
काठमाडौँ । ट्राभल तथा टुर व्यवसायीहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)ले थाइल्यान्डमा पर्यटक नै नपठाउने चेतावनी दिएका छिन् । थाई एम्बेसीले भिसा प्राप्तिका लागि अनावश्यक सर्त राखेको भन्दै तत्काल सुधार नगरे थाइल्यान्डलाई ब्ल्याकलिस्टमा राख्ने चेतावनी दिएका हुन् ।
सोमबार नाट्टाका तर्फबाट महासचिव राज कुमार देवकोटाले जारी गरेका विज्ञप्तिमा थाई एम्बेसीले कन्फर्म टिकट र होटेल बुकिङ मागेर भिसा दिन ढिलाइ गर्ने वा भिसा नै नदिने गरेको भन्दै आपत्ति जनाएको छ । थाई दूतावासका कारण नेपाली यात्रु र ट्राभल एजेन्सी आर्थिक जोखिममा परेको भन्दै समस्या समाधान नभए आउटबाउण्ड टुरका लागि थाइल्यान्डलाई ब्ल्याक लिस्टमा राख्ने चेतावनीसमेत दिएको हो ।
हाल नेपालस्थित थाई एम्बेसीले थाइल्यान्डको भिसा प्राप्तिका लागि कन्फर्म हवाई टिकट र कन्फर्म होटेल बुकिङ माग गर्न थालेको छ । पहिले नै रकम बुझाइसकेको हवाई टिकट र पहिले नै शुल्क बुझाइसकेको होटेल बुकिङ हुँदा पनि कतिपयलाई भिसा नदिएको भन्दै नाट्टाले आपत्ति जनाएको हो ।
नाट्टाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), थाइल्यान्डको विद्यमान पर्यटक भिसा प्रणालीका कारण नेपाली यात्रु तथा ट्राभल एजेन्सीहरूले भोग्नुपरेको अव्यवहारिक झन्झट, भिसा निर्णयमा हुने अत्यधिक ढिलाइ र सोबाट सिर्जना भएको ठुलो आर्थिक क्षतिप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दछ । भिसा स्वीकृत हुने कुनै निश्चितता नहुँदा पनि आवेदकलाई अग्रिम रूपमा हवाई टिकट तथा होटेल बुकिङ पेस गर्नुपर्ने बाध्यता कायम छ । थाई एयरवेज तथा थाई लायन एयर लगायतका एयरलाइन्सका अधिकांश सस्तो मूल्यका टिकटहरू फिर्ता नहुने (नन रिफन्डेबल) वा उच्च क्यान्सिलेसन चार्ज लाग्ने प्रकृतिका हुन्छन् । सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्दासमेत भिसा अस्वीकृत हुने वा निर्धारित यात्रा मिति सकिइसकेपछि मात्र निर्णय आउने घटनाका कारण नेपाली यात्रु तथा व्यवसायीहरूको लाखौँ अमेरिकी डलर बराबरको रकम जोखिममा परेको छ ।’

नाट्टाले विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रख्यात अनलाइन बुकिङ प्लेटफर्म तथा प्रोफेसनल रिजर्भेसन सिस्टम मार्फत गरिएका बुकिङलाई अपर्याप्त मानी सम्बन्धित होटेलबाटै छुट्टै पत्र अर्थात् कन्फर्मेसन लेटर मागेर भिसा प्रक्रियालाई थप जटिल बनाएको भन्दै आपत्ति जनाएको छ ।
नाट्टाले आफ्नो विज्ञप्तिमा यात्रुमाथि आर्थिक शोषणको सम्भावना बढेको भन्दै कूटनीतिक पहल गरिइदिनसमेत आग्रह गरेको छ । थाई दूतावासले भिसा प्राप्त गर्नुअघि नै अग्रिम रकम भुक्तानी गर्नुपर्ने, बुकिङमा अतिरिक्त सर्तहरू थपिने र अन्ततः भिसा अस्वीकृत हुँदा वा समयमा निर्णय नआउँदा रकम फिर्ता नहुने स्थितिले आर्थिक शोषणको आशंका देखिएको आरोप लगाएको छ ।
थाई दूतावासको अनावश्यक सर्तले नेपाली यात्रु र व्यवसायी आर्थिक रूपमा प्रताडित हुने सम्भावना बढेको र यसको फाइदा अन्यले लिने अवस्था आएको भन्दै यसबाट अन्य कसैले फाइदा लिएको आशंका बढाएको दाबी गरेको छ ।
नाट्टाले विज्ञप्तिमा भनेको छ, ‘नेपाली यात्रु र व्यवसायी आर्थिक रूपमा प्रताडित भइरहने तर अन्य पक्षहरू भने आर्थिक लाभमा रहने यो व्यवस्थाबाट संगठित आर्थिक शोषण त भइरहेको छैन भन्ने आशंका उब्जिएकाले यस सम्बन्धमा निष्पक्ष छानबिन हुनुपर्ने नाट्टाको स्पष्ट धारणा छ ।’
नाट्टाले कुनै पनि देशको भिसा नीति यसको सार्वभौम अधिकार रहेको भए पनि नेपाली यात्रुलाई आर्थिक जोखिममा पार्ने कुरा स्वीकार्य नहुने बताएको छ ।
नाट्टाले भनेको छ, ‘कुनै पनि मित्रराष्ट्रको भिसा नीति र सार्वभौम अधिकारको हामी पूर्ण सम्मान गर्दछौँ । तर, भिसा निर्णयको सम्पूर्ण आर्थिक जोखिम नेपाली यात्रु र व्यवसायीमाथि मात्रै थोपरिने व्यवस्था कदापि स्वीकार्य हुन सक्दैन । यस विषयमा नाट्टाले रोयल थाई एम्बेसीसमक्ष तत्काल उच्चस्तरीय आपत्कालीन बैठकका लागि पत्राचार तथा निरन्तर पहल गरिरहेको भए तापनि नजिकिँदै गरेको राष्ट्रिय चाडपर्वका कारण ढिलाइ हुँदा यात्रुहरूको वित्तीय क्षति थप बढ्ने निश्चित छ ।’
नाट्टाका एक पदाधिकारीका अनुसार नाट्टाले तत्काल आपत्कालीन बैठक माग गर्दै दूतावासमा निवेदन दिएको थियो । तर दूतावासले बिहीबारको मात्रै मिति दिएकाले अब के गर्ने भन्ने अन्योल भएको छ ।
समयमै समस्याको समाधान र सम्बोधन नभए नेपालबाट थाइल्यान्डमा पर्यटक पठाउन बन्द गर्ने चेतावनीसमेत नाट्टाले दिएको छ ।
नाट्टाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘थाइल्यान्डका लागि पारदर्शी, व्यावहारिक, समयबद्ध र आर्थिक रूपमा न्यायोचित भिसा प्रणाली कायम नभएमा, नाट्टा आफ्ना सम्पूर्ण सदस्य एजेन्सीहरू तथा नेपाली पर्यटन व्यवसायीहरूको लगानी र उपभोक्ताको हित संरक्षणका लागि थाइल्यान्डलाई आउटबाउण्ट टुरिजमको ‘ब्ल्याकलिस्ट डेस्टिनेसन’ का रूपमा घोषणा गर्दै टुर प्याकेजको बिक्री वितरण र प्रवर्द्धन पूर्णरूपमा स्थगित गर्ने, विज्ञापन, डिजिटल मार्केटिङ तथा सार्वजनिक प्रवर्द्धनात्मक कार्यक्रमहरू रोक्ने, नयाँ ग्रुप बुकिङ तथा टुर सिरिज सञ्चालन पूर्ण रूपमा बन्द गर्ने र नेपाली यात्रुहरूलाई अन्य सुरक्षित, सहज एवं वैकल्पिक अन्तर्राष्ट्रिय गन्तव्यका लागि प्रोत्साहित गर्ने जनाएको छ ।
थाई दूतावासका कारण नेपालीहरूको करोडौँ रकम डुब्ने अवस्था आएको र यसको फाइदा थाइल्यान्डका होटेल, थाईल्याण्डबाट सञ्चालन हुने वायुसेवा कम्पनी आदिले मात्रै नाफा कमाउने अवस्था आएको भन्दै यो लुटबाट बचाउन कूटनीतिक पहल गर्नसमेत आग्रह गरेको छ ।
नाट्टाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘नेपाली ट्राभल एजेन्सीहरूले दशकौँदेखि थाइल्यान्डलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै त्यहाँको पर्यटन उद्योगलाई उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । यसको बदलामा नेपाली यात्रुले सम्मानजनक, समयबद्ध र न्यायोचित भिसा प्रक्रिया पाउनु स्वाभाविक अधिकार हो । तसर्थ, नेपाल सरकार, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं सम्बन्धित कूटनीतिक निकायहरूले थाई सरकार र रोयल थाई एम्बेसीसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी वास्तविक अवस्था स्पष्ट पार्न, आवश्यक छानबिन गर्न र नेपाली यात्रु एवम् व्यवसायीलाई थप आर्थिक क्षतिबाट जोगाउने व्यावहारिक समाधान खोज्न नाट्टा जोडदार माग गर्दछ ।’
नाट्टाले ‘भिसाको ग्यारेन्टी छैन भने जबरजस्ती आर्थिक जोखिम पनि स्वीकार्य छैन’ भन्दै नेपाली यात्रुको रकम, समय र सम्मानको रक्षा गर्नसमेत सरोकारवालालाई आग्रह गरेको छ ।
पछिल्लो समय थाई दूतावासले समेत केही बिचौलिया प्रयोग गरेर भिसा प्रक्रियामा नै सिन्डिकेट गरेर थप आर्थिक भार पार्न खोजेको समेत एक व्यवसायीले बताए ।
दूतावासले भिसामा ढिलाइ गर्दा वा भिसा नदिँदा भिसाका लागि मात्रै काम गर्ने एक संस्थाले हामी भिसा उपलब्ध गराइदिन्छौँ भन्दै सहकार्यका लागि प्रस्ताव ल्याएको ती व्यवसायीले बताए । तर आफूहरूले बिचौलियाको प्रस्ताव अस्वीकार गरेको समेत ती व्यवसायीले बताए ।