
चितवन । अलौकिक उपचार पद्धतीद्वारा क्यान्सर, मिर्गौला, मुटुरोग र मधुमेह, पक्षघातजस्ता जटिल रोगसमेत निको पार्ने दाबी गर्दै आएका सिमान्त केसीले चितवनको राप्ती नगरपालिकासँगको सहकार्यमा उपचार शिविर सञ्चालन गरेपछि स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठेको छ ।
केसीको नेतृत्वमा असोज २१, २२ र २३ गते राप्ती नगरपालिका, खुरखुरेमा रहेको नन्दिनी पाटी प्यालेसमा शिविर सञ्चालन गरिएपछि कार्याक्रमको बैधानिकता र नगरपालिकाको भुमिकामाथि प्रश्न उठेकोे हो ।
‘श्री अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिषी’को आयोजना तथा राप्ती नगरपालिकाको समन्वयमा संचालन गर्न लागिएको उक्त शिविरमा उपचार पद्धतिको वैज्ञानिक आधार, उपचार गर्ने व्यक्तिको योग्यता तथा त्यसको कानुनी मान्यताबारे स्पष्ट जानकारी सार्वजनिक नभएको भन्दै स्थानीयले प्रश्न गरेका छन् ।
विशेषगरी गम्भीर रोगबाट पीडित बिरामी उपचारको अन्तिम आशामा प्रमाणित चिकित्सकीय उपचार छाडेर वा ढिलाइ गरेर कथित ‘चमत्कारी’ उपचारतर्फ आकर्षित हुने जोखिम रहने भन्दै स्थानीयले बिरोध गरेका छन् ।
यस्तो अवस्थामा उपचार प्रभावकारी नभए वा बिरामीको स्वास्थ्य अवस्था थप बिग्रिए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठेको छ । तर, आयोजकलाई शिविर संचालन गर्नका लागि स्वीकृति दिएको नगरपालिकाले भने शिविरमा कुन रोगका लागि कस्तो खालको उपचार हुँदैछ भन्ने कुरा आफुलाई जानकारी नभएको बताउँदै आएको छ ।
वैज्ञानिक रूपमा प्रमाणित उपचार पद्धतिबारे पर्याप्त आधार नहुँदा स्थानीय तहले यस्तो कार्यक्रमलाई सहजीकरण गर्नु उचित हुन्छ कि हुँदैन भन्ने बहस उठेको छ ।
यद्यपी, उपचार विधि बारे जानकारी नभई शिविर सञ्चालन गर्न अनुमति दिनुले नगरपालिकाको भुमिकामाथि नै प्रश्न उठेको छ ।
यस बारेमा बुझ्न खोज्दा राप्ती नगरपालिकाका प्रशासकीय अधिकृत प्रदिप पौडेलले आफुलाई यो विषयमा जानकारी नभएको बताए । उनले भने, ‘यो काम मेयर सापको पहलमा भएको हो । मलाई यस बारेमा थाहा छैन ।’
यस विषयमा जानकारी लिन दियोपोष्टले नगरपालिकाका प्रमुख शेमशेर लामालाई फोन सम्पर्क गर्ने प्रयास गरेको थियो । तर प्रमुख लामा सम्पर्कमा आएनन् ।
तर, प्रमुख लामाकै सचिवालय सदस्य बताउने बिशाल मगरले आफुहरुले सुरक्षा व्यवस्था मिलाइदिनका लागि जिल्ला प्रशासन कार्यालयसंग समन्वय मात्र गरेको बताए । उनले भने, ‘कार्यक्रम आयोजक संस्थाले सुरक्षाका व्यवस्था मिलाइदिनु भनि पत्राचार गरेको थियो । सुरक्षाको जिम्मा जिल्ला प्रशासन कार्यालायले गर्नु पर्ने भएकाले हामीले जिल्ला प्रशासनलाई पत्राचार गरेका मात्रै हौँ ।’
तर, नगरप्रमुख शमशेर लामाद्वारा जिल्ला प्रशासन कार्यालयमा पठाइएको पत्रमा भने शान्ति सुरक्षाको व्यवस्था सहित अनुमति प्रदान गरिदिन आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘शान्ति सुरक्षाको व्यवस्था सहित अनुमति प्रदान गरिदिन आयोजकबाट यस कार्यालयमा अनुरोध भई आएको हुँदा सो सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी अनुमति प्रदान गर्न तथा आवश्यक सहजीकरण गरिदिनुहुन अनुरोध छ ।’

यता, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माले नगरपालिकाको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको व्यवस्था गरिदिएको बताए । उनले भने, ‘हाम्रो जिम्मा शान्ति सुरक्षा उपलब्ध गराउने मात्र हो । नगरपालिकाले पत्राचार गरेका कारण हामीले त्यसको सहजीकरण मात्रै गरेका हौँ । अन्य विषय हाम्रो जिम्मेवारी भित्र पर्दैन ।’

तर, कुनै व्यक्तिको व्यक्तिगत अनुभव वा दाबीलाई उपचार विधिको वैज्ञानिक प्रमाण मान्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि उठिरहेको छ ।
राप्तीमा हुन लागेको शिविरको अर्को महत्वपूर्ण प्रश्न यही हो-नगरपालिकाले कुन आधारमा यस्तो कार्यक्रमसँग सहकार्य गर्यो ? शिविरमा कस्तो उपचार गरिन्छ ? उपचार गर्ने व्यक्तिको औपचारिक योग्यता के हो ? बिरामीबाट कति शुल्क लिइन्छ ? उपचारका लागि कुन स्वास्थ्य निकायबाट अनुमति लिइएको छ ? र स्थानीय सरकारले कार्यक्रमलाई सहजीकरण गर्ने निर्णय कुन कानुनी आधार के हो भन्ने बारेमा कार्यक्रम आयोजक र स्वंयम गुरु भनिएका सिमान्त केसी नै अनविज्ञ छन् ।
उनले तन्त्र मन्त्रबाट रहेक बिरामीलाई निको बनाउने दावी गर्दै आए पनि कुन रोगका लागि कस्तो उपचार पद्धतिबाट उपचार गरिन्छ भन्ने भन्ने बारेमा दियोपोष्टले जिज्ञासा राख्दा केसीले केही खुलाएनन् । कार्यक्रममा आफुलाई अतिथिका रुपमा बोलाइएका कारण तीन दिनका लागि अतिथि भएर जान लागेको उनले बताए ।
कथित उपचारसँग अन्धविश्वास वा ‘बोक्सी’जस्ता सामाजिक मान्यतासँग जोडिएका गतिविधिको चर्चा हुन्छ, यस्ता गतिविधिले सामाजिक विभेद, हिंसा वा गलत उपचारलाई प्रोत्साहन गर्ने जोखिम रहने भएकाले स्थानीय सरकारको भूमिका झन् संवेदनशील बन्न पुगेको छ ।
‘यो नितान्त मानव सेवाको काम हो । मलाई त्यहाँ बोलाइएका कारण जान लागेको हुँ । धर्म प्रति आश्था राख्नेहरु आउनु हुन्छ । मकहाँ आउनेहरु निको भयो भनेर जानु भएको छ,’ उनले भने, ‘तर मैले कुनै पनि रोग निको बनाउँछु भनेर भनेको छैन । उहाँ आश्थाका कारण आउनु हुन्छ ।’
राप्तीमा हुन लागेको कार्यक्रममा ७ हजार मानिसहरु आउन लागेको उनले बताए । ‘यो कार्यक्रममा सिरहा, सप्तरी, बुटबल, गुल्मी, स्याङ्जा लगायतका स्थानबाट भक्तजनहरु आउँदै हुनु हुन्छ । उहाँहरु कार्यक्रममा आउन लागि बस चढिसक्नु भएको छ,’ उनले भने, ‘यो उहाँहरुको विस्वास हो ।’
उनले स्वयंम राप्ती नगरपालिकाका प्रमुख शेमशेर लामाको समेत उपचार गरेको दाबी गरे । ‘मेयर साप पनि निकै समस्याबाट गुज्रिनु भएको थियो । उहाँले धर्म प्रति आश्था राख्नु हुन्छ । मैले उहाँको पनि उपचार गरेको छु । मेरो तन्त्र मन्त्रले उहाँ आफै निको हुनु भएको छ,’ उनले भने ।
आफु स्वयंम निको भएका कारण नगर प्रमुख लामाले आफ्नै नगरपालिकामा कार्यक्रम आयोजना गरेको स्थानीयको आरोप छ । तर यसमा कुनै पनि वैज्ञानिक आधार नभएको उनीहरुको भनाई छ ।
अझ गम्भीर प्रश्न त त्यतिबेला उठ्छ, जब कथित उपचारसँग अन्धविश्वास वा ‘बोक्सी’जस्ता सामाजिक मान्यतासँग जोडिएका गतिविधिको चर्चा हुन्छ, यस्ता गतिविधिले सामाजिक विभेद, हिंसा वा गलत उपचारलाई प्रोत्साहन गर्ने जोखिम रहने भएकाले स्थानीय सरकारको भूमिका झन् संवेदनशील बन्न पुगेको छ ।
यदि शिविरमा सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन वा सुरक्षा निकायसमेत परिचालन हुने हो भने त्यसको कानुनी तथा प्रशासनिक आधारसमेत स्पष्ट हुनुपर्ने देखिन्छ ।
त्यसो त, सिमान्त केसी संलग्न यस्तै प्रकृतिका कार्यक्रम यसअघि पनि विवादमा पर्दै आएका छन् । धनकुटाको पाख्रीबास नगरपालिकामा गत असार २५ देखि २७ गतेसम्म यस्तै प्रकृतिको शिविर सञ्चालन गरिएको थियो । पाख्रीबास नगरपालिका-४ मा आयोजित उक्त शिविरमा नगरप्रमुख ज्ञानबहादुर गुरुङ र वडाध्यक्ष सन्तोष मानन्धरको सहभागिता तथा समर्थन देखिएको भन्दै स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठेको थियो ।
केसीले तारकेश्वर नगरपालिका-७ मनमैजुस्थित आशापुरी चोकसँगैको एक घरमा ‘अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिष प्रालि’ सञ्चालन गरेका छन् । उनीकहाँ हरेक दिन सयौँ मानिस उपचारका लागि आउने गर्छन् । केसीले अन्धविश्वास र भ्रम फैलाएर स्वास्थ्य उपचारका नाममा शुल्क उठाउँदै ठग्ने गरेको आरोप समेत छ ।
टिकटक तथा फेसबुक जस्ता सामाजिक सञ्जालमा गुरुलाई भेट्नासाथ आफुलाई निको भएको भन्दै बिरामीलाई बोल्न लगाएर केसीले भिडियो सार्वजनिक गर्दै आइरहेका छन् । उनले हात र अनुहार हेरेर, शरीर छामेर रोग निको पार्ने भन्दै टिकटकलगायत सामाजिक सञ्जालबाट भिडियो अपलोड गरि भ्रम फैलाइरहेका छन् ।
टिकटक, युट्युबतिर आफ्नो भिडियो हेरेर उपचार गर्न आउने गरेको उनको भनाइ छ । उनीकहाँ पुग्ने धेरैजसो स्तन वा पाठेघरमा समस्या भएका, रगत जाने, सेतो पानी बग्ने, मुटु तथा दमका रोगी, मेरुदण्ड भाँचिएका, प्यारालाइसिस भएका, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी छन् ।
वैज्ञानिक रूपमा प्रमाणित उपचार पद्धतिबारे पर्याप्त आधार नहुँदा स्थानीय तहले यस्तो कार्यक्रमलाई सहजीकरण गर्नु उचित हुन्छ कि हुँदैन भन्ने बहस उठेको छ ।
बिरामीको विश्वास कि वैज्ञानिक प्रमाण ?
गम्भीर रोगसँग जुधिरहेका बिरामी र उनीहरूका परिवारका लागि उपचारको आशा संवेदनशील विषय हो । यही संवेदनशीलताको फाइदा उठाउँदै वैज्ञानिक रूपमा प्रमाणित नभएका उपचार दाबी फैलिन नदिन राज्यका स्वास्थ्य नियामक निकायको भूमिका महत्वपूर्ण हुन्छ ।
राप्तीमा आजदेखि सुरु भएको शिविरले फेरि त्यही प्रश्न अगाडि ल्याएको छ-स्थानीय सरकार जनताको स्वास्थ्य सुरक्षाको नियामक र संरक्षक बन्ने हो कि वैज्ञानिक आधार पुष्टि नभएका उपचार दाबीलाई सार्वजनिक मञ्च उपलब्ध गराउने ? अब राप्ती नगरपालिकाले शिविरको उद्देश्य, उपचार विधि, उपचारकर्ताको योग्यता, अनुमति, शुल्क र आफ्नो सहकार्यको कानुनी आधारबारे स्पष्ट जानकारी सार्वजनिक गर्छ कि गर्दैन भन्ने विषय महत्वपूर्ण बनेको छ ।