
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
समितिले कार्यविधिअनुसार १० दिनको समय दिएर उजुरी आह्वान गर्ने र आगामी कात्तिक ९ गते सार्वजनिक माध्यमबाट सूचना प्रकाशन गर्ने जनाएको छ ।
न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि उनीहरूको नियुक्तिसम्बन्धी प्रक्रिया अघि बढ्नेछ ।