
रौतहट । बैंक तथा वित्तीय संस्थाका कर्मचारी भएको नक्कली परिचय दिएर केवाइसी (ग्राहक पहिचान विवरण) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाताबाट रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार गत शुक्रबार (असोज २३) प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका-३ पोखरिया टोल र वडा नं. ५ को कोईरी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको बैरगनिया घर भई हाल गौर नगरपालिका-३ मा डेरा गरी बस्ने २१ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका-५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन् ।
प्रहरीका अनुसार यस घटनामा हालसम्म २२ वटा उजुरी प्राप्त भएका छन् । ती उजुरीका आधारमा ४९ लाख ६७ हजार ३३३ रुपैयाँ ठगी भएको विवरण सार्वजनिक गरिएको छ । ठगी भएको रकमको अन्तिम पुष्टि तथा पक्राउ परेकाहरूको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले बैंक तथा ई-सेवाका कर्मचारी भएको भन्दै सर्वसाधारणलाई फोन गर्ने र बैंक खाता अद्यावधिक गर्नुपर्ने बहानामा विश्वासमा लिने गरेका थिए । त्यसपछि ह्वाट्सएपमार्फत भिडियो कल गरी मोबाइलमा आएको ओटीपी कोड, बैंकिङ विवरण तथा स्क्रिन सेयर गर्न लगाएर खातामा अनधिकृत पहुँच पुर्याउने गरेको आरोप छ।
अनुसन्धानमा मोबाइल बैंकिङ एपको ‘रिसेट ओल्ड डिभाइस’ प्रक्रियाको दुरुपयोग गरी खातामा पहुँच बनाउने प्रयाससमेत गरेको खुलेको प्रहरीले जनाएको छ । यसरी प्राप्त विवरणको प्रयोग गरी खातामा रहेको रकम अन्य व्यक्तिका खातामा स्थानान्तरण गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
प्रहरीका अनुसार ठगीबाट प्राप्त रकम अमेरिकी डलरमा रूपान्तरण गरी बाइनान्स एपमार्फत क्रिप्टो कारोबारमा लगाउने गरेको हुन सक्ने आशंका छ। उनीहरूले योजनाबद्ध रूपमा समूह बनाएर काम बाँडफाँट गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
नगद, मोबाइल र चेकबुक बरामद
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले नेपाली रुपैयाँ एक लाख ६२ हजार २२० र भारतीय रुपैयाँ तीन हजार २३६ बरामद गरेको छ ।
त्यसैगरी, सात थान मोबाइल फोन, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थाका ३० वटा चेकबुक, तीनवटा एटीएम कार्ड र दुई थान पेनड्राइभ बरामद गरिएको छ।
प्रहरीले रकमको हिसाबकिताब राखिएको एउटा डायरी, विभिन्न व्यक्तिको नाम उल्लेख भएका नौवटा कापी तथा बैंकिङ कारोबारसँग सम्बन्धित अन्य कागजात पनि फेला पारेको जनाएको छ । बरामद सामग्रीमा प्रभु बैंकको १६ हजार रुपैयाँको चेक र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेकसमेत रहेका छन्।

मोबाइल फोन, सिमकार्ड, चेकबुक तथा अन्य कागजातको परीक्षणबाट ठगीमा प्रयोग भएका सम्पर्क माध्यम र आर्थिक कारोबारबारे थप विवरण खुल्न सक्ने प्रहरीको भनाइ छ।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान र खोजतलास भइरहेको जनाएको छ।
यस घटनापछि प्रहरीले सर्वसाधारणलाई केवाईसी अपडेट गर्ने बहानामा आउने अपरिचित फोन, सन्देश तथा भिडियो कलप्रति सचेत रहन आग्रह गरेको छ। बैंक वा वित्तीय संस्थाका कर्मचारी भएको दाबी गर्ने व्यक्तिलाई ओटीपी कोड, पासवर्ड वा अन्य गोप्य बैंकिङ विवरण नदिन तथा अपरिचित व्यक्तिको निर्देशनमा मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ।
बैंकिङ विवरणसम्बन्धी कुनै जानकारी वा अनुरोध प्राप्त भएमा सम्बन्धित संस्थाको आधिकारिक सम्पर्क माध्यमबाट पुष्टि गर्न र शंकास्पद गतिविधिबारे तत्काल बैंक तथा प्रहरीलाई जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ।