काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश सदर गरेको छ। यससँगै अधिकारीलाई धरौटीमा छाड्ने निवेदन अस्वीकार गरिएको छ।
सर्वोच्चमा न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतको निर्णयलाई मान्यता दिँदै थुनामा पठाउने आदेशलाई नै सदर गरेको हो। अधिकारीले विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दायर गरेका थिए।
विशेष अदालतले गत २१ मङ्सिरमा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। सो आदेश अनुसार अदालतले अधिकारीलाई धरौटीमा छाड्न पर्याप्त आधार नदेखिएको उल्लेख गरेको थियो।
यसैबीच सर्वोच्चले अधिकारीलाई धरौटीमा छाड्ने मागलाई अस्वीकार गरेसंगै अदालतको आदेश अनुसार अधिकारी थुनामा रहनेछन्।
हेलिपोर्ट निर्माण सम्बन्धी भ्रष्टाचार र करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको थियो।