दसैँमा एलपी ग्यास वितरण : ११ स्थानबाट सिलिन्डर साट्न सकिने

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका ११ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाइएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले हिजो ६ स्थानबाट सुरु गरेको ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्थालाई आजदेखि थप पाँच स्थानमा विस्तार गरेको हो ।

यसअघि कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण भइरहेको थियो । त्यस्तै, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट पनि सेवा उपलब्ध गराइएको थियो ।

आजदेखि थपिएका पाँच केन्द्रमा बुढानीलकण्ठको चपलीस्थित भानु ग्यास, ललितपुरको हरिसिद्धिस्थित नेपाल र एचपी ग्यास, कलंकीस्थित गीता ग्यास, खसीबजारस्थित नरके ट्रेडर्समा सीताश्री ग्यास र सतुंगलस्थित श्रीमाया ग्यास रहेका छन् ।

संघका अनुसार घटस्थापनादेखि फूलपातीसम्मका लागि यो व्यवस्था लागू गरिएको हो । यसअन्तर्गत उपभोक्ताले आफूले प्रयोग गरिरहेको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन् ।

सिलिन्डर साट्दा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । तर, भरिएको ग्यासको तोकिएको मूल्य भने उपभोक्ताले तिर्नुपर्ने संघले जनाएको छ ।

यो व्यवस्था असोज ३० गते सम्म बिहान ११ बजेदेखि अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुने संघले जनाएको छ ।