डिलाइट बचत तथा ऋण सहकारीको १७ औँ वार्षिकोत्सवको अवसरमा बृहद् रक्तदान कार्यक्रम सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौं । डिलाइट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित बृहद् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कर सहयोगी श्रमिक संगठन नेपाल उपत्यका संयुक्त जिल्ला कमिटी, बोधिचित्त बहुउद्देश्यीय सहकारी लिमिटेड, नेपाल मोबाइल वितरक संघ, हिमाल अस्पताल रक्तसञ्चार सेवा तथा डिलाइट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त रक्तदान कार्यक्रममा कुल ६८ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका सर्वसाधारण, सहकारीकर्मी तथा श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

हाल विभिन्न अस्पतालहरूमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै सो अभाव पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

आयोजकहरूले यस्ता सामाजिक तथा मानवीय कार्यले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।