काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंको चाल्नाखेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई साइबर ब्यूरोमा दर्ता भएको उजुरी तथा निर्वाचन आयोगको पत्राचारका आधारमा नियन्त्रणमा लिइएको हो।
प्रसाईंलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसअघि पनि प्रसाई बिभिन्न मुद्धामा बारम्बार पक्राउ परेका थिए ।
प्राप्त विवरणअनुसार दुर्गा प्रसाईं पछिल्लो समय विभिन्न मुद्धामा पक्राउ पर्दै आएका छन्।
साउन १९ गते भारतबाट पक्राउ, २५ लाख धरौटीमा रिहा:
गत चैत्र १५ तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेको आरोपमा चैत २८ गते प्रसाइलाई भारतको आसामबाट पक्राउ गरिएको थियो । सो अभियोगमा ४ महिना कारागारमा रहि गत साउन १९ गते २५ लाख रुपैयाँ धरौटीमा उनी रिहा भएका थिए ।
मंसिर १ गते मध्यराती पूनः पक्राउ:
रिहा भएपछि पनि उनले हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिन छाडेनन् । प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र तथा हिंसा भड्किने खालका अराजक अभिब्यक्ति दिएको आरोपमा उनी मंसिर १ गते मध्यराती दोस्रो पटक पक्राउ परेका थिए । केही दिन हिरासतमा रही उनी हाजिरी जमानीमा पक्राउ परेका थिए ।
प्रसाईले निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग बागोनिङ गर्दै आएका थिए । उनले सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।
माघ ५ गते पूनः पक्राउ:
त्यसपछि उनले कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्दै सार्वजनिक अभिव्यक्ति समेत दिदै आएका थिए । यही अभिब्यक्तिका कारण प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचार गरेपछि माघ ५ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई पोखरा बिमानस्थलबाट पक्राउ गरेको थियो । त्यस समय उनी हाजिरी जमानीमा रिहा भएका थिए ।
एकै महिनामा दुई पटक पक्राउ:
अघिल्लो उजुरीकै निरन्तरता तथा थप अनुसन्धानका लागि भन्दै प्रहरीले शुक्रबार (माघ २३) प्रसाईलाई काठमाडौंको चाल्नाखेलबाट पुनः पक्राउ गरेको छ । यसअघि पनि सार्वजनिक अभिव्यक्ति र साइबर कसुरसँग सम्बन्धित मुद्दामा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।
प्रहरी तथा कानुनी स्रोतहरूका अनुसार दुर्गा प्रसाईंमाथि सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममार्फत फैलाइएका सामग्रीलाई लिएर विभिन्न उजुरी परेका छन्। ती उजुरीहरूमा निर्वाचनसम्बन्धी विषय, सार्वजनिक शान्ति र साइबर कसुरसँग सम्बन्धित आरोपहरू रहेको बताइन्छ।
प्रहरीले प्रसाईंमाथि लागेका उजुरी र आरोपबारे छुट्टाछुट्टै फाइलका आधारमा अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि मात्र मुद्दा दर्ता गर्ने वा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।