प्रिय,
बालेन शाह !
तपाईं देशको नेतृत्व गर्ने सम्भावनाबारे अहिले विभिन्न तहमा चर्चा भइरहेको छ। विशेषगरी तपाईं जस्तो युवा, ऊर्जावान र परिवर्तनप्रति प्रतिबद्ध व्यक्तित्वले भविष्यमा देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सक्नुहुन्छ भन्ने अपेक्षा धेरै नेपाली नागरिकहरूले गरेका छन्। यही सम्भावनालाई सम्मान गर्दै म तपाईंलाई अग्रिम बधाई दिन चाहन्छु।
चुनावी अभियानका क्रममा देशका विभिन्न भू-भागमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने क्रममा तपाईंले गाउँ-गाउँका गरिब, निमुखा, भोका र अभावमा बाँचिरहेका नागरिकहरूको वास्तविक जीवन देख्नुभएको होला। सन्तान गुमाएर आँसु झारिरहेका वृद्ध आमाहरू, उपचारको अभावमा छटपटाइरहेका बिरामीहरू, रोजगारीको खोजीमा भौतारिरहेका युवाहरू र उज्यालो भविष्यको सपना देखिरहेका साना नानीबाबुहरूको आँखामा लुकेको आशा पनि तपाईंले अवश्य देख्नुभएको होला। ती आँसु, ती वेदना र ती सपनाहरूलाई तपाईंले केवल देख्नु मात्र भएन होला, गहिरो रूपमा महसुस पनि गर्नुभएको छ भन्ने विश्वासका साथ म यो पत्र लेख्दैछु।
एक सामान्य नागरिकका रूपमा मेरो अपेक्षा कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको छैन। यो अपेक्षा केवल देश, समाज र नागरिकको सुरक्षासँग सम्बन्धित छ। तपाईंले झापा क्षेत्र नम्बर ५ बाट अत्यन्तै ठूलो जनसमर्थनका साथ संसदमा प्रवेश गर्नुभएको छ। त्यो विजय केवल चुनावी परिणाम मात्र होइन, जनताले तपाईंमाथि राखेको विश्वास, आशा र परिवर्तनको आकांक्षाको प्रतिविम्ब हो। जनताले तपाईंलाई मत दिएर केवल प्रतिनिधि मात्र बनाएका छैनन्, उनीहरूले तपाईंलाई आफ्नो सपना बोकेर अघि बढ्ने जिम्मेवारी पनि दिएका छन्।
त्यसैले हामी विश्वास गर्छौं, तपाईं त्यो विश्वासलाई कहिल्यै तुहिन दिनुहुने छैन।
प्रधानमन्त्री भएर देशको नेतृत्व गर्ने जिम्मेवारी तपाईको काँधमा आउँदैछ । त्यो केवल पद र प्रतिष्ठाको विषय मात्र हुनेछैन । त्यो करोडौं नेपाली नागरिकको जीवन, सुरक्षा र भविष्यसँग जोडिएको गम्भीर जिम्मेवारी हुनेछ। विशेषगरी नागरिकको जीवन रक्षा राज्यको पहिलो कर्तव्य हो। यही सन्दर्भमा म तपाईंको ध्यान नेपालमा बढ्दै गएको सडक दुर्घटनाको समस्यातर्फ आकर्षित गराउन चाहन्छु।
नेपालमा हरेक वर्ष हजारौँ मानिसहरूले सडक दुर्घटनाका कारण आफ्नो अमूल्य जीवन गुमाइरहेका छन्। ती मृतकहरू केवल तथ्यांकका अंक होइनन् । उनीहरू हाम्रा छिमेकी, आफन्त, साथी, परिवारका सदस्य र समाजका सक्रिय सदस्य हुन्। कसैको छोरा, कसैको बुबा, कसैको दाजु, कसैको श्रीमती र कसैको भविष्य।
दुर्भाग्यवश आजको वास्तविकता के छ भने बस, ट्रक, टिपर, माइक्रोबस र अन्य सवारीसाधनहरूको लापरवाहीका कारण निर्दोष नागरिकहरूले ज्यान गुमाउने घटना दिनदिनै दोहोरिरहेका छन्। ती दुर्घटनाहरू कहिलेकाहीँ चालकको असावधानीका कारण हुन्छन्, कहिलेकाहीँ यातायात व्यवस्थाको कमजोरीका कारण, त कहिलेकाहीँ कडा कानुनी अभावका कारण हुन्छन् ।
तर यसभन्दा पनि पीडादायी कुरा के छ भने-दुर्घटनामा कसैको ज्यान गुमेपछि त्यसको अन्तिम निष्कर्ष प्रायः केही लाख रुपैयाँ क्षतिपूर्ति र सीमित सजायमै टुंगिने अवस्था देखिन्छ। यस्तो व्यवस्थाले मानव जीवनको मूल्य अत्यन्त सस्तो बनाइदिएको जस्तो अनुभूति गराउँछ।
आजको व्यवस्थामा प्रायः दुर्घटनापछि पीडित परिवारलाई करिब छ लाख रुपैयाँ जति रकम क्षतिपूर्ति दिइन्छ र त्यसैलाई समाधानको रूपमा प्रस्तुत गरिन्छ। तर प्रश्न उठ्छ, के कुनै मानिसको जीवनको मूल्य केवल केही लाख रुपैयाँ मात्र हो?
सडक दुर्घटनामा ज्यान गुमाउने व्यक्ति कोही इन्जिनियर हुन सक्छन्, कोही शिक्षक, कोही प्लम्बर, कोही मजदुर, कोही व्यापारी वा कोही भविष्यका सपनाले भरिएका विद्यार्थी पनि हुन सक्छन्। कहिलेकाहीँ त साना नानीबाबुहरू पनि यस्ता दुर्घटनाका शिकार बन्ने गरेका छन्।
उनीहरू आफ्ना परिवारका आधारस्तम्भ हुन्। उनीहरू कसैका लागि आशा हुन्, कसैका लागि भरोसा हुन्, कसैका लागि भविष्य हुन्।
एउटा दुर्घटनाले कहिलेकाहीँ दुई परिवारको जीवन नै तहसनहस पारिदिन्छ। ज्यान गुमाउने व्यक्तिका आमा-बुबा जीवनभरका लागि शोकमा डुब्छन्, श्रीमती विधवा हुन्छिन्, छोराछोरी टुहुरा बन्छन्, परिवारको आर्थिक आधार अचानक समाप्त हुन्छ। यस्तो पीडा कुनै रकमले भरपाई गर्न सक्दैन।
हालै इटहरी प्रहरी कार्यालयमा भएको एउटा दुर्घटनासम्बन्धी घटनाले मलाई अत्यन्त विचलित बनायो। त्यहाँ यातायात संघका प्रतिनिधि र प्रहरीबीच दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको क्षतिपूर्तिबारे छलफल भइरहेको थियो। तर त्यो छलफल हेर्दा यस्तो अनुभूति भयो मानौँ मानिसको ज्यानको मूल्य तोक्ने प्रयास भइरहेको थियो ।
त्यहाँ धनकुटाका एक इन्जिनियर र मोरङका एक प्लम्बरले दुर्घटनामा ज्यान गुमाएको जानकारी पाइएको थियो। तर जब उनीहरूको जीवनलाई पैसामा तौलिने जस्तो अवस्था देखियो, त्यसले मेरो मन निकै दुखी बनायो।
एक नागरिकको रूपमा त्यो दृश्यले मलाई गहिरो पीडा र आक्रोश दुवै महसुस गरायो।
मानव जीवन कुनै वस्तु होइन, जसलाई पैसाको आधारमा मूल्यांकन गर्न सकियोस्। तर आजको व्यवहार र कानुनी प्रक्रियाले कहिलेकाहीँ यस्तै संकेत गरिरहेको जस्तो देखिन्छ। दुर्घटनामा ज्यान गएपछि केही रकम दिएर मुद्दा मिलाउने प्रवृत्तिले पीडित परिवारको न्यायको अधिकारलाई कमजोर बनाइरहेको छ।
अझ दुःखको कुरा, यस्तो प्रक्रियामा यातायात संघहरूको प्रभाव र दबाबको चर्चा पटक-पटक सुनिन्छ। जब शक्तिशाली संस्थाहरूको दबाब कानुनभन्दा माथि देखिन थाल्छ, तब सामान्य नागरिकको न्यायप्रतिको विश्वास कमजोर हुन थाल्छ।
त्यसैले हामी जस्ता नागरिकहरूले तपाईं जस्तो नयाँ सोच, स्पष्ट दृष्टिकोण र दृढ इच्छाशक्ति भएको नेतृत्वबाट ठूलो आशा राखेका छौँ।
सडक दुर्घटनासम्बन्धी कानुनलाई समयानुकूल, कडा र न्यायपूर्ण बनाइयोस्। चालकको लापरवाही, मादक पदार्थ सेवन गरेर गाडी चलाउने प्रवृत्ति, अत्यधिक गति र गैरजिम्मेवार व्यवहारप्रति कठोर कारबाही सुनिश्चित गरियोस्।
त्यसैगरी पीडित परिवारलाई न्याय दिलाउने प्रणालीलाई पनि अझ प्रभावकारी बनाइनु आवश्यक छ। क्षतिपूर्तिको रकम मात्र समाधान होइन । कानुनी उत्तरदायित्व र निवारक उपायहरू अझ बलियो बनाइनुपर्छ।
सबैभन्दा महत्वपूर्ण कुरा-यस्तो संवेदनशील विषयमा निर्णय गर्दा तपाईं अघिल्ला सरकारहरूजस्तो कुनै पनि दबाब वा प्रभावमा पर्नुहुने छैन भन्ने हामी नागरिकहरूको विश्वास छ।
मानव जीवनको मूल्य केही लाख रुपैयाँमा सीमित हुन नदिनुहोला । यस्तो कानुन बनोस् जसले जीवनको सम्मान, न्यायको सुनिश्चितता र जिम्मेवारीको भावना समाजमा बलियो बनाओस्।
हामी तपाईं जस्तो नेतृत्वबाट यही अपेक्षा गर्छौं—कि तपाईंले नागरिकहरूको आवाज सुन्नुहुनेछ, उनीहरूको पीडालाई बुझ्नुहुनेछ र देशलाई सुरक्षित, न्यायपूर्ण र मानवीय दिशामा अघि बढाउनुहुनेछ।
हामी आशा गर्छौं कि यो पत्रमा व्यक्त गरिएको नागरिकको भावनालाई तपाईंले गम्भीर रूपमा लिनुहुनेछ र आवश्यक सुधारका लागि पहल गर्नुहुनेछ। धन्यवाद।
अजय निरौला
इटहरी, नेपाल