काठमाडौं । जेन-जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका सयौँ युवाहरु अझै जेलमा रहेको भन्दै उनीहरुका अभिभावकले सरकारसँग निश्पक्ष छानबिनको माग गरेका छन्। आफ्ना सन्तान किन र कुन आधारमा थुनामा छन् भन्नेबारे स्पष्ट जानकारी नपाएको गुनासो गर्दै अभिभावकहरुको एक समूह बुधबार दिउँसो सिंहदरबार पुगेको थियो।
गृह सचिवलाई भेटेर समस्या राख्ने उद्देश्यसहित पुगेका उनीहरुलाई सिंहदरबारको दक्षिण गेटमै प्रहरीले रोकेपछि झडपको अवस्था सिर्जना भएको थियो । प्रहरीले उनीहरुलाई गेटमै रोकेर बल प्रयोग गरेको थियो । त्यसपछि आक्रोशित अभिभावकहरुले गेटमै प्लेकार्डसहित नाराबाजी गरेका थिए। उनीहरुले ‘मरे सहिद, जिउँदो अपराधी’, ‘कोही गाडीमा, कोही जेलमा’, ‘अपराधी बनाउनु भन्दा गोली हान सरकार’ र ‘निश्पक्ष छानबिन नभई किन जेल चलान?’ जस्ता नारा लगाएका थिए।
प्रदर्शनमा सहभागी अभिभावकहरुले आफ्ना सन्तान विगत सात महिनादेखि केन्द्रीय कारागारमा रहेको बताएका छन्। उनीहरुका अनुसार अझैसम्म पक्राउ परेकाहरुको स्पष्ट विवरण, अभियोग र प्रमाण सार्वजनिक गरिएको छैन।
जेनजी अभियन्ता सरिस्मा थापाले पक्राउ परेका युवामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै सरकारले आवश्यक कागजातसमेत उपलब्ध नगराएको आरोप लगाइन्। ‘देशभर कति जना थुनिएका छन्, कुन अभियोगमा थुनिएका छन् भन्ने स्पष्ट हुनुपर्छ। दोषी भए कारबाही होस्, निर्दोष भए तत्काल रिहा गरियोस्,’ उनले भनिन्। उनले निर्दोष व्यक्तिहरु सात महिनासम्म जेलमा बस्नुपरेको खण्डमा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत उठाइन्।
घाइते युवा मिलन खत्रीकी आमाले आफ्नो छोरा निर्दोष रहेको दाबी गरिन् । “मेरो छोरालाई दुई वटा गोली लागेको छ । आन्दोलनको घाइते हुँदा हुँदै पनि उसलाई बिनाकारण जेलमा राखिएको छ । सरकारले हामीसंग धरौटी मागिरहेको छ। हामीसँग औषधी किन्न पैसा छैन, धरौटी कसरी तिर्ने?” उनले भनिन्। उनले जीविकोपार्जनका लागि सडकमा मकै पोल्दै आएको र छोरालाई बिना कारण जेलमा राखिएको गुनासो गरिन्।
अर्का एक पीडितले आन्दोलनका क्रममा हिंसात्मक गतिविधि गर्ने वास्तविक दोषीलाई पहिचान गरी कारबाही गर्नुपर्ने बताए। ‘भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कारबाही होस्, तर निर्दोषलाई थुन्न पाइँदैन,’ उनले भने।
त्यस्तै, अर्की एक महिलाले आफ्ना छोरामाथि झुटा हत्या अभियोग लगाएर थुनामा राखिएको आरोप लगाइन्। ‘मेरो छोराले मान्छे मारेको प्रमाण देखाउनुपर्छ, होइन भने उसलाई बिना कारण जेलमा राख्न पाइँदैन,’ उनले भनिन्।
प्रदर्शनकारी अभिभावकहरुले सरकारले छिटो र पारदर्शी छानबिन प्रक्रिया अघि बढाई दोषीलाई कारबाही र निर्दोषलाई रिहा गर्नुपर्ने माग गरेका छन्।
