काठमाडौँ, साउन २५ । हत्या गरेको आरोपमा महानगरीय अपराध महाशाखाले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१९ इनाटोलका नाम थर नखुलेका जङ्गे भन्ने पुरुष व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा उदयपुरको कटारी घर भई काठमाडौँको इनाटोल बस्ने २४ वर्षीय विनोद खड्का पक्राउ परेको महाशाखाले जनाएको छ । मृतक र खड्का सँगसँगै बस्दै आएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरू बिहीबार राति सँगै रहेकाबेला भएको आपसी विवादले घटना घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । खड्काले ईँट्टा तथा ढुङ्गाले प्रहार गरी उनको हत्या गरेको खुल्न आएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।
यसैबीच उपत्यकाभित्र भएका चोरी अपराधमा संलग्न मानिसहरूको खोजतलास गर्ने क्रममा भँैसेपाटी बस्ने शिवराम आले मगरको स्कुटरको डिक्कीमा रहेको दुई लाख नगद चोरी गरेको आरोपमा एकजना पक्राउ परेको थापाले जानकारी दिए । पक्राउ पर्नेमा बाँके घर भई हाल भैँसेपाटी बस्ने मोहन खत्री रहेका छन् ।
चोरी गरेको रकममध्ये रु ८९ हजारसहित उनलाई आज पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।