बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजरः अतिक्रमण हटाउने अभियानको दोस्रो चरण सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको कडा उपस्थितिमा डोजर चलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अधिकार क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाउने उद्देश्यसहित बुधबार नै सूचना जारी गर्दै बस्ती खाली गर्न बिहीबार साँझसम्मको समयसीमा तोकेको थियो।

प्रशासनको सूचनापछि प्रभावित बासिन्दाहरूले आफ्नो सामान सार्ने काम तीव्र पारेका थिए, जुन प्रक्रिया शुक्रबार बिहानसम्म पनि जारी रहेको छ। बस्ती हटाउन ठूला डोजर (जेसीबी) तैनाथ गरिएका छन्।

काठमाडौँ उपत्यकामा नदी किनार तथा अतिक्रमित क्षेत्रमा रहेका सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानअन्तर्गत दोस्रो चरणको काम आजबाट सुरु गरिएको हो।

यस चरणमा टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरी लगायतका क्षेत्रमा अतिक्रमित जग्गा खाली गराउने तयारी गरिएको छ।

यसअघि पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रमा रहेका बस्तीहरू हटाइसकिएको थियो।