कम उमेरमै विवाह गर्ने क्रम रोकिएन

दियो पोस्ट  

काठमाडौँ, भदौ १५ । बर्दिवासमा बसोबास गर्दै आएको राम्रो परिवारबाट माग्न आएपछि सिन्धुलीका होमनाथ पोखरेलले परिवारको सल्लाह र छोरीसँगको परामर्शमा गएको फागुनमा छोरीको विवाह गर्ने पक्का गर्नुभयो ।

विवाहको मिति तोकियो र आफन्तलाई निम्ता पनि गरियो । 

सबै तयारी पूरा भयो र विवाहको दिन आउन एक साता मात्रै बाँकी थियो । ‘एक कान, दुई कान, मैदान’ भनेझैँ छोरीको विवाहले चर्चा पायो र हुने बेहुलीको उमेर २० वर्ष पुग्न दुई महिना बाँकी रहेको कुरा बाहिर आयो । 

वडाध्यक्षदेखि गाउँपालिका प्रमुख र प्रहरीले पनि उमेर नपुगी विवाह नगर्न दबाब दिएपछि पोखरेल बेचैन हुनुभयो ।

जेठको पहिलो साता उमेर पुग्ने भएकाले विवाह सार्ने प्रस्ताव उहाँले केटा पक्षसँग राख्नुभयो तर नमानेपछि भगाएर फत्तेपुरमा लगेर आफन्तकहाँबाट छोरीको विवाह गरिदिनुभयो । विवाहमा धेरै आफन्त पनि आएनन् । 

यस्तै नुवाकोट घर भई काठमाडौँको एउटा विद्यालयमा कक्षा १२ मा पढ्दै गरेका १८ वर्षका तामाङ थरका किशोर र नुवाकोटमै बस्दै आएकी १७ वर्षकी किशोरीबीच मायाप्रेम बढ्दै गयो ।

तामाङले किशोरीलाई भगाएर काठमाडाँैं ल्याए । दुवै पक्षका अभिभावकका बीच कुरा भयो तर उमेर नपुगेका कारण विवाह पनि हुन सकेन । 

यी त प्रतिनिधि घटना मात्रै हुन् । नेपालको ७७ जिल्ला र ७५३ वटै स्थानीय तहमा यस्ता उमेर नपुगी भागेर विवाह गर्ने र कानुनलाई चुनौती दिने कार्य अझै पनि कायमै छन् ।

गत वर्ष जारी भएको मुलुकी देवानी संहिताले विवाहका लागि केटा र केटीको उमेर २० वर्ष भएको हुनुपर्ने व्यवस्था ग¥यो । 

‘बिहेबारी बीस वर्ष पारि’ भन्ने नारा नै भए पनि लुकेर अवैधानिक विवाह गर्ने प्रचलन हाम्रो समाजमा अझै कायमै छ ।

कतिपय परिवारले अन्जानमै विवाह गराउँदै आएका छन् भने कतिले कानुनलाई चुनौती दिँदै कम उमेरमै आफ्ना सन्तानको विवाह गरेको पाइन्छ । गोरखापत्र दैनिकबाट