रुकुमको सानीभेरी नदीमा दुई किशोरीको शव फेला, एकजना बेपत्ता

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-३ भाग्ले नजिक सानीभेरी नदीमा दुई किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मंगलबार बिहान नदीका दुई फरक स्थानमा ती शवहरू भेटिएका हुन्।

करिब पाँच सय मिटरको दूरीमा शव फेला परेका प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार मृतकहरू बाँफिकोट गाउँपालिका–३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओली रहेका छन् । उनीहरूको शव भेरी नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार सोमबार साँझ तीन किशोरी छिमेकी गाउँमा भइरहेको विवाह समारोहमा जान घरबाट निस्किएका थिए। विवाहबाट फर्किने क्रममा उनीहरू बेपत्ता भएका थिए। उनीहरूसँगै गएकी १३ वर्षीया सपना ओली भने अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

विवाहबाट फर्किने क्रममा नदीले बगाएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनास्थलमा प्रहरी निरीक्षक पुनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ भने अस्थायी प्रहरी पोस्ट छिनखेतबाट समेत प्रहरी परिचालन गरिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ।