म्याक्ससको १६ सिटे विद्युतीय मिनिबस नेपाली बजारमा, मूल्य ६९ लाख ५० हजार

दियोपोस्ट संवाददाता

काठमाडौँ । हिमालय मोट्रोक्स प्रालिले १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ईडेलिभर ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । हिमालय अर्गनाइजेसनअन्तर्गतको कम्पनीले सार्वजनिक गरेको उक्त मिनिबसको मूल्य ६९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा र प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा मिनिबस सार्वजनिक गरेका हुन्  । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीको पनि उपस्थिति थियो ।

होटल, रिसोर्ट, पर्यटन तथा व्यावसायिक यातायात क्षेत्रमा प्रयोग गर्न उपयुक्त हुने गरी निर्माण गरिएको यस मिनिबसमा आधुनिक सुविधा, यात्रुको आराम र सुरक्षालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।  विद्युतीय कारमा पाइने सुविधासमेत उपलब्ध गराइएको यस मिनिबसमा आधुनिक बनावट, सुविधासम्पन्न भित्री संरचना र उन्नत सुरक्षा प्रविधि समावेश छन् ।

१२.३ इन्चको टचस्क्रिनसहित आधुनिक सुविधा

म्याक्सस ईडेलिभर ५ मा १२.३ इन्चको स्पर्श पर्दा जडित मनोरञ्जन प्रणाली राखिएको छ । यसले ब्लुटुथ, युएसबी, ताररहित एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा समर्थन गर्छ ।

त्यस्तै, चार तहमा मिलाउन सकिने स्टेरिङ, आधुनिक चालक कक्ष, स्टेरिङमै जडित नियन्त्रण स्विचलगायत सुविधा उपलब्ध छन् । यी सुविधाले चालकलाई सहज रूपमा सवारी सञ्चालन गर्न र यात्रुलाई आरामदायी यात्रा अनुभव प्रदान गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ ।

एकपटकको चार्जमा ४०० किलोमिटरसम्म यात्रा

मिनिबसमा ६४ किलोवाट आवर क्षमताको सीएटीएल कम्पनीले उत्पादन गरेको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार एनईडीसी परीक्षण मापदण्डअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

यसले अधिकतम १२० किलोवाट शक्ति र २४० एनएम टर्क उत्पादन गर्छ । मिनिबसमा ७० किलोवाट क्षमतासम्मको द्रुत चार्जिङ सुविधा छ । उक्त सुविधामार्फत ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

सुरक्षाका आधुनिक प्रविधि

मिनिबसमा ३६० डिग्री दृश्य दिने क्यामेरा, स्वचालित आपत्कालीन ब्रेक प्रणाली, अगाडिको सम्भावित ठक्करबारे चेतावनी दिने प्रणाली, अनुकूल गतिनियन्त्रण प्रणाली र लेनबाट बाहिरिँदा चेतावनी दिने प्रविधि राखिएको छ ।

त्यसैगरी, लेनमै सवारी कायम राख्ने सहायता प्रणाली, आपत्कालीन लेन नियन्त्रण र चालकको अवस्थाको निगरानी गर्ने प्रविधि पनि उपलब्ध छन् । चालक र अगाडिको यात्रुका लागि एयरब्याग, विद्युतीय स्थिरता नियन्त्रण प्रणाली तथा टायरको हावाको चाप निगरानी गर्ने प्रणालीसमेत समावेश गरिएको छ ।

मिनिबसको ग्राउन्ड क्लियरेन्स अर्थात् जमिनबाट गाडीको तल्लो भागसम्मको उचाइ २०० मिलिमिटर रहेको छ । यसमा सबै चक्कामा एलोय ह्विल जडान गरिएको कम्पनीले जनाएको छ ।

ब्याट्रीमा आठ वर्षको वारेन्टी

कम्पनीका अनुसार मिनिबसको ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टी उपलब्ध छ । यसले विद्युतीय व्यावसायिक सवारीसाधन प्रयोग गर्न चाहने व्यवसायीलाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ ।

विश्वप्रसिद्ध एसएआईसी समूहअन्तर्गतको म्याक्सस कम्पनीले चीनमा उत्पादन गर्ने यस सवारीसाधनमा उपलब्ध सुविधा र मूल्यलाई प्रतिस्पर्धी विकल्पका रूपमा प्रस्तुत गरिएको हिमालय मोट्रोक्सको दाबी छ ।

कम्पनीले यसअघि नेपाली बजारमा म्याक्सस ईटेरेन ९ विद्युतीय पिकअप पनि सार्वजनिक गरिसकेको छ । म्याक्ससको शोरुम काठमाडौँको हात्तीसारमा रहेको छ ।

नयाँ मिनिबस सार्वजनिक गर्दै हिमालय अर्गनाइजेसनले नेपालभर आधुनिक सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको अवस्थामा यस्ता मिनिबसले पर्यटन, होटल तथा व्यावसायिक यात्रुवाहक यातायात क्षेत्रमा सेवा विस्तार गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।