आन्तिरिक भ्रमण बर्षको नयाँ गन्तव्य टिष्टुङ बज्रवाराही

दियो पोस्ट  

सार ४, काठमाडौं ।सरकारले २०७३ लाई आन्तिरिक भ्रमण वष घोषणा गरेको छ । देशभित्र रहेका नयाँ पर्यटकीय गन्तव्यको खोजी र प्रर्वद्धनमा डोमेस्टिक पर्यटनले निकै महत्वपुर्ण भुमिका निर्वा गर्न सक्छ । त्यस्तै आन्तिरिक पर्यटककका लागि उपयुक्त गन्तव्य ठहरिन सक्छ मकवानपुरको टिष्टुङ बज्रवाराही ।
स्वस्थ्य  वातावरणको खानि यो ठाँउ शरहरको धुलो र धुवाँ बाट एकछिन छुटकारा दिलाउन सक्छ । लिच्छविकालीन अभिलेखहरूको भण्डार मानिने यो क्षेत्र पछिल्लो समय पर्यटकीय आकर्षणको गन्तव्य बन्न थालेको छ ।

यो ठाउँमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई मध्यनजर गर्दै अहिले केही सुविधा सम्पन्न रिसोर्टसमेत सञ्चालनमा आएका छन् । माछा मार्ने, साइक्लिङ, पदयात्रा, डुंगा सयर, मनोरम दृश्यावलोकन, जंगल सफारी, भेडाफार्म अवलोकन, सूर्याेदय तथा सूर्यास्त दृश्यावलोकन आदि टिष्टुङ बज्रवाराहीको विशेषता मानिन्छ । यो क्षेत्रमा उन्मत्तेश्वर महादेव, बज्रवाराही मन्दिर, ऋषेश्वर महादेवलगायतका मन्दिरहरू घुम्न सकिन्छ । यसका साथै ऐतिहासिक राजदरबार, कोटघर, गोपाली बस्ती, अंशुवर्माकालीन शिलालेखहरू अवलोकन गर्न सकिन्छ ।

टिष्टुङ बज्रवाराहीबाट चित्लाङ, कुलेखानी, मार्खु, दामन, पालुङ तथा सीमभन्ज्याङको पनि भ्रमण गर्न सकिन्छ । चित्लाङलाई मौलिक रहनसहनले युक्त पुरानो बस्ती मानिन्छ । बाख्राको चिज पनि यहीं बनाइन्छ । कुलेखानीमा डुंगामा यात्रा गर्नुका साथै माछाको परिकार चाख्न पाइन्छ ।

काठमाडौबाट करिब ६५ किलोमिटरको दूरीमा रहेको यो ठाउँ पुग्न तीनवटा बाटो प्रयोग गर्न सकिन्छ । त्रिभुवन राजपथ भएर थानकोट, नौबिसे, सातघुम्ती, टिष्टुङ हुँदै बज्रवाराही पुग्न सकिन्छ । यो बाटोबाट जाँदा मोटरबाइकमा बढीमा २ घण्टा तथा सार्वजनिक बसरमाइक्रोमा साढे तीन घण्टा लाग्छ ।

त्यस्तै चन्द्रागिरीको बाटो भएर पनि बज्रवाराही पुग्न सकिन्छ । थानकोटबाट चन्द्रागिरी पहाड छिचोलेर १८ किलोमिटरको यात्रापछि चित्लाङ पुग्न सकिन्छ । त्यहाँबाट करिब एक घण्टामा बज्रवाराही पुगिन्छ । त्यस्तै फर्पिङको बाटो भएर कुलेखानी, मार्खु हुँदै करिब तीन घण्टामा बज्रवाराही पुग्न सकिन्छ ।