
काठमाडौँ । न्यायपरिषदको बैठकले सर्वोच्च अदालतमा चार न्यायाधीशको नाम सिफारिस गरेको छ । मंगलबार अपराह्नदेखि बसेको परिषद्को बैठकले चार न्यायाधीशको नाम सिफारिस गरेको हो ।
न्यायपरिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो ।
सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीशको पद रिक्त थियो । आगामी कात्तिक १६ गतेबाट न्यायाधीश विनोद शर्माको पनि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुने भएकाले उनको स्थानमा पनि न्यायाधीश सिफारिस हुने चर्चा थियो ।
तर परिषद्को उच्च अदालतका कार्यरत चार न्यायाधीशको नाम मात्रै सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो ।
सर्वोच्च अदालतको न्यायाधीशका लागि चर्चामा रहे पनि पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, न्यायाधीशहरू टेकनारायण कुँवर, राजेश्वर तिवारी लगायतको नाम पर्न सकेन ।