‘सानो पाइला’ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। अदालतले वीरगन्जस्थित ‘सानो पाइला’ बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा सुरु भएको मुद्दाको सुनुवाइका क्रममा मंगलबार १ करोड धरौटी माग गरेको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले थुनछेक बहसपछि उक्त धरौटी माग गरेको थियो ।

धरौटी नबुझाएको खण्डमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राखिने व्यहोरा पनि अदालतले स्पष्ट गरेको छ।

पर्सा जिल्लामा दर्ता भएको सहकारी ठगी तथा संगठित अपराध सम्बन्धि मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध अभियोग लागेको थियो ।