काठमाडौं, १३ मंसिर । थापाथलीस्थित प्रसुति गृह अन्तर्गत रहेको सुरक्षित गर्भतन सेवामा निशुल्क सेवा पाइन्छ । यहाँ आउने अधिकांश महिलाहरु १३ वर्षदेखि ५३ वर्षसम्मका छन् ।
सेवाकी इन्चार्ज समेत रहेकी जयन्ती छन्त्यालका अनुसार गर्भपतन गराउनुभन्दा परिवार नियोजन राम्रो रहेको र यस प्रति महिला र पुरुष दुबै सचेत रहनु जरुरी छ । यस आर्थिक वर्षमा २० वर्ष मुनिका ८३ जना महिलाले गर्भपतन गराएका छन् । गर्भपतन ९८ प्रतिशत मात्र सेफ रहेको उनले बताइन् । २ प्रतिशत भने ज्यान जोखिममा पनि पर्ने सक्ने यस गर्भपतनले महिलाको स्वास्थ्यमा अनेकौ असरहरु समेत पर्न सक्ने उनको भनाई छ । यस अस्पतालमा गर्भपतनकै कारण एक महिलाको मृत्युसमेत भइसकेको छ ।
परिवार नियोजनको साधन महिला तथा पुरुष दुवैले प्रयोग गर्छन् । बजारमा पाइने छयाप्छयाप्ती ती साधनहरुबारे शिक्षित वर्ग समेत सचेत बनेका छैनन् । चेतनाकै कारण गर्भ बस्ने र गर्भ नचाहिएको खण्डमा गर्भपतन गराउनेको सङख्या पनि धेरै रहेका छन् ।
यस्तो अवस्थामा पुरुष नै बढी सचेत हुनुपर्ने विज्ञहरु बताउँछन् । त्यसो त महिलापनि सचेत हुनु अनिवार्य छ ।
परोपकार प्रसुती गृह अस्पतालमा ४२ वर्षीय सीता खनाल (नाम परिवर्तन) आफ्नो गर्भ पतन गराउन आइपुगिन् । धादिङकी सीताको गर्भ ८ हप्ता पुगिसकेको रहेछ । तर उनलाई आफ्नो महिनावारी उमेर पुगेकाले पो रोकिएको भन्ने हो कि पनि लाग्यो । शरीरमा परिवर्तन पनि आउन थालेपछि उनले स्वास्थ्य परीक्षण गराइन् । तर उनको गर्भ २ महिना पुगिसकेको रहेछ ।
३ सन्तानकी आमा सीताले अर्को बच्चा जन्माउन सक्ने अस्थामा थिएन । न त उनको चाहाना नै थियो । त्यसपछि उनी आफ्नो गर्भपतन गराउन परोपकार प्रसुती गृह पुगिन् ।
प्रसुती गृहको सुरक्षित गर्भपतन सेवा शाखाका स्वास्थ्यकर्मीले गर्भपतन गराउँदा आउन सक्ने समस्याहरु बताइदिए ।
यद्यपि अनिच्छामा गर्भ बसेको कारण उनी उक्त गर्भलाई पतन गराउन चाहन्थिन् र अन्ततः उनले आफ्नो गर्भ पतन गराएर घर फर्किइन् ।
केही समय अगाडि मात्रै काभ्रेकी १५ वर्षीय किशोरी निर्मला तामाङ (नाम परिवर्तन) पनि गर्भ पतन गराउनका लागि प्रसुती गृह अस्पतालमा आइपुगिन् । अविवाहित उनको गर्भ बसेको १० हप्ता भइसकेको थियो । केही समय त उनलाई आफू गर्भवती भएको बारे थाहा नै भएन । तर २ महिना बितिसक्दा पनि महिनावारी नभएपछि उनले टेष्ट किट प्रयोग गरेर गर्भ परीक्षण गराइन् । टेष्ट किटले उनको गर्भ पोजिटिभ देखाइदियो ।
त्यसपछि उनी आफ्ना केटासाथीसँगै स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराइन् । त्यहाँपनि पोजिटिभ नै देखिएपछि उनी गर्भ पतन गराउनका लागि केटा साथीसंगै प्रसुती गृह अस्पतालमा आइपुगिन् । अस्पतालले गर्भ पतन गराउँदा आउन सक्ने स्वास्थ्य समस्या तथा खतराबारे जानकारी दिए । तर निर्मलालाई जसरी पनि आफ्नो गर्भ पतन गराएर ‘सुरक्षित’ हुनु थियो ।
अस्पतालका स्वास्थ्यकर्मीले उनको गर्भ पतन गराउँदै यौनसम्पर्कको उमेरदेखि परिवार नियोजनका अस्थायी साधनबारे जानकारी दिए ।
कम्तीमा १८ वर्ष नपुगी यौनसम्पर्क नगर्न र गरेपनि परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न स्वास्थ्यकर्मीले सल्लाह दिए ।
कानुनी व्यवस्था के छ ?
प्रसुती गृहमा गर्भपतन गराउन आउने यी दुई पात्र देशको प्रतिनिधि पात्र हुन् । २०५९ सालमा गर्भपतनसम्बन्धी कानुन बनेपछि अहिले देशमा १२ हप्तासम्मको गर्भ महिलाले चाहेमा पतन गराउन सक्छन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार महिलाले चाहेमा सुरक्षित गर्भपतन गराउन सक्छन् । तर त्यसको लागि केही प्रावधान भने मानेकै हुनुपर्छ ।
यस ऐन अनुसार गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ सजिलै पतन गराउन सकिनेछ । यसका लागि महिला एक्लै सुरक्षित गर्भपतन सेवा दिने संस्थामा गएर गर्भ पतन गराउन सक्नेछिन् ।
सामान्यतः १२ हप्तासम्मको गर्भ गर्भवतीको इच्छाले पतन गराउन चाहेमा पतन गराउन सकिने कानुनी व्यवस्था छ ।
गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्ने वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ अथवा बच्चा विकलाङ्ग जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भएमा यो अवस्थामा २८ हप्तासम्मको गर्भ पतन गराउन सकिने छ ।
त्यसैगरी जबर्जस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएमा गर्भवती महिलाको मञ्जुरीले २८ हप्तासम्मको गर्भ पतन गराउन सकिने छ । तर त्यसका लागि कानुनी बाटो अपनाउनु पर्नेछ ।
त्यस्तै रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (जस्तै ः एचआईभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाले चाहेमा पनि २८ हप्तासम्मको गर्भ पतन गराउन सकिने छ ।
त्यसैगरी भ्रुणमा कमी कमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ पतन गराउन सकिने कानुनी व्यवस्था छ ।
सामान्य अवस्थामा १२ हप्तासम्मको गर्भ पतन गराउन जाँदा महिला एक्लै वा एकजना साथी लिएर स्वास्थ्य संस्थामा जान सक्छिन् । आफू विवाहित वा अविवाहित के हो भनेर स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मीलाई बताउनै पर्ने बाध्यता भने छैन । यद्यपि परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको प्रयोग लगायतका सर सल्लाह लिनका लागि भने आफू विवाहित वा अविवाहित के हो भनेर जानकारी दिँदा राम्रो हुने प्रसुती गृह अस्पतालकी ईन्चार्ज बताउँछिन् ।
१३ देखि ५३ वर्षका महिला आउँछन् गर्भपतन गराउन
प्रसुती गृह अस्पतालकी सुरक्षित गर्भपतन सेवाकी प्रमुख जयन्ती छन्त्यालका अनुसार यस अस्पतालमा १३ वर्षकी किशोरीदेखि ५३ वर्ष उमेरकी महिलासम्म गर्भपतनका लागि आउने गरेका छन् ।
यस आर्थिक वर्षको सुरुवात अर्थात् २०७५ को साउन १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्म प्रसुती गृह अस्पतालमा ९ सय ९६ जनाले गर्भपतन गराएका छन् । २०७५ साउनमा ९७ जनाले गर्भपतन गराएका छन् भने वैशाख महिनामा १ सय ३५ जनाले गर्भपतन गराएका छन् ।
अनिच्छा अस्थायी साधनको कि बच्चाको ?
प्रसुती गृह अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेहरु धेरैजसोले गल्तीवश गर्भ बसेको बताउने गरेका छन् ।
एउटा बच्चा जन्माइसकेका मध्ये अधिकांशले पहिलो बच्चाको उमेर अन्तर ५÷६ वर्ष भएपछि मात्रै अर्को सन्तान जन्माउन चाहन्छन् । गर्भपतन गराउन आउने धेरैजसो पहिलो सन्तान जन्मिएको १ देखि ३ वर्ष उमेर समूहका महिलाहरु हुने गरेको प्रसुती गृह सुरक्षित गर्भपतन सेवा शाखाकी प्रमुख बताउँछिन् ।
उनका अनुसार यो समयमा सन्तानले आमाको दुध खाइरहने भएकाले परिवार नियोजनका अस्थायी साधनहरु (पिल्स, डिपो प्रोभेरा, कपर टी आदि लगायतका साधन प्रयोग गर्न नमिल्ने हुन्छ । त्यस कारण यस समयमा गर्भ बसेको खण्डमा उनीहरु गर्भपतन गराउन चाहन्छन् ।
यस्तो अवस्थामा श्रीमान्ले कण्डम प्रयोग गर्नु सबैभन्दा सुरक्षित हुन्छ । तर अधिकांश श्रीमान् कण्डम प्रयोग गर्न अनिच्छा देखाउने कारणले पनि यस्तो अवस्थामा धेरै गर्भ बस्ने गरेको डाक्टर बताउँछन् ।
पहिलो गर्भपतन विवाह अगाडि नै
नेपालको नयाँ कानुनअनुसार विवाहाका लागि महिलाको उमेर कम्तीमा २० वर्ष पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था छ ।
मुलुकी देवानी संहिता, २०७४ को भाग ३, (पारिवारिक कानुन)को दफा ७० को उपदफा १ ‘घ’ मा विवाह हुन सक्ने उमेरबारे उल्लेख गरिएको छ । यसमा २० वर्ष उमेर पूरा भएमा विवाह गर्न सकिने लेखिएको छ ।
तर प्रसुती गृह अस्पतालमा यस आर्थिक वर्षमा गरिएको गर्भपतनको तथ्याङ्क हेर्दा करिब २५ प्रतिशत किशोरीहरु रहेका छन् । यस आर्थिक वर्षमा ९ सय ९६ जनाले गर्भपतन गराएकामा ८३ जना २० वर्षभन्दा कम उमेरका रहेका छन् । देशको कानुनअनुसार २० वर्षभन्दा कम उमेरका किशोरीहरुलाई अविवाहित भन्न सकिने भएकाले उनीहरुलाई अविवाहित भन्न सकिने एक चिकित्सकको भनाई छ ।
अस्थायी साधनपति अरुची
अहिले गर्भपतनको सङ्ख्या र ट्रेण्ड बढ्नुको प्रमुख कारण भनेको परिवार नियोजनका अस्थायी साधनप्रतिको अरुची र अस्थायी साधनको उपलब्धता प्रमुख कारण रहेको बताउँछन्,– प्रसुती गृह अस्पतालका निर्देशक प्राध्यापक डाक्टर जागेश्वर गौतम ।
गौतमका अनुसार मुख्यत पुरुष पार्टनरले कण्डम लगाउन नमान्ने तथा सबै स्थानमा उपलब्धता नहुने र महिलाले परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न कठिन हुने भएकाले पनि गर्भपतनको सङ्ख्या बढिरहेको उनको तर्फ छ ।
निर्देशक गौतमका अनुसार अहिले पनि गर्भपतनको सङ्ख्यामा वृद्धि भइरहेको छ । तर जुन मात्रामा परिवार नियोजनको साधनको प्रयोग हुनुपर्ने थियो, त्यो मात्रामा नभएको गौतमको भनाई छ ।
आकस्मिक गर्भनिरोधक औषधी अस्थायी साधन होइन
पछिल्लो समय आकस्मिक गर्भनिरोध चक्कीको प्रयोग धेरै बढेको छ । पहिले असुरक्षित यौनसम्पर्क गर्ने र पछि गर्भनिरोधक चक्की खानेहरुको सङ्ख्या बढिरहेको छ ।
तर प्रसुती गृहका निर्देशक गौतम भने यो खतराको संकेत रहेको बताउँछन् । आकस्मिक गर्भ निरोधक चक्की परिवार नियोजनका अस्थायी साधन नभएर आकस्मिक रुपमा यौनसम्पर्क भएमा गर्भ रहन नदिने हर्मोन मात्रै भएको उनी बताउँछन् ।
महिनामा एकपटकसम्म यस्तो औषधीको प्रयोग गर्न सकिने भएपनि यसको बढी प्रयोग भएमा यसले गम्भीर स्वास्थ्य समस्या ल्याउने र भविष्यमा गर्भ नै नरहने समस्यासमेत हुन सक्ने गौतमको भनाई छ ।