सगरमाथा भेटिएका आरोहिका ४ वटा शव त्रिवि अस्पताललाई, ११ टन फोहोर संकलन !

दियोपोस्ट संवाददाता  

नेपाली सेनाको अगुवाईमा सञ्चालित सफा हिमाल अभियान २०२४ मा सहभागी टोलीले हालसम्म फेला पारेको आरोहिका चारवटा शव त्रिवि शिक्षण अस्पताललाई बुझाएको छ । सगरमाथा र ल्होत्से हिमालमा फेला परेका शव परिक्षणको लागि सेनाले चारवटै शव अस्पतालको फरेन्सिक ल्याबलाई बुझाएको हो ।

सगरमाथा क्षेत्रमा फेला परेका ति शव वर्षौ पुराना भएको हुनसक्ने नेपाली सेनाका सुचना अधिकारी गौरव कुमार केसीले बताए । ‘हाम्रो टोलीले यसवर्ष फेला पारेका ति शवहरु यस वर्षको नभई पुराना हुन् । शव पुराना भएकोले ठ्याक्कै चिन्न सकिन्न । विदेशीहरुको जस्तो लाग्छ’ उनले भने, ‘कति वर्ष पुराना र कुन देशका नागरिकका हुन् भन्नेबारे चाहि फरेन्सिक जाँचपछि मात्र थाहा हुन्छ ।’

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयका अनुसार सगरमाथा क्षेत्रबाट हालसम्म चारवटा शव र ११ टन फोहोर संकलन गरिएको छ । अभियानमा गएको टोली आगामी शाता फर्किने समेत सुचना अधिकारी केसीले बताए । ‘हाम्रो टोली हिमालबाट अर्को हप्ता अर्थात् २०÷२१ गते काठमाडौ पुग्ने कार्यक्रम छ’ उनले भने, ‘२३ गते हामीले अभियान समापन गर्छौ । मौसम सफा रह्यो भने उहाँहरु समयमै यता पुग्नुहुन्छ ।’

यस वर्षको सफा हिमाल अभियान गत चैत २९ गतेबाट सुरु भएको थियो । सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट यसवर्ष १० टन फोहोर र पाँचवटा शव संकलन गर्ने सो अभियानको लक्ष्य थियो ।