काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को देवचुली नगरपालिका-१६ मा ७५ वर्षीया वृद्धाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको गलकोट गाउँपालिका–९ बासकोट घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधारामा बस्दै आएका ३१ वर्षिय संजय बिक रहेका छन् ।
उनलाई २०८३ वैशाख १६ गते काठमाडौंको सुकेधाराबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार गत पुस २३ गते बिहान करिब ५ बजे ७५ वर्षीया निवरासमाया घले र उनकी ५७ वर्षीया बुहारी गुलाबसिनिया घले आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिबाट आक्रमणमा परेका थिए।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते बनेका दुवैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको थियो। उपचारकै क्रममा निवरासमाया घलेको सोही दिन बिहान ८ः३२ बजे मृत्यु भएको थियो भने घाइते गुलाबसिनिया घलेको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को नेतृत्वमा विशेष टोली खटाई अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा संलग्न रहेको आशंकामा ३२ वर्षीय संजय विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउका क्रममा प्रहरीले अभियुक्तबाट नगद ३ लाख ७५ हजार रुपैयाँ, तीन थान मोबाइल सेट, चार थान एनटिसी सिम कार्ड र चार थान एनसेल सिम कार्ड बरामद गरेको जनाएको छ।
प्रहरी अनुसन्धानले अभियुक्तको आपराधिक पृष्ठभूमि समेत उजागर गरेको छ। उनीविरुद्ध २०७२ साल असार महिनामा कास्की जिल्लामा चोरी मुद्दा दर्ता भएको थियो। साथै २०८० मंसिर ५ गते एक महिलाको हत्या गरी लुटपाट गरेको घटनामा कास्कीको बैदाम प्रहरी कार्यालयमा ज्यान सम्बन्धी कसुर तथा डाँका मुद्दा दर्ता भई अनुसन्धान पश्चात २०८१ साउन २९ गतेदेखि कास्की कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थिए।
तर २०८२ भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार अवस्थामै उनले नवलपरासीको उक्त हत्या घटना गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
हाल पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।