रमेश लेखकका कार्यकर्ताद्वारा दोधारा चाँदनीमा गगन थापाको पुत्ला दहन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पार्टीले उम्मेदवार नबनाएको विरोधमा उनका समर्थक तथा कार्यकर्ताले दोधारा चाँदनीमा पार्टी सभापति गगन थापाको पुत्ला दहन गरेका छन्। लेखकलाई टिकट नदिइएकोप्रति आक्रोश व्यक्त गर्दै कार्यकर्ताले सभापति थापाको पुत्ला जलाएका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले नेपाली कांग्रेसले रमेश लेखकजस्तो अनुभवी र जनप्रिय नेता फेरि कहिल्यै नपाउने दाबी गर्दै ‘अवैधानिक सभापति मान्दैनौँ’ लगायतका नारा लगाएका थिए । साथै, उनीहरूले रमेश लेखक र नेपाली कांग्रेसको पक्षमा नारासमेत लगाएका थिए।

कार्यकर्ताहरूले लेखकलाई उम्मेदवार नबनाउने पार्टीको निर्णय प्रतिशोधपूर्ण र अन्यायपूर्ण रहेको आरोप लगाएका छन्। उक्त निर्णय आफूहरूले कुनै हालतमा स्वीकार नगर्ने उनीहरूको भनाइ छ।

नेता लेखकलाई षड्यन्त्रपूर्वक निर्वाचनबाट बञ्चित गरिएको र यो निर्णय क्षेत्र नं. ३ का जनताको चाहनाविपरीत भएको उनीहरूको आरोप छ।

कार्यकर्ताहरूले पार्टी नेतृत्वले जनताको भावना र योगदानलाई बेवास्ता गरेको भन्दै सभापति थापाको चर्को विरोध गरेका थिए।

उनीहरूले पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया कमजोर बनाइएको र लोकप्रिय नेतामाथि अन्याय गरिएको दाबी गर्दै संघर्ष जारी राख्ने चेतावनीसमेत दिएका छन्।