पोखरा महानगरपालिकाले फोहोर फालेपछि विमानस्थलको हवाई सुरक्षामा खतरा, चिल र चराहरु उड्न थाले

दियोपोस्ट संवाददाता  

कास्की । फोहोरमैला व्यवस्थापनमा असक्षम बन्दै गएको पोखरा महानगरपालिकाले रातारात संवेदनशिल स्थानमा फोहोर फालेको पाइएको छ । पोखरा महानगरपालिका ९ स्थित पुरानो विमानस्थल नजिकै फोहोर फालिएको स्थानियले बताएका छन् ।

स्थानियका अनुसार शुक्रबार राती पुरानो विमानस्थलको नजिकै फोहोर फालिएको पाइएको हो । ‘पोखराको पुरानो विमानस्थल जहाँ अहिले मुस्ताङ, लुक्ला लगायतको स्थानमा साना जहाज उडान गरिन्छ । जहाँ अहिले हेलिकोप्टरलाई समेत राखिएको छ । सो सनमा तीन तलासम्म मात्रै घर बनाउन पाइन्छ । त्यही स्थानमा शुक्रबार रातीबाट फोहोर फालिएको छ,’ स्थानियबासीले दियोपोस्टसँग भने,‘महानगरपालिकाले फोहोर फालेका कारण अहिले काग, चील लगायतका चराहरु उड्न थालेका छन् । फोहोरकै कारण दुर्घटनाको जोखिम समेत बढेको छ ।’

केहि दिनअघि देखि महानगरपालिकाले ट्रक फोहोर उठाएर सेति नदिमा फालेको पाइएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित शान्ति वन बाटिका भित्र डोजर र स्क्याभेटर लगाएर फोहोर सेति नदिमा फालिएको भिडियो खिच्न पुगेका संचारकर्मी सन्देश बोहरा र अभियान्ता डिफान भूजेलमाथि अभद्र व्यवहार समेत भएको थियो ।

नगरप्रमुख धनराज आचार्यको निर्देशनमा संकलित फोहोर फेरी सेति नदिकै किनारमा रहेको विमान ल्याण्ड र उडान गर्ने स्थानमा फाल्न थालिएको हो ।
फोहोरमैला ऐन अनुसार फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको पोखरा महानगरले अस्थायी ल्याण्डफिलका रुपमा लामेआहालस्थित सेति नदिकै किनारमा वातावरणीय प्रभाव मुल्यांकन समेत नगरी फोहोर फाल्दै आएको थियो । तर, माटो पुर्नेदेखि माटो खरिदसम्म अनियमितता भएको भन्दै महालेखा परिक्षक कार्यालयले प्रतिवेदन सार्वजनिक गरेपछि मेयर धनराज आचार्य आलोचित भएका छन् । त्यस्तै वडा नम्बर ३३ स्थित झाँक्री खोलामा फोहोर प्रशोधन केन्द्र निर्माणको ठेक्कामा समेत किर्ते कागजात पेश गरी आफू निकट व्यक्तिलाई ठेक्का दिएको आरोप मेयर माथि लागेको छ । त्यस्तै स्थानियको जग्गा खरिदमा समेत अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

सिफारिस