पोखराका मेयर धनराज आचार्यद्वारा फोहोर व्यवस्थापनमा समेत ७ करोड ‘भ्रष्टाचार’, अख्तियारमा उजुरी 

दियोपोस्ट संवाददाता  

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फोहोर व्यवस्थापनमा समेत आर्थिक अनियमितता गरेको भेटिएको छ । महालेखा परिक्षकको पछिल्लो आर्थिक वर्षको प्रतिवेदन अनुसार मेयर आचार्यले फोहोर संकलन गर्ने कम्पनिको नाममा करिब ७ करोड रुपैयाँ हिनामिना गरि राज्यलाई हानी नोक्सानी पुर्याएको पाइएको हो ।

मेयर आचार्यसहितका अधिकारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । महालेखा परिक्षकको कार्यालयले गरेको वार्षिक परिक्षण रिपोर्ट अनुसार फोहर मैला व्यवस्थापन ऐन, २०६८ को दफा १२ अनुसार फोहल मैलाको व्यवस्थापनको लागि आवश्यक पर्ने पूर्वाधार एवं संरचना निर्माण तथा संचालन गर्ने, फोहोर मैलाको व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मा स्थानिय तहको हुने उल्लेख छ ।
सोही ऐनको दफा १३ अनुसार स्थानीय तहको स्वीकृति नलिई कसैले पनि फोहरमैला सम्बन्धी काम गर्न नपाउने र दफा १४ मा अनुमति प्राप्त नीजि क्षेत्रको कम्पनि तथा सामुदायीक क्षेत्रबाट दफा १५ अनुसार बोलपत्र आह्वान गरी प्रतिष्पर्धा गराई फोहरमैलाको व्यवस्थापन गराउनुपर्ने उल्लेख छ । तर, पोखरा महानगरपालिकामा भने विगत देखि नै ६ वटा कम्पनिले मनोमानी रुपमा बिना प्रतिस्पर्धा सम्झौता गरी पटक पटक म्याद थप गर्दै कार्य गर्दै आएका छन् ।

२०७९ जेठमा पोखरा महानगरको मेयरमा निर्वाचित भएका धनराज आचार्यले श्रावण २४ को नगरकार्यापालिकाको विशेष नगरशभाबाट गैरकानुनी रुपमा तीनै ६ वटा कम्पनिलाई फोहोरमैला ऐन, २०६८ को दफा १५ विपरित रकम संकलन गर्ने जिम्मा दिएका थिए । नगरसभाको निर्णयमा हस्ताक्षर गरेको पत्रसहित अख्तियारमा उजुरी परेको हो ।

प्रगती संसार नेपाल प्रा।ली नामक कम्पनिले आर्थिक वर्ष २०७८।७९ मा २ करोड ९ लाख ४३ हजार ६ सय ८ रुपैयाँ बुझाउने गरि सम्झौता गरेको थियो । तर मेयर आचार्यले भने सोही कम्पनिलाई ५ सय प्रतिशत घटिमा अर्थात आर्थिक वर्ष २०७९।८० मा ४१ लख ८८ हजार ७ सय ७२ रुपैयाँमा सम्झौता गरेका थिए । यो सम्झौताबाट मेयर आचार्यलाई राम्रै आर्थिक लाभ भएको स्रोतले बताएको छ ।

त्यस्तै पोखरा फोहोरमैला व्यवस्थापन प्रा।लीले आर्थिक वर्ष २०७८।७९ मा १ करोड १७ लाख ६९ लाख ३ सय ३६ रुपैयाँ बुझाउने गरि सम्झौता गरेको थियो । तर, मेयर आचार्यले सोही कम्पनिलाई आफ्नो कार्यकालमा आर्थिक वर्ष २०७९।८० मा ५ सय प्रतिशत घटिमा अर्थात २३ लाख ५३ हजार ८ सय ६७ रुपैयाँमा सझौता गरिदिएका थिए ।

नेपाल पब्लिक हेल्थ एण्ड ईन्भाइरोनमेन्ट फर डिभलपमेन्ट प्रा।ली लाई आर्थिक वर्ष २०७८।७९ मा १ करोड ३० लाख २ हजार ७१ रुपैयाँ बुझाउने गरि सम्झौता गरिएको थियो । तर, मेयर आचार्यले आर्थिक वर्ष २०७९।८० मा १ सय प्रतिशत घटाएर १३ लाख २ सय ७ रुपैयाँमा सम्झौता गरिदिए ।

भद्रकाली वेष्ट म्यानेजमेन्ट प्रा।लीसँग आर्थिक वर्ष २०७८।७९ मा २ करोड २० लाख १३ हजार ९ सय ५५ रुपैयाँ बुझाउने गरि सम्झौता भएको थियो तर, मेयर आचार्यले आफ्नो कार्यकालमा ५ सय प्रतिशत घटाएर ४४ लाख २ हजार ७ सय ९१ रुपैयाँ मात्रै बुझाउने गरि सम्झौता गरिदिए ।

वातावरणीय सुन्दर नेपाल संस्थासँग आर्थिक वर्ष २०७८।८९ मा ६१ लख ८६ हजार १७ रुपैयाँमा सम्झौता भएकोमा मेयर आचार्यको कार्यकालमा ५ सय प्रतिशत घटिमा अर्थात १२ लाख ५७ हजार २ सय ३ मा सम्झौता गरियो ।
त्यस्तै वेष्ट म्यानेजमेन्ट रिसाइक्लिङ प्रा।लीसँग  आर्थिक वर्ष २०७८।७९ मा १ करोड १३ लाख ४८ हजार १ सय ५२ मा सम्झौता भएकोमा मेयर आचार्यले ५ सय प्रतिशत घटाएर २२ लाख ६९ हजार ६ सय ३१ रुपैयाँमा सम्झौता गरेका थिए । यी ६ वटै कम्पनिसँगको सम्झौतामा मेयर आचार्यको कार्यकालमा कुल ६ करोड ९५ लाख ९० हजार ५ सय १८ रुपैयाँ राजश्व नोक्सानी हुने गरि सम्झौता गरेको थियो ।

पोखरास्थित जेनजी फ्रन्टले मेयर आचार्य विरुद्ध उजुरी गरेको हो ।