रुपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द कारखोतीको उम्मेदवारी खारेज गर्दै पार्टीको साधारण सदस्यतासमेत रद्द गरेको छ।
पार्टीले जारी गरेको पत्रअनुसार गोविन्द कारखोतीले पार्टीको नीति, सिद्धान्त, विधान र आधिकारिक निर्णयहरूको गम्भीर उल्लङ्घन गरेको, पार्टी हितविपरीत गतिविधि गरेको र पार्टीको छवि तथा हितमा क्षति पुर्याएको आरोप लगाइएको छ।
पत्रमा उल्लेख भएअनुसार उम्मेदवार बनेपछि उनले पार्टीका विभिन्न नेताहरूसँग अनुचित आर्थिक माग गरेको तथा आफ्नी पत्नी जयन्ती कारखोती लाई अर्को राजनीतिक पार्टीबाट समानुपातिक उम्मेदवार बनाउने जस्ता गम्भीर र आपत्तिजनक गतिविधि गरेको प्रमाण प्राप्त भएको पार्टीको दाबी छ।
केन्द्रीय, प्रदेश तथा जिल्ला समितिमा भएको छलफलपछि आजको मितिदेखि लागू हुने गरी उनको उम्मेदवारी निष्क्रिय बनाइँदै पार्टी विधानअनुसार सम्पूर्ण जिम्मेवारी, अधिकार र गतिविधिबाट हटाई साधारण सदस्यतासमेत खारेज गरिएको जिल्ला समितिले जनाएको छ।
जिल्ला इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बजाडेको हस्ताक्षर रहेको उक्त पत्रमा यो निर्णय पार्टीको विधान, अनुशासन र हितको संरक्षणका लागि गरिएको अन्तिम निर्णय भएको स्पष्ट पारिएको छ।
