
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका-२, माथिल्लो भङ्गालबाट बरामद भएको २१ किलो ७५० दशमलव ६८ ग्राम सुन भन्सार कार्यालयलाई बुझाइएको छ । सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङछिन र ३७ वर्षीय वाङ जियान्झेनलाई भन्सार कार्यालयले म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
बरामद सुन कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने योजना थियो भन्ने विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।
चिनियाँ नागरिकको समूहले तस्करी गरी ल्याइएको धुलो सुनलाई घरभित्रै प्रशोधन गरेर बिस्कुट आकारका ढिक्का बनाउने गरेको थियो । त्यसरी तयार पारिएको सुन तोकिएको स्थानमा पुर्याउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
सुन कहाँ र कसलाई बुझाउने भन्नेबारे चीनबाटै विच्याटमार्फत निर्देशन आउने गरेको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यक्ति संलग्न भए–नभएको तथा सुन तस्करीको सञ्जालबारे थप अनुसन्धान भइरहेको छ ।