
मुगु । मुगुमा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिएका चालकको सकुशल उद्धार गरिएको छ । मुगु-रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज जोड्ने सडक निर्माणका क्रममा खत्याड गाउँपालिका-११ स्थित बिरा खोलामा यो दुर्घटना भएको हो ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८ : ३० बजे माथिबाट अचानक सुक्खा पहिरो खस्दा एक्स्काभेटर र चालक पुरिएका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट खटिएको १३ जनाको प्रहरी टोलीले स्थानीय तथा जेसीबीको सहायताले बिहान १०: ३० बजे पहिरो पन्छाएर चालकको उद्धार गरेको हो ।
पहिरोमा पुरिएर बझाङका २४ वर्षीय चालक विमल बोहरा गम्भीर घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, रातापानी पठाइएको छ ।
त्यसैगरी, सोही दुर्घटनामा परी एक्स्काभेटरका सहचालक (मुगुको सोरु गाउँपालिका–१ का २२ वर्षीय विनय मल्ल) समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।