
काठमाडौं- चाडपर्व (विशेष गरी दसैँ) को सङ्घारमा जब घर फर्कने र अत्यावश्यकीय सामग्री ओसारपसार गर्ने सर्वसाधारणको चाप ह्वात्तै बढ्छ, तब सडक तथा पुलजस्ता यातायातका आधारभूत पूर्वाधार नागरिक जीवनका मुख्य पर्याय बन्छन्। तर, धादिङ सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य धमनी मानिने फुर्केखोला (मलेखु) को पुल गत भदौ १० गतेको भीषण बाढीले बगाएपछि धादिङबासीले सास्ती व्यहोरिरहेका छन्। विद्यार्थी, बिरामी, यात्रु र व्यवसायी जोखिमपूर्ण वैकल्पिक बाटो तथा झोलुङ्गे पुलमा निर्भर भएका छन्।
विद्यार्थी, बिरामी, सर्वसाधारण यात्रु र व्यवसायी अहिले जोखिमपूर्ण वैकल्पिक बाटो तथा झोलुङ्गे पुलमा निर्भर हुन बाध्य छन्। पक्की पुल बगेपछि सदरमुकाम धादिङबेँसीसहित जिल्लाका उत्तरी तथा मध्य भागका आठ स्थानीय तह- नीलकण्ठ नगरपालिकासहित सिद्धलेक, ज्वालामुखी, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, गङ्गाजमुना, खनियाबास र रुवीभ्याली गाउँपालिका राष्ट्रिय राजमार्गको सहज पहुँचबाट अलगथलग भएका छन्। यसको प्रत्यक्ष असर छिमेकी जिल्ला गोरखाका विभिन्न क्षेत्रका बासिन्दालाई समेत परेको छ।

अहिले धादिङबेँसी जाने यात्रु तथा मालवाहक सवारी साधनहरू २८ किलोमिटर कच्ची र अत्यन्त जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्, जसका कारण समय, गाडी भाडा र दैनिकी उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ। यातायात सहज नहुँदा यसको असर बजारमा मात्रै होइन, प्रत्यक्ष सर्वसाधारणको भान्सासम्म परेको छ। माझटारको जोखिमपूर्ण बाटो घुमेर सामान ल्याउँदा प्रतिकिलो डेढदेखि दुई रुपैयाँसम्म थप ढुवानी खर्च लागिरहेको व्यवसायीहरू बताउँछन्। गाडीहरू आउन नमान्दा खाद्यान्न, खाना पकाउने ग्यास, तेल, नुन, मलखाद, पेट्रोलियम पदार्थ तथा कुखुराको दानाजस्ता अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ।
आइतबार बुढीगण्डकीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटको पुल बगाउनासाथ हेटौँडाबाट बेलिब्रिज ढुवानी गर्ने प्रक्रिया सुरु भयो। सो कार्यमा आफ्नो पनि सतर्कता र अग्रसरता रहेको दाबी गर्दै सांसद श्रेष्ठले भिडियो सन्देश सार्वजनिक गरे। तर, यो सन्देशले उनैलाई गम्भीर रूपमा ‘ब्याकफायर’ गरेको छ।
महिनौँदेखि सदरमुकाम जोड्ने फुर्केखोलाको पुल अलपत्र छाडेर आरुघाटको तुलनात्मक रूपमा सानो पुलमा द्रुत काम देखाउँदै जस लिन खोजेको भन्दै धादिङका स्थानीयहरूले सामाजिक सञ्जालमा उनीमाथि तीव्र आलोचनाको वर्षा गराएका हुन्।
भिडियोमा बोल्दै उनले भनेका छन्, “आरुघाटको पुल बगाएपछि धादिङलाई जोड्ने माध्यम टुटेको छ। हामीले काठमाडौँमा बसेर एनडीआरआरएमए, स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिसँग दिनभर काम गर्यौँ। प्राविधिक टोलीले बेलिब्रिज राख्न उपयुक्त हुने बताएको छ र भोलि बेलुकासम्म हेटौँडाबाट बेलिब्रिज आएर तत्काल जडान सुरु हुनेछ।”
आरुघाटको पुल मर्मत हुनु गोरखा र धादिङको सीमावर्ती क्षेत्रका लागि स्वागतयोग्य भए पनि धादिङबेँसी जोड्ने फुर्केखोलाको पुल ठप्प हुँदा सिङ्गो जिल्लाको अर्थतन्त्र र जनजीवन अस्तव्यस्त छ। चाडपर्वका बेला सदरमुकाम र राजमार्ग जोड्ने सडक सञ्जाल सधैँ पहिलो प्राथमिकतामा पर्नुपर्ने स्थानीयको तर्क छ।

खेम धमलाले कडा शब्दमा लेखेका छन्, “धादिङबेँसीदेखि राजमार्ग जोड्ने, धादिङका जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको फुर्के खोलाको पुल कहिले बन्छ? पुल नहुँदा स्थानीय जनता महँगीको मारमा छन्। भाषण र सामाजिक सञ्जालका अभिव्यक्ति धेरै सुनिसक्यौँ। पहिला फुर्के खोलाको पुल बनाउने प्रतिबद्धता पूरा गर्नुहोस्, त्यसपछि जनतामाझ आउनुहोस्।”
केशव अधिकारी ले स्पष्टता माग गर्दै लेखेका छन्, “माननीयज्यू, अब फुर्केखोला पुलको पछिल्लो अवस्थाको जानकारी दिनुपर्यो। प्रोसेस कहाँ पुग्यो? प्रस्ट पारिदिनुभयो भने अन्यौल हराउने थियो।”
प्रकाश तिवारीले यातायात ठप्प भएपछि उत्पन्न आर्थिक सास्ती व्यक्त गर्दै लेखेका छन्, “मेरो त अब विकल्प मर्नुभन्दा केही नहोला जस्तो भयो, सबै लगानी डुब्यो!”

अर्कोतर्फ, उनले जारि गरेको भिडियोलाई लक्षित गर्दै, विपत्तिको घडीमा जनप्रतिनिधिहरू सामाजिक सञ्जालमा टेलिभिजन प्रस्तोता वा समाचार वाचकजस्तो बनेर ‘भिडियो ब्रिफिङ’ दिनभन्दा धरातलमा पुगेर परिणाममुखी काममा खटिनुपर्ने नागरिकको बुझाइ छ।
कुमार थापा प्रश्न गर्छन्, “ए बोधनारायण जी, तपाईं टिभी एंकर हो कि माननीय हो? सूचना दिनेभन्दा फिल्डमा गएर एक्सन लिनुस्, जनतासँग भिजेर काम गर्नुस् न कि बोलेर गिदी खाउनुस्।” यस्तैगरि, ठाकुर दाहाल थप्छन्, “गफ होइन काम गरेर देखाऊ, सबैलाई थाहा छ बोलिरहन आवश्यक छैन।”
यता, रामबहादुर श्रेष्ठले हैसियत देखाउन आग्रह गर्दै लेखेका छन्, “जनताले भोट फेसबुक र युट्युबमा पोस्ट हेर्न दिएका होइनन्, फुर्के खोलामा पुल खोजेका हुन्।” यसैगरी, गायत्री खतिवडा ले व्यङ्ग्य गर्दै लेखेकी छिन्, “गजब भएछ! धादिङको पुलबारे थाहा छैन, गोर्खाको पुलको ब्रिफिङ! नयाँ राजाहरूको हैसियत देखियो।”

सांसद श्रेष्ठ सचिवालयकाअनुसार फुर्केखोलामा ११४ मिटर र २२ मिटरका दुई खण्ड भएकाले त्यति लामो बेलिब्रिज स्टकमा नभएको र प्राविधिक रूपमा छिटो सम्भव नभएको तर सांसद श्रेष्ठ यस कार्यमा लागिरहेको दियोपोष्टलाई बताएको छ। यसैगरी, सडक विभागले पनि स्टक लम्बाई नपुगेको स्वीकार गरेको छ।
तर, सिद्धलेख गाउँपालिकाले कार्यपालिकाबाटै निर्णय गराएर घाटबेँसीको आधा बगेको पुलमा बेलिब्रिज हालेर दूरी २८ किमिबाट ४ किमिमा झार्ने विकल्प दिँदा पनि चासो नदिनुलाई नागरिकले सांसदको कार्यक्षमता अभावका रूपमा हेरेका छन्।
गंगा एल. गुरुङले लेखेका छन्, “गुरुङ दाई (गृहमन्त्री सुधन गुरुङ) को जिल्ला (गोरखा) हो नि, नबनेर हुन्छ? आजै सुरु हुन्छ। धादिङबेँसी त ‘मै मै मै’ भन्ने मात्रै छ। फुर्के खोलामा सम्भव नभए घाटबेँसीमा त मिल्थ्यो नि महोदय, पोखरा जाँदा दिनभरी आरुघाट गोरखा घुम्नुपर्या छ!”

माधव गुरुङले प्राविधिक तथा आर्थिक पक्षबारे विस्तृत विश्लेषण गर्दै लेखेका छन्, “धादिङबेंसी जोड्नका लागि त्रिशुलीमा पुल बनाउने कुरा र आरूघाटको पुल मर्मत गरेर धादिङबेंसी जोड्ने कुरा एउटै होइन। आकस्मिक रूपमा आरूघाटको बाटो विकल्प हुन सक्छ तर जिल्लालाई राजधानी र अन्य प्रमुख सहरहरूसँग जोड्नका लागि आर्थिक र व्यावहारिक पक्षलाई नजरअन्दाज गर्न मिल्दैन। तत्काल सरकारले छोटो र प्रभावकारी मार्गको व्यवस्था गर्न सक्दैन भने लामो सडक प्रयोग गरेबापत मालसामान ढुवानी तथा यात्रु भाडादरमा छुट वा अनुदानको कुरा गरौँ।”

हेमन्त अधिकारी क्षेत्रीले सांसद बोधनारायण श्रेष्ठ, बासुमाया तामाङ र सभामुख डोलप्रसाद अर्यालजस्ता शक्तिशाली जनप्रतिनिधिहरू हुँदा पनि धादिङ सधैँ ओझेलमा परेको भन्दै स्पष्ट कार्ययोजना ल्याउन वा राजीनामा दिनसम्मको चेतावनी दिएका छन्। “तपाईंहरूले पाएको यो जिम्मेवारी र अवसर कतै रवि लामिछानेको राजनीतिक बलले सभामुख र सभामुखको बलमा तपाईंले पाउनुभएको आकस्मिक मौका मात्र त थिएन?..फुर्के खोलामा वास्तवमा के भइरहेको छ? विदेशमा बस्ने नेपालीहरूले समेत छर्लङ्ग देख्ने गरी पारदर्शी र प्रभावकारी काम गरेर देखाउनुहोस्, आखाँमा छारो हाल्ने काम बन्दहोस्, बुढीगण्डकी क्षेत्रमा भएको ठूलो क्षतिलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ, त्यसको स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुहोस्”।
केही प्रयोगकर्ताहरूले भने संकटको घडीमा छिटो पहल गरेकोमा धन्यवाद दिँदै सकारात्मक प्रतिक्रिया पनि दिएका छन्।

प्राकृतिक विपत्ति कसैको हातमा हुँदैन, तर विपत्तिपछिको चुस्त व्यवस्थापन र द्रुत पुनर्निर्माण नै जनप्रतिनिधिको कार्यक्षमता नाप्ने कसी हो। सांसद श्रेष्ठ र रास्वपा नेतृत्वले सामाजिक सञ्जालका यी आक्रोशलाई केवल राजनीतिक विरोधीको टिप्पणी नमानी जनताको वास्तविक पीडा र चेतावनीका रूपमा लिनु आवश्यक छ।
आरुघाटमा बेलिब्रिज निर्माणका लागि देखाइएको तत्परता आफैँमा सराहनीय छ। तर, सदरमुकाम जोड्ने मुख्य धमनी मानिने फुर्केखोला वा घाटबेँसीको वैकल्पिक विन्दुबाट तत्काल यातायात सुचारु गर्नुका साथै फुर्केखोलामा दीर्घकालीन पक्की पुल निर्माणको प्रक्रियालाई दु्रत गतिमा अघि बढाउनु नै अहिले धादिङबासीको पहिलो र मुख्य माग बनेको छ।
