पृथ्वी राजमार्गको गलौंदी क्षेत्र आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं-५ गलौंदी क्षेत्रमा आज राति ६ घण्टा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार गलौँदीस्थित सडकखण्डमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म राजमार्गमा सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको हो ।

त्रिशूली नदीको कटानका कारण गलौँदीमा सडक भासिएपछि मर्मतसम्भार गरी राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । भासिएको सडकको माथिल्लो भाग कटान गरेर यातायात सञ्चालनमा ल्याइए पनि थप मर्मत गर्नुपर्ने भएकाले रातिको समयमा सडक बन्द गर्न लागिएको हो ।

गत शुक्रबार साँझ त्रिशूली नदीले सडक कटान गर्दा गलौँदीमा पृथ्वी राजमार्गको करिब १०० मिटर भाग चर्किएको र करिब २० मिटर सडक भासिएको थियो । त्यसपछि अवरुद्ध भएको राजमार्ग आइतबार दिउँसोदेखि सञ्चालनमा आएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सडक बन्द हुने समयमा वैकल्पिक व्यवस्था मिलाउन तथा यात्रालाई सोहीअनुसार व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, सडक बन्द हुँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ ।