प्रतिनिधि सभा सदस्य निर्वाचन भर्खरै सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष तर्फ १२५ सिट जितेर सबैभन्दा ठुलो संसदीय पार्टी बनेको छ । त्यसो त, २०६४ सालमा तत्कालिन नेकपा माओवादी हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सबैभन्दा ठुलो पार्टी बनेको थियो । तर यस निर्वाचन पछि नेकपा चौथो दलको रुपमा संसदमा उपस्थित हुँदैछ । अखिर किन निरन्तर ओरालो यात्रा तर्फ छ नेकपा ? के नेकपाले जनताको मान जित्न नसकेर हो? या कारण अरु नै छन्? यस चुनावको समिक्षा गुर्न जरुरी छ ।
आत्मसमीक्षाको आवश्यकताः
राजनीति केवल सत्ता प्राप्तिको साधन मात्र होइन, जनताको विश्वास र आशाको प्रतिनिधित्व पनि हो भन्ने कुरा राजनीतिक नेकपाले बुझ्न सकेन । निर्वाचन परिणाम किन हुन सकेन? पार्टीभित्र गम्भीर आत्मसमीक्षा हुनु पर्छ । चुनाव जित–हारको विषय मात्र होइन, जनताको विश्वासको मापन पनि हो। त्यसैले प्राप्त परिणामलाई भावनात्मक रूपमा होइन, यथार्थपरक विश्लेषणका साथ हेर्दै कमजोरी सुधार्नु आजको प्रमुख आवश्यकता बनेको छ।
आन्तरिक कमजोरी र गुटबन्दी:
निर्वाचनमा अपेक्षित सफलता प्राप्त हुन नसक्नुका कारणहरू केवल बाह्य परिस्थितिमा मात्र सीमित छैनन्। पार्टीभित्र देखिएका आन्तरिक कमजोरी र बढ्दो गुटबन्दीले पनि ठूलो प्रभाव पारेको देखिन्छ। नेतृत्व र कार्यकर्ताबीच समन्वयको कमी, सीमित समूहको प्रभावमा निर्णय हुने प्रवृत्ति, तथा योग्य र सक्रिय कार्यकर्तालाई अवसर नदिने संस्कारले पार्टी र संगठनभित्र असन्तुष्टि बढाएको छ ।
निर्णय प्रक्रिया पारदर्शी र सहभागितामूलक नहुँदा कार्यकर्ताको मनोबल कमजोर हुनु स्वभाबिकै थियो । चुनावी अभियान पनि अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको विषयलाई पार्टीले बुझ्नु जरुरी छ । त्यसैले संगठनभित्र एकता, पारदर्शिता र अनुशासनलाई सुदृढ बनाउनु अत्यन्त आवश्यक छ।
जनतासँग कमजोर सम्बन्धः
पार्टीको वास्तविक ‘शक्ति’ भनेको जनता नै हुन्। तर कतिपय अवस्थामा नेताहरू नियमित रूपमा जनताको बीचमा नजाने, स्थानीय समस्या बुझ्न नसक्ने र जनताको भावना सुन्ने संस्कार कमजोर हुँदा पार्टीप्रति विश्वास घट्दै गएको पाइन्छ ।
रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र विकासजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा स्पष्ट कार्यक्रम र प्रभावकारी काम नदेखिँदा जनताले अन्य विकल्पतर्फ पनि हेर्ने अवस्था बनेको छ। त्यसैले आगामी दिनमा जनतासँग प्रत्यक्ष सम्बन्ध बलियो बनाउँदै उनीहरूको अपेक्षा र समस्यालाई प्राथमिकतामा राख्नु पर्दछ ।
कम्युनिष्ट एकता र त्यसका चुनौतीः
कम्युनिष्ट पार्टीबीचको एकता ऐतिहासिक र महत्वपूर्ण कदम थियो । जसले संगठनलाई अझ बलियो बनाउने आशा जनतामा जगाएको थियो। तर एकतापछि देखिएका केही आन्तरिक मतभेद, नेतृत्वबीचको असमझदारी र नीति स्पष्ट रूपमा जनतासम्म नपुग्दा कार्यकर्ता र जनतामा केही अन्योल देखियो।
तथापि, एकताको भावना, आपसी सम्मान र सहकार्यलाई मजबुत बनाउँदै विचार, नीति र कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउन सके पार्टीको छवि र विश्वास अझ सुदृढ बन्न सक्छ।
आन्दोलनका योद्धाप्रतिको जिम्मेवारीः
आन्दोलनको इतिहासमा जनयुद्धका घाइते, अपाङ्ग, शहीद परिवार तथा संघर्षमा महत्वपूर्ण भूमिका खेलेका कार्यकर्ताको योगदान अमूल्य छ। उनीहरूको त्याग, समर्पण र बलिदानकै कारण आजको राजनीतिक परिवर्तन सम्भव भएको हो। तर उनीहरूको अपेक्षा समयमै सम्बोधन हुन नसक्दा असन्तुष्टि बढेको देखिन्छ।
सम्मान, उपचार, पुनःस्थापना, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था सुनिश्चित गर्नु पार्टीको नैतिक र ऐतिहासिक दायित्व हो। यी वर्गहरू आन्दोलनको भावनात्मक आधार भएकाले उनीहरूको समस्या समाधानमा गम्भीर ध्यान दिनु अत्यन्त आवश्यक छ।
जनपक्षीय कार्यको प्रचार-प्रसार नहुनुः
यसबीच प्रचण्ड नेतृत्वको सरकारका समयमा सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक समृद्धि र सामाजिक न्यायका एजेन्डामा केही महत्वपूर्ण पहलहरू पनि भएका थिए। राष्ट्रिय स्वाभिमानको रक्षा, विकास निर्माणका योजनाहरूको विस्तार तथा जनतामुखी नीति निर्माणमा सकारात्मक प्रयास गरिएको थियो। यद्यपि ती उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रचार–प्रसार गर्न नसकेको देखिन्छ । तर ती पहलहरू परिवर्तनको सन्देश दिने महत्वपूर्ण प्रयासका रूपमा स्मरणीय छन्।
संगठन सुदृढीकरणको आवश्यकताः
पार्टीलाई दीर्घकालीन रूपमा बलियो बनाउन संगठनात्मक सुदृढीकरण अत्यन्त आवश्यक छ। वडा, गाउँ, नगर, जिल्ला र प्रदेश तहसम्म संगठनलाई सक्रिय बनाउँदै नियमित प्रशिक्षण, वैचारिक शिक्षा, नेतृत्व विकास र कार्यक्रम सञ्चालन गर्नुपर्दछ । पार्टी सदस्यहरूको सक्रिय सहभागिता र उत्तरदायित्व सुनिश्चित गर्नु आवश्यक छ। बलियो संगठन नै पार्टीको राजनीतिक आधार हो।
युवा र प्रविधिको उपयोगः
देशको भविष्य युवा पुस्तासँग जोडिएको छ। त्यसैले युवा, विद्यार्थी, बुद्धिजीवी र पेशागत वर्गलाई संगठनमा आकर्षित गर्ने स्पष्ट रणनीति आवश्यक छ। नयाँ सोच, नवीन बिचार, ऊर्जा र आधुनिक प्रविधिको प्रयोगले संगठनलाई अझ प्रभावकारी र समसामयिक बनाउन सक्छ। युवा सहभागिताले संगठनमा ताजगी र नवीन दृष्टिकोण ल्याउँछ।
आजको डिजिटल युगमा सूचना प्रविधि र सामाजिक सञ्जाल जनमत निर्माणको शक्तिशाली माध्यम बनेका छन्। पार्टीले आफ्ना नीति, उपलब्धि र कार्यक्रमलाई जनतासम्म छिटो र प्रभावकारी रूपमा पुर्याउन आधुनिक सञ्चार संयन्त्रको विकास गर्नुपर्छ। गलत सूचना र भ्रमको सामना गर्न तथ्यमा आधारित स्पष्ट सूचना प्रवाह आवश्यक छ।
प्रवासी नेपालीको भूमिकाः
प्रवासी नेपालीहरू देशको अर्थतन्त्र र समाजका महत्वपूर्ण आधार हुन्। विदेशमा बसेर पनि उनीहरूले देशप्रति गहिरो लगाव र योगदान दिइरहेका छन् । त्यसैले प्रवासी नेता–कार्यकर्तालाई सम्मान र जिम्मेवारी दिँदै उनीहरूको अनुभवलाई संगठनात्मक विकासमा प्रयोग गर्नुपर्छ। प्रवासी नेपालीका मुद्दालाई राष्ट्रिय एजेन्डासँग जोड्नु पनि आवश्यक छ।
आज देश राजनीतिक अस्थिरता, आर्थिक चुनौती, बेरोजगारी र सामाजिक असमानताको जटिल अवस्थाबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा पार्टीले स्पष्ट नीति, दूरदर्शी नेतृत्व र जनतामुखी कार्यक्रममार्फत राष्ट्रिय संकट समाधानमा अग्रणी भूमिका खेल्नुपर्छ। जनताको विश्वास पुनः प्राप्त गर्न व्यवहारिक र परिणाममुखी कार्य अपरिहार्य छ।
निष्कर्षः
हामीमध्ये धेरैले माओवादी आन्दोलनको भविष्यमा विश्वास राखेर आफ्नो जीवन, समय र रगतको मूल्य चुकाएका थियौं। त्यो बेला नेतृत्वको सुरक्षाका लागि तयार भयौं, दुश्मनको गोली भोग्न पनि तयार भयौं। तर आज कहिलेकाहीँ मनमा प्रश्न उठ्छ-त्यो साहस र बलिदान किन ती स्वार्थी र गद्दारहरूको विरुद्ध प्रयोग हुन सकेन, जसले आन्दोलन र आदर्शलाई धोका दिएरु इतिहासले देखाउँछ, सच्चा बलिदान कहिल्यै नष्ट हुँदैन, तर स्वार्थ र धोका कहिल्यै स्थायी सफलता पाउँदैन।
कठिन राष्ट्रिय परिस्थितिमा संगठनभित्र पनि अनेक चुनौतीहरू देखिन सक्छन्। संकटका बेला अवसरवादी मानिसहरू आउने-जाने क्रम स्वाभाविक हुन्छ। तर सिद्धान्त र निष्ठामा अडिग रहने इमानदार नेता र कार्यकर्ताबाट नै संगठनको वास्तविक शक्ति निर्माण हुन्छ। यही दृढता, एकता र अनुशासनबाट संगठन भविष्यमा अझ बलियो बन्न सक्छ।
आजको अन्तर्राष्ट्रिय परिवेश पनि तीव्र रूपमा परिवर्तन भइरहेको छ। यस्तो अवस्थामा नेपालले सन्तुलित, स्वाभिमानी र दूरदर्शी विदेश नीति अपनाउन आवश्यक छ। मित्रतापूर्ण र समान सम्बन्ध कायम राख्दै राष्ट्रिय हितलाई प्राथमिकता दिनु अत्यन्त महत्वपूर्ण हुन्छ।
विदेशमा रहेका भाईचारा संगठनहरू र प्रवासी नेपालीहरू पार्टीका लागि महत्वपूर्ण शक्ति हुन्। उनीहरूले विदेशमा बसेर पनि नेपालको अर्थतन्त्र, समाज र राजनीतिक चेतनामा ठूलो योगदान पुर्याइरहेका छन्। त्यसैले ती संगठनहरूलाई सुदृढ बनाउँदै वैचारिक, संगठनात्मक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा विकास गर्न सके पार्टीको प्रभाव अझ बलियो बन्न सक्छ।
अन्ततः, पार्टीको भविष्य एकता, अनुशासन, इमानदारी र जनतासँगको गहिरो सम्बन्धमा निर्भर गर्दछ। यदि सिद्धान्त र निष्ठामा अडिग रहँदै जनताको समस्या समाधान गर्ने मार्गमा अघि बढ्न सकियो भने पार्टीले पुनः जनताको विश्वास जित्न सक्छ।
एकता, समर्पण र जनसेवाको भावनाबाट अघि बढेमा आन्दोलन र संगठन भविष्यमा अझ मजबुत भएर उभिनेछ।
(लेखक नेपाली समाज भारतका महासचिव हुन् )