प्रदेशबाट प्रेस पास लिने पत्रकारले सुचना विभागबाट सेवासुविधा नपाउने

दियो पोस्ट  

काठमाडौ १९ साउन । नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवद्र्धन समितिले श्रमजीवी पत्रकारलाई वृद्धि भएको पारिश्रमिक र ऐन अनुरुप सेवासुविधा दिलाउन कडाईपुर्वक लाग्न ध्यानाकर्षण गराएको छ । समितिका संयोजक एवं पत्रकार महासंघका सचिव रामप्रसमद दाहालको नेतृत्वमा आइतबार गएको टोलीसँग छलफल गर्दै महानिर्देशक कृष्ण मुराली न्यौपानेले प्रदेशबाट प्रेस पास लिनेहरुले सुचना विभागबाट प्राप्त सुविधाहरु नपाइने बताए । अर्को नयाँ व्यवस्था नहुञ्जेलसम्म प्रदेशबाट पास लिनेहरुले त्यो सुविधा दिन मिल्दैन, मन्त्रालयस्तरबाट कुनै निर्णय भयो भने मात्र दिन सकिन्छ, उहाँले भन्नुभयो ।

महासंघ अन्तर्गतको सो समितिले बुझाएको ध्यानाकर्षण पत्रमा तोकिएको अवधिमा आ.व. २०७६÷०७७ को दरबन्दी र श्रमजीवी विवरण नबुझाउने सञ्चार गृहहरुको नाम सार्वजनिक गर्न र, नबुझाएका सञ्चार गृहलाई कानुनी रुपमा विवरण बुझाउन बाध्य पार्न माग गरिएको छ ।

विगतमा झैं, सूचना जारी गर्ने र विवरण नबुझेमा प्रेसपास मात्र रोकेर बस्ने विभागले नदोहोर्याई विभागीय अधिकार प्रयोग गरि कडा कदम चाल्न महासंघको जोडदार माग छ, पत्रमा भनिएको छ । छलफलमा संयोजक दाहाल, सह(संयोजक जन्मदेव जैसी, सदस्यहरु टेकराज थामी, उपत्यका प्रदेश अध्यक्ष एनके दाहालले सरकार, विभाग र महासंघ मिलेर श्रमजीवीको हितमा काम गर्ने अवसर आएको भन्दै ऐन नमान्ने सञ्चारगृहलाई सार्वजनिक रुपमा जनतालाई चिनाउनुपर्ने बताए । विवरण र पेरोल नबुझाउने गृहको नामावली विभागले आफ्नो वेभसाईटबाट सार्वजनिक गर्नुपर्ने उनीहरुको माग थियो ।