श्री लालीगुराँस सहकारीको ‘मिटरब्याज धन्दा’मा कसरी फसे गायक रामकृष्ण ढकाल ?

दियो पोस्ट  

गायक रामकृष्ण ढकाललाई ‘लालीगुराँस’ शब्ददेखि विरक्त लागेर आउँछ।

लालीगुराँस शब्द जोडिएको गीत गाउन ‘अफर’ आउँदा रुचि जाग्दैन, अरूलाई नै सिफारिस गर्छन् । यसको कारण हो, श्री लालीगुराँस नामधारी सहकारी संस्थाबाट ऋण लिएपछि पाएको हैरानी।

ऋणका कारण उनको घरजग्गा मात्र लिलाम भएको छैन, सहकारीले आफ्नो बदनाम गर्न खोजेको उनको बुझाइ छ। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

पछिल्लो समय रामकृष्ण र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबीच आरोप प्रत्यारोप चलिरहेको छ । यो विवादको चुरो सुरु हुन्छ, एक दशकअघि।

गायक रामकृष्ण ढकाल लाजिम्पाटस्थित र्‍याडिसन होटल पछाडिपट्टि बस्थे । उनलाई बंगलो खालको घर लिने रहर भयो । अनि ललितपुरको हात्तीगौंडास्थित कोलोनीमा सरे । एक त अलि टाढा, त्यसमाथि अलि ठूलो घर । डेढ–दुई वर्षमै उनको रहर पुग्यो।

कोलोनीको घर भाडामा दिएर हामी कतै भाडामा बस्ने परिवारमा सल्लाह भयो । घरबाट महिनाको करिब ५०–६० हजार रुपैयाँ भाडा आउने अनुमान थियो । कतै फ्ल्याट लिएर बस्दा आधा रकम पर्याप्त हुने अनि करिब आधा रकम जोगिने उनको हिसाब थियो।

रामकृष्ण घरको रेखदेखका लागि त्यहाँ नजिकै बस्न चाहन्थे । तर आफन्त र नातेदार नजिक हुने भएकाले भैंसेपाटीतिर फ्ल्याट खोज्न थाले।

ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका एक जना सञ्चालकसँग रामकृष्णको चिनजान थियो।

सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले उनलाई ‘ज्वाइँ साप’ भनी नाता लगाउने गर्थे । सुरेन्द्रले उनको निवासमा आएर ‘भैंसेपाटीमा घर छ, यो हाम्रो हो’ भनेर भाडामा बस्न अफर गरे । रामकृष्णको परिवार करिब ६ महिना त्यही घरमा भाडामा बस्यो।

एक दिन सुरेन्द्र घर मिलाइदिने प्रस्ताव लिएर रामकृष्णकहाँ पुगे । उनी रेकर्डिङका लागि बारम्बार मुम्बई जाने आउने गरिरहेका थिए । श्रीमती नीलमले गएर घर हेरिन् । उनलाई ठीकै लागेछ।

लालीगुराँसकै भण्डारीले लोन मिलाइदिने भए । ९ आनामा बनेको साढे दुई तले घर लालीगुराँसको १ करोड ८० लाख रुपैयाँ लोनसहित २०६६ फागुन ४ गते नीलमका नाममा पास भयो।

गायक ढकालले सुनाए, ‘मसँग करिब २५–३० लाख रुपैयाँ थियो । हामी मिलाइदिन्छौं भनेर उहाँ (भण्डारी) ले भन्नुभयो । मैले १ करोड ८० लाख रुपैयाँ त्यहाँबाट लिएँ । घरको मूल्य करिब २ करोड २५ लाख रुपैयाँ थियो । पास, मर्मत सम्भारमा अलिअलि खर्च भयो।’

घर लिएपछि रामकृष्णले ऋण तिर्न थाले । करिब १७ प्रतिशत ब्याज र अन्य खर्च गर्दा मासिक करिब ३ लाख रुपैयाँ बुझाउनुपर्ने भयो। रामकृष्णलाई ऋण तिर्न हम्मे पर्न थाल्यो । ऋण र त्यसको ब्याज नतिर्दासम्म घरजग्गा फुकुवा हुँदैनथ्यो।

जिल्ला अदालतको अभिलेखमा २०६८ वैशाख २९ गतेसम्म उनले ३० लाख २४ हजार बुझाएको देखिन्छ । रामकृष्ण भन्छन्, ‘दुई वर्षमा मैले ब्याजसमेत गरेर करिब ४८ लाख रुपैयाँ तिरेको छु।’

उनले कुनै ग्राहक खोजेर घरजग्गा बेच्ने र सहकारीमा तिर्ने अनि बाँकी ऋण बैंकमा सार्ने योजना बनाए । सहकारीको १७ प्रतिशतको तुलनामा बैंकको ब्याज सस्तो हुन्थ्यो । उनकै भनाइमा जरिवाना अनि ब्याजको स्याज तिर्दा ३६ प्रतिशत हुन लागेको थियो।

रामकृष्णका अनुसार यसबीचमा सहकारीका सञ्चालक र कार्यकारी निर्देशक भण्डारीको व्यवहार फरक हुन थाल्यो । भण्डारीले पछि फोन नउठाउने, भेट्न नखोज्ने गर्न थाले । गायक रामकृष्णले भने आफू अप्ठेरोमा परेको भन्दै समाधानका लागि हारगुहार गरिरहे।

‘यो बेचेर तपाईंहरूको ऋण तिर्छु, मलाई अवसर दिनुहोस् भन्न थालें,’ उनले सुनाए, ‘उहाँले सीसीटीभीबाट हेरेर मलाई देख्नेबित्तिकै वास्तै नगर्ने अनि काउन्टरमा जानु भन्न थाल्नुभयो । एकदमै हीनताबोध भयो।’

रामकृष्णका अनुसार त्यसपछि एक समय त उनको दिनचर्या बिहान उठ्यो कि घर किन्ने ग्राहक खोज्ने हुन थाल्यो । बाटो अलि अप्ठेरो भएकाले घर बिक्न गाह्रो भइरहेको थियो । घरजग्गाको कारोबारमा पनि मन्दी आएको थियो।

यसबीचमा उनले १ करोड ८० लाख रुपैयाँमा घर किन्ने मान्छे भेटे । १० लाख नगद र २५ लाखको चेकसहित उनी पुल्चोकस्थित सहकारीको कार्यालयमा हान्निए । उनले ४८ लाख रुपैयाँ तिर्दा पनि कुल ऋण २ करोड २५ लाख रुपैयाँ हाराहारी पुगिसकेको थियो।

उनले ‘केही ब्याज मिनाहा गरेर दुई करोड रुपैयाँ जतिमा सेटल गरिदिनुहोस्’ भनेर आग्रह गरे । ‘तर सहयोग पाइएन,’ उनले भने । यसपछि थप कुरा बिग्रिँदै गयो । सहकारीका सञ्चालकहरू आफैं घर जाने, कर्मचारी पठाएर दुःख दिने, अनेक कुरा सुनाएर ढकाल परिवारलाई मानसिक दबाब दिन थाल्यो।

रामकृष्ण विभिन्न सांगीतिक कार्यक्रमका दौरान बाहिर गइरहनुपर्थ्यो । एक दिन उनीहरूले रामकृष्णलाई ‘हिसाब मिलाउन आउनुपर्‍यो’ भनी फोन गरे। उनी सहकारीको कार्यालयमा पुग्दा सञ्चालकहरूको निर्देशनमा कर्मचारीहरूले एउटा कागज तयार पारेका थिए।

धितो रहेको सम्पत्ति रामकृष्णकी पत्नी नीलमका नाममा भएकाले रामकृष्णको कुनै ऋण थिएन । उनलाई भनियो, ‘अब यहाँ राष्ट्र बैंकको अनुगमन आउँछ । त्यसैले ऋणको केही रकम सेटल गरिदिनुपर्छ । तपाईंले यहाँ हस्ताक्षर गरे पुग्छ।’

२०६९ वैशाख २७ गते तीन महिनामा कर्जा तिर्ने गरी रामकृष्णले ५६ लाख ९७ हजार रुपैयाँ ऋण लिएको जिल्ला अदालतको मिसिलमा उल्लेख छ।

त्यति बेला ऋणमा ब्याज खप्टिएर करिब २ करोड ३७ लाख पुगिसकेको थियो । सहकारीका सञ्चालकहरूले १ करोड ८० लाख ऋणबाहेक चानचुन ५७ लाख रुपैयाँ ब्याज बाँकी भएकाले गायक रामकृष्णलाई नै त्यही सहकारीबाट लोन निकाल्न लगाएर पत्नीको नामको ऋणबाट तिर्नुपर्ने ब्याज तिराए । कर्मचारीहरूले नयाँ ऋण रामकृष्णका नाममा रहने बताए।

‘मैले सोचें, यो मेरा लागि अनुकूल होला । श्रीमतीको नाममा रहेको कुल ऋणमध्ये १ करोड ८० लाख पुरानो ऋण उसको नाममा राखेर बाँकी मेरोमा सार्ने होला भन्ने लाग्यो । मलाई त्यहाँबाट छुटकारा पाउनु थियो। घरमा आउने, कचकच गर्ने लगायतका कामले मलाई तनाव दिइसकेको थियो,’ रामकृष्णले भने ।

तर उनले थाहा नपाए पनि यो सोझो अर्थमा साँवाको ब्याजलाई फेरि स्याज लिने तरिका थियो । नीलमको नाममा रहेको ऋणको ब्याज रामकृष्णको थाप्लामाथि राखेर फेरि ‘साँवा’ बनाइएको थियो।

५७ लाख ऋणको कागज गर्दा रामकृष्णले त्यो पैसा छुन त के, देख्न पनि पाएनन् । खाताबाट खातामै गएर ऋणको भार बढाइएको थियो । ऋणको तमसुक मात्रै थपिएको थियो। रामकृष्ण भन्छन्, ‘सबै ऋण सेटल गर्न उहाँहरूको रुचि रहनेछ भन्ने पछि थाहा भयो । मसँग कुनै धितो लिइएको थिएन । उनीहरूले मलाई के हिसाबले ५७ लाख दिए? नियत नै त्यस्तै रहेछ।’