाडी भू-बनोट र खराब मौसमका कारण चुनौतीपूर्ण मानिने नेपालका आन्तरिक विमानस्थलहरूमा सटीक र सुरक्षित अवतरण गर्न सक्नेछ । कम्पनीका अनुसार कम भिजिबिलिटीमा पनि सुरक्षित उडान र अवतरण गर्न सकिने भएकाले नेपालजस्तो देशको उडान सुरक्षालाई नयाँ उचाइमा पुराउने छ ।
थप ३ आधुनिक विमान थपिँदै
बुद्ध एयरको योजनाअनुसार एटीआर ७२-६०० सिरिजको आधुनिक जहाज यो पहिलो हो । कम्पनीले आगामी अगस्टदेखि सेप्टेम्बरको सुरुमा कलसाइन ‘नाइन एन-एओटी’ रहेको अर्को एटीआर ७२-६०० सिरिजकै विमान नेपाल ल्याउन लागेको छ । यति मात्र नभई, त्यसपछिका केही महिनाभित्रै यही सिरिजका थप २ विमान पनि ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । यससँगै बुद्ध एयरसँग हाल सञ्चालनमा रहेका एउटा एटीआर ४२-३२० र १५ वटा एटीआर ७२-५०० गरी कुल १६ मा एटीआर ७२-६०० सिरिजको जहाज थपिएसँगै १७ वटा पुगिसकेको छ । आधुनिक सिरिजको ४ वटा विमान आएपछि बुद्ध एयरसँग कुल २० वटा विमान हुनेछ ।
कहाँ कहाँ उडान हुनेछ आधुनिक विमान ?
हालसालै भित्राएको आधुनिक प्रविधिको नयाँ विमान हाल बुद्ध एयरले उडान भरिरहेका आन्तरिक तथा छिमेकी मुलुकका सबै गन्तव्यमा सञ्चालन गर्न सकिनेछ । कम्पनीले आन्तरिकतर्फ हाल दैनिक १ सय ४० भन्दा बढी उडान गरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी र कोलकाताका क्षेत्रीयतर्फ पोखराबाट भैरहवा र नेपालगन्जसम्म उडान सेवा सञ्चालन गरिरहेको छ ।
नेपालमा हाल आईएलएस सुविधा भएका विमानस्थलहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । यद्यपि बुद्ध एयरले भित्राएको आरएनपी-एआर प्रविधि भने हाल काठमाडौँ र भैरहवामा मात्रै रहेको छ । अब यो प्रविधि भित्रिएपछि आईएलएसभन्दा पनि कम भिजिबिलिटीमा अवतरण गर्न सक्ने क्षमता राख्नेछ, तर त्यसका लागि पूर्वाधार भने निर्माण भएको हुनुपर्नेछ ।